नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै हालतमा नेतृत्व नछाड्ने सन्देश दिएका छन्।
जारी आठौं सचिवालय बैठकमा सदस्यहरूले राखेको धारणा सुन्दै ओलीले नेतृत्व नछाड्ने बरू सम्झाउन चाहिँ छाड्नुपर्ने धारणा राखेका हुन्।
‘किन सम्झाउँदै हुनुहुन्छ। नसम्झाउनुस् मलाई। तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,’ ओलीको भनाइ उद्धृत गर्र्दै एक पदाधिकारीले बताए।
उनले कसैले सम्झाइबुझाइ गर्दैमा नेतृत्व छाड्ने अवस्था नरहेको भन्दै त्यतातिर नलाग्न सुझाव दिएको ती पदाधिकारीको भनाइ छ।
एमालेलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको भन्दै कसैले सम्झाएकै भरमा आफू मान्ने अवस्थामा नरहेको ओलीले बताएका थिए।
पार्टीलाई फेरि पुरानो अवस्था ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ। तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्,’ उनले भनेका थिए।
उनले बैठक लम्बेतान भइरहेको भन्दै सक्न पनि आग्रह गरेका थिए।
‘यो बैठक धेरै लामो भइसक्यो। अब सकौं। तपाईंहरूले धेरै जोड नगर्नुस्,’ उनले भनेका थिए।
बैठक सकौं भनेपछि पृथ्वीसुब्बा गुरूङले आज पनि प्रतिवाद गरेका थिए
‘के तपाईंले अरूलाई बोल्नै नदिएर बैठक सक्न लागेको हो?,’ गुरूङले आज पनि भनेका थिए।
त्यसको जबाफ ओलीले नदिइको तर बैठक सकियो भन्दै आफू उठ्न थालेपछि आजको बैठक समापन भएको एक नेताले जानकारी दिए।
आजको बैठकमा महासचिव शंकर पोखरेलले पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका थिए।
‘पार्टी आन्दोलन यही अवस्थामा चल्दैन। समग्र पुनर्गठन गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका थिएनन्। उनले उठाउँदै आएको पुनर्गठनको विषयलाई सचिवालय बैठकमा स्पष्टसँग राखेका थिए।
सचिव महेश बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका थिए।
जारी सचिवालय बैठकमा बहुसंख्यक सचिवालय सदस्यहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला उनी बचाउमा लागेका हुन्।
‘यस्तो बेलामा अध्यक्ष ओली नेतृत्वबाट हट्नुपर्छ भन्ने अपराधी हुन्। संकटका बेला नेतृत्व हटाउन लाग्नेहरू अपराधी हुन्,’ बस्नेतको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए।
विशेष महाधिवेशन गरेर नेतृत्व फेरेकाहरूको पनि चुनावमा अवस्था देखिएको बताउँदै नेतृत्व हस्तान्तरण मात्रै विकल्प नभएको भन्दै यसलाई औचित्यहीन बहसको संज्ञा दिएका थिए।
आजको बैठकमा उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा ६० वर्षमाथिका बिदा भएर त्यसभन्दा तलका पुस्तालाई पार्टी आन्दोलन जिम्मा लगाउनुपर्ने धारणा राखेका थिए।
उनले पार्टी आन्दोलन पुस्तान्तरणको प्रस्ताव राखेको एक नेताले बताए।
‘६० वर्ष पूरा भइसकेको हामी सबै बिदा भएर त्यसभन्दा मुनिकालाई नेतृत्व गर्न दिऔं,’ भट्टले प्रस्ताव राख्दै भनेका थिए।
अर्का पदाधिकारीका अनुसार भट्टले पनि पुनर्गठनको पक्षमा धारणा राखेका थिए।
‘उहाँले ६० वर्षभन्दा माथिको सबै बिदा हुनुपर्ने धारणा राख्दै पुनर्गठनकै पक्षमा आवाज मुखरित गर्नुभयो,’ उनले भने।
उपमहासचिव भट्टका अनुसार शनिबारको बैठकमा ९ जना पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए। बैठक भोलि ११ः३० बजे पुनः अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्नेछ।
बैठकमा ४ जना सचिवहरूले धारणा राख्न बाँकी छ।