नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रश्न गरेका छन्।
आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा उभिएपछि संकटमा परेका अध्यक्ष ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा सुनिसकेपछि आफूलाई कुन प्रक्रियाबाट हटाउने भनेर प्रश्न गरेको एक नेताले बताए।
जेठ ४ देखि जारी सचिवालय बैठक आज आइतबार पनि बस्दैछ। अध्यक्ष ओलीले जबाफ दिने कार्यसूची बाँकी नै छ। अरू सचिवालय सदस्यहरूले बोल्दा ओलीले बीच बीचमा आफ्नो धारणा राखिरहेका छन्।
'मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने?' ओलीले बैठकमा राखेको प्रश्न उद्धृत गर्दै एक नेताले भने, 'राष्ट्रिय महाधिवेशन गरेको ६ महिना पनि भएको छैन, फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा नहोला, विशेष महाधिवेशन गर्नुपर्ने होला। तीन महिनाअघि गरेको तहगत अधिवेशन के गर्ने?'
यसबीच जारी बैठकमा अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी फेस गर्ने सन्देश दिइसकेका छन्।
'मलाई हट्नुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाऊँ। एक एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु,' उनले बैठकमा भनेका थिए।
शनिबारकै बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूलाई धेरै नसम्झाउन पनि भनेका थिए।
'किन सम्झाउँदै हुनुहुन्छ। नसम्झाउनुस् मलाई। तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,' ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने।
कसैले सम्झाइबुझाइ गर्दैमा नेतृत्व छाड्ने अवस्था नरहेको भन्दै ओलीले त्यतातिर नलाग्न सुझाव दिएको ती पदाधिकारीको भनाइ छ।
एमालेलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको भन्दै कसैले सम्झाएकै भरमा आफू मान्ने अवस्थामा नरहेको ओलीले बताएका थिए।
'पार्टीलाई फेरि पुरानो अवस्था ल्याउँछु। यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ। तपाईंहरू सम्झाउनतिर लाग्दै नलाग्नुस्,' उनले भनेका थिए।
ओलीले बैठक लम्बेतान भइरहेको भन्दै चाँडो सक्न पनि आग्रह गरेका थिए। उनले बैठक सकौं भनेपछि पृथ्वीसुब्बा गुरूङले शनिबार पनि प्रतिवाद गरेका थिए।
'के तपाईंले अरूलाई बोल्नै नदिएर बैठक सक्न लागेको हो?,' गुरूङले प्रश्न गरेका थिए।
त्यसको जबाफ ओलीले नदिएको तर बैठक सकियो भन्दै उठ्न थालेपछि शनिबारको बैठक समापन भएको एक नेताले जानकारी दिए।
अहिलेसम्म सचिवालय बैठकमा १४ जना सदस्यले धारणा राखिसकेका छन्। तीमध्ये १० जनाभन्दा बढी सदस्यले पुनर्गठनको पक्षमा आवाज उठाएका छन्। उपमहासचिव योगेश भट्टराईले राजीनामा दिन सुझाव दिएका थिए।
अब सचिव शेरधन राई, यामलाल कँडेल, भानुभक्त ढकाल, खगराज अधिकारीले धारणा राख्न बाँकी छ।