राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्यता संख्या सवा पाँच लाख पुगेको छ।
केन्द्रीय संगठन विभागले अद्यावधिक गरेको विवरण अनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख १६ हजार २५६ पुगेको हो। यो शनिबारसम्मको तथ्यांक हो। आइतबार र सोमबारको तथ्यांक रूजु गर्न बाँकी छ।
'राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन चाहने, सदस्यता लिन चाहनेको संख्या दिनानुदिन बढिरहेको छ, हालसम्म सवा पाँच लाख नाघिसकेको छ,' संगठन विभागका सचिव शंकर श्रेष्ठले भने।
रास्वपाले अनलाइनमार्फत् सदस्यता लिन सकिने व्यवस्था गरेको छ। रास्वपाको मोबाइल एपमा विवरण भरेर सदस्यता लिन सकिन्छ।
रास्वपाको तहगत समितिका अधिवेशन भइरहेका छन्। वडा र पालिका तहको समितिको अधिवेशन सकिएर अहिले धमाधम जिल्ला अधिवेशन भइरहेको छन्। कार्यतालिका अनुसार जेठ २३ र २४ गते जिल्ला अधिवेशनको मिति तोकिएको थियो। तर तराई–मधेसका जिल्लामा आज पनि अधिवेशन भइरहेको छ। केहीमा भोलिलाई तय गरिएको छ।
हालसम्म ५६ वटा जिल्लाको अविधेशन सकिइसकेको छ। १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित भएको छ।
केही जिल्लामा यसपटक अधिवेशन नहुने भएको छ।
रास्वपाको केन्द्रीय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। महाधिवेशन नजिकिँदै जाँदा पार्टी सदस्यता लिनेको संख्यामा बढोत्तरी आएको हो।