नेकपा एमालेले पुनर्गठन कार्यदलले प्रदेश प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ।
मंगलबार पहिलोपटक बसेको कार्यदलको बैठकले प्रदेश, प्रदेशबाट सुझाव संकलन गर्ने, नेता–कार्यकर्ताबाट राय–सुझाव माग्ने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
‘पुनर्गठनको विषयमा तलबाट सुझाव माग्ने गरी छलफल गरेका छौं। अब तलबाट सुझाव संकलन थाल्छौं,’ उनले भने।
सचिव शेरधन राईका अनुसार आगामी जेठ ३० गतेबाट सुझाव संकलन सुरू हुनेछ।
जेठ ३० गते बागमती प्रदेशका नेता–कार्यकर्तासँग राय सुझाव लिने कार्यतालिका तय भएको छ। असार २ गते कोशी, ४ गते लुम्बिनी, ६ गते सुदूरपश्चिम, ८ गते कर्णाली प्रदेशमा राय–सुझाव लिनेगरी कार्यतालिका तय भएको उनले बताए।
त्यस्तै गण्डकी प्रदेशमा ११ गते सुझाव संकलन गरिने सचिव राईले बताए। मधेस प्रदेशमा असार १३ गते सुझाव संकलन हुनेछ भने राजधानी विशेष प्रदेशमा असार १६ गते सुझाव लिइनेछ।
असार १७ गते सम्पर्क विशेष, असार १८ गते जनसंगठन समन्वय कमिटीबाट सुझाव लिइने छ।
असार १९ गते विभाग प्रमुख र निकायका पदाधिकारीहरूबाट सुझाव लिइनेछ।
प्रदेश भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारीहरूको सहभागिता रहनेछ।
सम्पूर्ण कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्ने तय भएको छ।
आजको बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिएको छ। सुझाव संकलनका लागि आयोजना हुने सबै भेलाहरूमा संयोजक, महासचिव र सदस्यहरूको उपस्थिति रहने कार्यविधि तय गरिएको छ।
असार २२ गते कार्यदलको बैठक बसेर सुझावलाई एकीकृत गरिने सचिव राईले जानकारी दिए।
जेठ १० गते बसेको सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।
त्यसको पहिलो बैठक बसिरहेको हो। सचिवालय बैठकमा धारणा राख्ने क्रममा अधिकांश सचिवालय सदस्यहरूले पार्टी पुनर्गठनबारे धारणा राखेका थिए।
त्यसको निरूपण गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल गठन भएको थियो। उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ।
बैठकले कार्यविधि तय गरेर प्रदेश, प्रदेश र आवश्यक परे जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
अध्यक्ष ओलीले संगठन सुदृढीकरण, निर्वाचन समीक्षाको निष्कर्ष तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्दै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गरेको बस्नेतले बताए।