राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा विद्युतीय मेसिनमा मतदान हुने भएको छ।
आइतबारदेखि सुरू भएको महाधिवेशन एक दिन लम्बिँदा बुधबार मात्रै मतदान हुने भएको हो। पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो।
सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।
अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ।
मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मेसिन प्रयोग हुनेछ।
इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन्।
ती सबै मेसिनहरू तयारी अवस्थामा राखिएका छन्। उम्मेदवारको अन्तिम नामावली दिएपछि भोटिङ मेसिनमा 'इन्ट्री' गर्ने काम सुरू हुने उनले बताए।
सामान्यतया इन्ट्री गर्न १५ घन्टा समय लाग्ने उनले बताएका छन्।
'तर नाम इन्ट्री बाहेकका सबै प्राविधिक काम सकेर परीक्षण समेत भइसकेको छ। अब उहाँहरूले नाम दिनुभएको ६ घन्टामा इन्ट्रीको काम सकिन्छ। त्यसपछि मतदान सुरु गर्न सकिन्छ,' रिमालले भने।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बिहानसम्म पनि उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छैन।
उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिकपछि दाबी विरोधका लागि पनि समय छुट्याइन्छ।
दाबी विरोधमा छानबिनपछि मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ।
त्यसपछि निर्वाचन आयोगले विद्युतीय मेसिनमा नाम इन्ट्रीका लागि सूची उपलब्ध गराउनेछ।
यी सबै प्रक्रिया पूरा गर्दा पहिलो चरणको मतदान अपराह्नपछि मात्रै सुर हुनेछ।
पहिलो चरणमा हुने केन्द्रीय सदस्यका लागि ४०० जना भन्दा बढिले उम्मेदवारी दिएका छन्।
पहिलो चरणको मतदानपछि पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम सुरू हुनेछ।