राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको पदाधिकारी निर्वाचनमा अहिलेसम्म एक हजार मत खसेको छ।
दुई उपसभापति (महिला समेत), एक महामन्त्री र तीन सह-महामन्त्री (महिला समेत) पदका लागि भइरहेको निर्वाचनमा मत खसाल्ने समय साढे ४ बजेसम्म तोकिएको छ।
मतदानका लागि २७ वटा विद्युतीय मेसिन प्रयोग भइरहेको राम-लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले जानकारी दिए।
विद्युतीय मेसिनबाट मतदान सम्पन्न भएपछि प्रवासका प्रतिनिधिहरूले अनलाइनबाट पनि मतदान गर्नेछन्। प्रवास प्रतिनिधिहरूको संख्या १६७ छ।
अहिले महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिहरू पातलिएकाले निर्धारित अवधिसम्म करिब दुई हजार मत खस्ने अनुमान गरिएको छ।
यसअघि पहिलो चरणमा केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनमा २९५९ मत खसेका थिए। रास्वपामा भोट हाल्ने महाधिवेशन प्रतिनिधिहरू करिब ४२ सय जना छन्।