राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारश मणि गेलालले 'मेयर सरूवा गर्नुपर्छ' भनेर दिएको अभिव्यक्ति भाइरल भएको छ।
भाइरल भिडिओमा उनले टेलिफोनमा कुनै व्यक्तिसँग कुराकानी गरिरहेको देखिन्छ।
सार्वजनिक भएको भिडिओ क्लिपमा उदयपुर–१ का सांसद गेलाल भन्छन् - 'अधिकृत भनेका कर्मचारी हुन्। कर्मचारी सुध्रन सक्छन्। अब मेयर नै सरूवा गर्नुपर्छ। मेयर सरूवा गर्ने तयारी गर्नुस् भनेको छु। तपाईंको विषय मैले बुझेँ। म त्यहाँ आएको बेला यो स्कुललाई ...।'
भिडिओको अगाडि र पछाडिको भाग छैन। भिडिओमा उनले कोसँग के विषयमा कुराकानी गर्दै थिए भन्ने खुल्दैन।
भिडिओ रास्वपाकै उदयपुर क्षेत्र नंम्बर २ का सांसद सूर्यबहादुर तामाङले फेसबुकमा राखेका छन्।
तर गेलालले भने भिडिओ कसले खिच्यो र राख्यो भन्ने विषयमा अनभिज्ञता प्रकट गरे। सेतोपाटीसँगको कुराकानीमा सांसद गेलालले आफूलाई टेलिफोन गर्ने व्यक्तिलाई पनि नचिन्ने बताए।
नेपालको संविधान अनुसार नगरपालिका/उपमहानगरपालिका र महानगरपालिकामा मेयर चुनावबाट चुनिन्छन्। उनीहरु जनताको मतद्वारा निर्वाचित हुन्छन्। स्थानीय सरकारका प्रमुखमा निर्वाचित हुने पदका व्यक्ति सरुवा गर्न मिल्दैन। जसरी गेलाल जस्तै निर्वाचित सांसदको सरुवा गर्न मिल्दैन। स्थानीय तहमा खटिने कर्मचारी भने संघीय सरकारबाट खटिएको भए संघीय सरकार र प्रदेशबाट खटिएको भए प्रदेश सरकारले सरुवा गर्न सक्छ। स्थानीय तहले पनि आफूले नियुक्ति गरेका कर्मचारी सरुवा गर्न सक्छ।
सांसद गेलालले यसरी निर्वाचित जनप्रतिनिधलाई नै सरुवा गरिदिन्छु भनेर टिप्पणी गरेको भिडिओको कमेन्टमा धेरैले संविधान नै थाहा नपाएको भन्ने टिप्पणी गरेका छन्। कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीले 'जान्नेलाई छान्ने' भनेर दिएको निर्वाचनको नाराकै खिल्ली उडाइएको बताएका छन्।
तर सांसद गेलालले भने आफूले राजनीतिक अभिव्यक्ति दिएको बताए।
'मैले निर्वाचनबाट सरुवा गर्ने भनेको हो', गेलालले भाइरल भिडिओबारे प्रस्टीकरण दिदैँ भने, 'कति खेर खिचेर कसले हाल्यो भन्ने टुङ्गो छैन।'
उनले टेलिफोन गर्ने व्यक्तिले अधिकृत सरुवा गरिदिनुपर्यो भनेर गुनासो गरेको बताए।
'मैले अधिकृत सरुवा भएर जहाँ गए पनि काम गर्न, उसलाई सुधार्नुपर्छ। तर निर्वाचनबाट मेयर सरुवा गरौं। मेयरको सरुवाको तयारी हानौं भनेको हो', गेलालले भने, 'राजनीतिक भाषा हो। अहिले उठाइरहेका छन्। मेयर सरुवा हान्नुस्, तयारी गर्नुस् भनेको राजनीतिक कुरा हो। उडाउनेहहरुको बौद्धिकतामा प्रश्न आउँछ।'
उनले आफू संविधान र संवैधानिक प्रावधानबारे जानकार रहेको बताए।
'सडकको कालोपत्रे समय नपुग्दै उप्कियो भनेर उडाउँदैनन्। दुई सय मिटर ग्राभेल नगर्दा विद्यार्थी हिलोमा हिँडिरहेका छन्। हिलो भयो भनेर उडाउँदैनन्', सांसद गेलालले भने, 'राजनीतिक भाषामा उडाउँदा रहेछन् । के गर्नु । प्रसंवगश प्रयोग भएको शब्दमा उडाइएको छ।'
उनले आफ्नो क्षेत्रमा भएको जनप्रतिनिधले गरेको कामको रिपोर्ट राम्रो नआएको बताए।
आफूले प्रतिनिधि सभा बैठकमा असार १८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलमा पनि स्थानीय सरकारहरुले अस्पताल राम्रोसँग चलाउन नसकेको बताएका थिए। साथै स्थानीय सरकारलाई दिएको अधिकार खोस्नुपर्ने टिप्पणी गरका थिए।
'नगर अस्पताल र प्रादेशिक अस्पतालले सेवा दिएन भनेर संघीय सरकारले उम्कन पाउने अवस्था छ त', गेलालले भने, 'त्यस्ता कानुन र ऐन संशोधन गर्न आवश्यक छ। हिजो लापरवाही भएका कानुनहरु, हिजो स्थानीय सरकारलाई दिएका अधिकारहरु खोसेर जनताको स्वास्थ्य सेवा सुदृढ गर्ने काममा सरकार अघि बढ्नुपर्छ।'
उनले दैनिक बिहान ६ बजेदेखि राती २ बजेसम्म स्वास्थ्य सेवा नपाएको, जिल्ला अस्पतालमा सामग्री नभएको र डाक्टर नभएको फोन आउने गरेको बताए।
'हामीले के उत्तर दिने', उनले संसदमा भनेका थिए, 'त्यसको उत्तर सरकारले हामीलाई बुझाइदिन आवश्यक छ। नभए त्यस्ता कानुन संशोधन गर्ने विधेयक ल्याऔँ। हामी त्यस्ता कानुन पास गर्न चाहान्छौँ।'
उनले सरकार जनमुखी हुनुपर्ने टिप्पणी गरेका थिए। साथै प्रधानमन्त्री बालेन्द्र शाहले निर्वाचनका बेला गरेको वाचा पनि सम्झाएका थिए।
'प्रधानमन्त्रीले निर्वाचनका बेला भन्नुभएको थियो - पैसा नहुनेले नि:शुल्क उपचार पाउने सरकार बन्न चाहन्छौं', म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, साँच्चै नागरिकहरुले पैसा नहुँदा उपचार पाइरहेको अवस्था छ त अहिले', गेलालले प्रश्न गरेका थिए।
रास्वपाको वेबसाइटमा राखिएको विवरण अनुसार गेलाल राजनीतिमा आउनुअघि पत्रकार र शिक्षक थिए। त्यस्तै उनी गाडीको डिलर सञ्चालन गर्थे। सांसद हुनु अघि उनी 'जी मोस्टर्स' कार्यकारी निर्देशक थिए।