प्रधानमन्त्री बालेन शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सेनाका पूर्वअधिकारी डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेका छन्।
उनी वरीयतामा सेनाका मेजर जनरलसम्म भएका थिए।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (एनएआइएचएस) का कार्यकारी निर्देशक रहेका डा. खत्रीको नाम एनएआइएचएसको वेबसाइटमा अहिले पनि कार्यकारी निर्देशककै रूपमा उल्लेख छ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष शाहले मंगलबार डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
३८ वर्ष नेपाली सेनामा सेवा गरेका डा. खत्री मुटुरोग विशेषज्ञ हुन् भने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक समेत हुन्।
उनले २०४० सालमा नेपाली सेनामा भर्ती भएर २०७८ सालमा अवकाश पाएका थिए।
२०७६ सालमा उनी पाँच महिनासम्म एनएआइएचएसका प्रिन्सिपल समेत भएका थिए।
वीरेन्द्र सैनिक अस्पतालको कार्डियोलोजी विभागमा काम गरेका डा. खत्री उक्त अस्पतालको प्रमुखसमेत भइसकेका छन्।
उनले सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन्। महानिर्देशनालय अन्तर्गत वीरेन्द्र सैनिक अस्पताल र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (एनएआइएचएस) रहेका छन्।
सन् १९९२ मा युनिभर्सिटी अफ ढाकाबाट एमबिबिएस पूरा गरेका डा. खत्रीले त्यही विश्वविद्यालयबाट सन् २००४ मा कार्डियोलोजी विषयमा एमडी/एमएस गरेका थिए।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे।
यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
सरकारले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएको भन्दै अध्यादेश ल्याएर १५ हजारभन्दा बढी पुराना नियुक्ति खारेज गरेपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झा लगायतका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद खाली थियो।
सिभिलियन जिम्मेवारीमा सेनाका पूर्वअधिकारी नियुक्त हुनुले सरकारको नीति के हो भन्ने प्रश्न उठाएको छ।
यसअघि 'अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति' को अध्यक्षमा पूर्वसैनिक अधिकारी नियुक्त भएका थिए। उनको नियुक्तिमा अन्तिम समयमा नाम हेरफेर गरियो भन्ने प्रश्न पनि उठेको छ।