साउन १५ गतेको कुरा हो।
सुनसरीमा सल्किएको साम्प्रदायिक तनाव मधेसतिर फैलिन थालेपछि प्रधानमन्त्री बालेन शाहले मधेसकेन्द्रित दलका शीर्ष नेताहरूलाई सिंहदरबार डाके।
उद्देश्य थियो — परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिनु र समाधानको बाटो पहिल्याउनु।
छलफल क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले एउटा महत्त्वपूर्ण प्रस्ताव राखे। उनको सुझाव थियो — 'केन्द्रदेखि पालिकासम्मै अन्तर-धार्मिक संरचना बनाऔं। यसले स्थानीय स्तरमा हुने विवाद त्यहीँ सुल्झिन्छ र अन्यत्र फैलिन पाउँदैन।'
राउतले सिंहदरबारमा पेस गरेको यो अवधारणा नयाँ भने थिएन। मधेसी, पहाडी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको बाँकेको नेपालगन्जमा २० वर्षदेखि ठ्याक्कै यही मोडल सफल भइरहेको छ।
नेपालगन्जमा शान्ति र धार्मिक सहिष्णुताको कडी बनेर उभिएको छ — धार्मिक सद्भाव सञ्जाल।
र, यसको नेतृत्वमा छन् दुई फरक आस्थाका अगुवा — हिन्दु धर्मगुरू चन्द्रनाथ योगी र मुस्लिम मौलाना अब्दुल जब्बार मन्जरी।
बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ यस सञ्जालका अध्यक्ष हुन् भने मौलाना अब्दुल उपाध्यक्ष।
उनीहरू दुवै मिलेर नेपालगन्ज क्षेत्रमा सद्भाव र एकता कायम राख्न धार्मिक सञ्जालमार्फत् सचेतना लगायत काम गर्दै आएका छन्।
मोटरसाइकलमा गाउँ-बस्ती चहार्ने र एकअर्काका पारिवारिक जमघटमा पनि सरिक हुने यो जोडीले दुई दशकदेखि नेपालगन्जलाई साम्प्रदायिक हिंसाको डढेलोबाट जोगाउँदै आएको छ।
अब्दुलका अनुसार २०६३ सालमा नेपालगन्जमा साम्प्रदायिक तनावको स्थिति उत्पन्न भएका बेला दुई पक्षलाई मिलाउन धार्मिक सद्भाव सञ्जाल बनाइएको हो।
त्यति बेला साम्प्रदायिक तनावले नेपालगन्ज सहर अशान्त बनेपछि दुवै समुदायका यी दूरदर्शी अगुवाहरूले महसुस गरे — प्रशासनको लाठी र कर्फ्यूले मात्र मनहरू जोड्न सकिँदैन, संवाद नै दिगो शान्तिको विकल्प हो।
त्यही सञ्जालले आज पनि सहरदेखि गाउँसम्मका मानिसहरू र फरक फरक समुदायसँग संवादबाटै एकता र सद्भाव कायम राख्ने काम गर्दै आएको उनी बताउँछन्।
'समुदायहरूबीच बेलाबेला स-साना विवाद देखिनु स्वाभाविक हो, एउटै घरका दाजुभाइबीच पनि त मनमुटाव भइरहन्छ!' सञ्जालका उपाध्यक्ष अब्दुल जब्बारले सेतोपाटीसँग भने, 'तर हामी विवादलाई चर्किन दिँदैनौं। महन्तजी र म मिलेर तत्कालै संवादमार्फत् समाधान खोज्छौं।'
त्यही भएर विवादको राप उत्पन्न हुनेबित्तिकै आज पनि स्थानीय प्रशासनले यही जोडीलाई सम्झिन्छ।
'प्रशासनले हामीलाई गाडी पठाइदिन्छौं भन्छ तर हामी आफ्नै मोटरसाइकल चढेर कुनाकाप्चासम्म पुग्छौं,' अब्दुलले भने, 'विवादित ठाउँमा पुगेर सबै पक्षका अगुवाहरूलाई राख्छौं, संविधान र कानुनको दायराभित्र रहेर छलफल गराउँछौं। शान्ति र सद्भाव कायम राख्न भूमिका खेल्दै आएका छौं।'
उनीहरू सम्झाउँछन् — कसैको आस्थामाथि चोट पुर्याउने अधिकार कसैलाई छैन।
आज यो सञ्जाल सहरदेखि गाउँसम्मका फरक-फरक समुदायबीच संवादको बलियो पुल बनेको छ। सिंहदरबारमा देश कसरी जोड्ने भनेर बहस भइरहँदा नेपालगन्जको यो अभ्यासले प्रस्ट पार्छ — स्थानीय स्तरको संवाद र संयन्त्र नै साम्प्रदायिक सद्भावको सबभन्दा बलियो जग हो।