काठमाडौंकी सविना थापा अमेरिका पुगेको दुई दशकभन्दा बढी भइसकेको छ।
उनी सन् २००५ अगस्टमा उच्च शिक्षाका लागि पुगेकी हुन्। अहिले १६ वर्ष लामो आइटी करिअरपछि टेक्ससमा आफ्नै व्यवसायमा सक्रिय छिन्।
नेपालमा उनले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेकी हुन्।
स्नातकपछि केही समय ललितपुरको ज्ञानोदय हाइस्कुल र नक्सालस्थित हिमालयन इन्जिनियरिङ कलेजमा पढाएकी थिइन्।
'अमेरिकामा ट्रोय विश्वविद्यालयमा इन्फर्मेसन सिस्टम (सूचना प्रणाली) विषयमा एमबिए पढेँ। सन् २००८ अन्त्यतिर रोजगारीका लागि टेक्सस पुगेँ,' उनले भनिन्, 'त्यो समय मेरा लागि निकै चुनौतीपूर्ण थियो।'
टेक्सस जाँदै गर्दा उनले १० महिनाको छोरालाई आमाबुबासँग नेपाल पठाइन्। उनका श्रीमान ट्रोयमै पढिरहेका थिए। परिवार र करिअर दुवै सन्तुलनमा राख्न निकै कठिन थियो।
टेक्सस पुगेपछि उनले आइटी कन्सल्टिङ कम्पनी भास्टिका इंकमा लिड ट्यालेन्ट एक्विजिसन स्पेसालिस्टका रूपमा काम गरिन्।
करिब १६ वर्षको अवधिमा आफूले सयौं आइटी पेसाकर्मीलाई रोजगारीका अवसर उपलब्ध गराउँदै धेरैको करिअर निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको दाबी छ।
'आइटी क्षेत्रका धेरै सहकर्मीले मलाई श्रेया थापा भनेर पनि चिन्छन्,' सविनाले भनिन्।
आइटी क्षेत्रमा कार्यरत रहँदै उनले दीर्घकालीन सोचका साथ व्यवसायमा पनि लगानी गर्न थालिन्।

उनले सन् २०१५ मै व्यवसायमा लगानी सुरू गरेकी थिइन्। जागिरसँगै भविष्यका लागि आफ्नै केही गर्नुपर्छ भन्ने सोच थियो।
'अमेरिकामा पनि आफ्नो एउटा ब्याकअप हुनुपर्छ भन्ने लाग्थ्यो। पछि जागिर छाडेर पूर्ण रूपमा व्यवसायमा लागेँ। अब आफ्नै व्यवसायलाई समय दिनुपर्छ भन्ने महसुस भयो,' उनले भनिन्।
सुरूमा उनले साझेदारसँग मिलेर व्यवसाय सञ्चालन गरिन्। जग्गा, रेस्टुरेन्ट र ग्यास स्टेसनमा गरिएको लगानीले उनलाई उद्यमशीलताको व्यावहारिक अनुभव दिलायो।
अन्ततः दुई वर्षअघि आइटी करिअरलाई विश्राम दिँदै पूर्णकालीन रूपमा आफ्नै व्यवसायमा लाग्ने निर्णय गरिन्।
हाल उनी र उनका साझेदारले टेक्ससमा दुई वटा ग्यास स्टेसन चलाइरहेका छन्। करिब पाँच मिनेटको दुरीमा रहेका यी स्टोरमा १० जना कर्मचारी कार्यरत छन्।
ग्यास स्टेसन भनेको इन्धन (डिजेल/पेट्रोल) बेच्ने ठाउँ मात्र होइन, त्यहाँ स्टोर पनि हुन्छ।
उनको एक स्टोरमा खाजाजन्य खानेकुरादेखि दैनिक उपभोग्य सामग्री, अटोमोबाइल्स सम्बन्धित सामान पाइन्छ। अर्कोमा यी सबै सामग्रीसँगै सुविधासम्पन्न भान्सा छ। त्यहाँ ग्राहकका लागि बिहानदेखि बेलुकीसम्मको भोजनका रूपमा बर्गर, फ्राइज, पिज्जा, स्यान्डविच लगायत विभिन्न परिकार तयार गरिन्छ।
सविनाले विभिन्न साझेदारसँग मिलेर तीन स्थानमा जग्गामा पनि लगानी गरेकी छन्।
'माटोमा गरेको लगानी खेर जाँदैन भन्ने मेरो विश्वास छ। त्यसैले दीर्घकालीन रूपमा धेरै जना मिलेर जग्गामा पनि लगानी गरेका छौं,' उनले भनिन्।
सविनाको स्थायी बसोबास आर्लिङ्टनमा भए पनि व्यवसाय सञ्चालन हुने स्थानसम्म पुग्न करिब एक घण्टा ४० मिनेट ड्राइभ गर्नुपर्छ।
त्यसैले उनी स्टोर नजिकै रहेको अर्को घरमा केही दिन बस्ने र तीन–चार दिनको अन्तरालमा परिवारसँग भेट्न फर्किन्छिन्।

'स्टोर नजिकै अर्को घर छ। म त्यहीँ बस्छु र तीन–चार दिनमा घर आउजाउ गर्छु। व्यवसायलाई समय दिन यो आवश्यक भएको छ,' उनी भन्छिन्।
सविनाका श्रीमान हाल सिटी बैंकमा आइटी इन्जिनियरका रूपमा कार्यरत छन्। उनीहरूका १८ वर्षीय छोरा र ९ वर्षीया छोरी छन्। व्यवसायका कारण परिवार सधैं एउटै ठाउँमा बस्न नसके पनि श्रीमान र छोराको सहयोगले आफूलाई धेरै सहज भएको उनी बताउँछिन्।
सविना र उनका श्रीमान नेपालदेखिकै सहपाठी हुन्। एकअर्कालाई राम्रोसँग बुझ्ने भएकाले पनि आफूहरूको यात्रा सहज भएको उनी बताउँछिन्।
'उहाँले आफ्नै कामसँगै छोराछोरीको हेरचाहमा पनि ठूलो साथ दिनुभएको छ,' उनले भनिन्, 'घर, बालबच्चा र व्यवसाय एकसाथ सम्हाल्नु सजिलो छैन। तर सही योजना, परिवारको साथ र निरन्तर मेहनत भए धेरै कुरा सम्भव हुन्छ।'
उनको दिन बिहान साढे ५ बजे सुरू भएर राति १० बजेसम्म व्यवसायमै बित्छ। स्टोर बन्द भएपछि मात्रै विश्राम पाउँछिन्।
आइटीको करिअरपछि उद्यमशीलताको यात्रामा रमाइरहेकी सबिनालाई आफ्नै व्यवसायको मालिक हुनुको सन्तुष्टि नै सबभन्दा ठूलो उपलब्धि लाग्छ।
'जुन काममा आफूले शतप्रतिशत दिन्छौं, त्यसको प्रतिफल पनि आफ्नै हुन्छ। आफ्नै हातबाट कर्मचारीलाई पारिश्रमिक दिन पाउँदाको सन्तुष्टि शब्दमा व्यक्त गर्न सकिँदैन,' सविना भन्छिन्, 'व्यवसायमा जोखिम र चुनौती त हुन्छन्, तर त्यसले दिने स्वतन्त्रता र आनन्द कुनै पनि जागिरभन्दा फरक हुन्छ।'