अहिले बजारमा कम चुक्ता पुँजी भएका वा भर्खरै सूचीकृत भएका कारण कम आपूर्ति भएका कम्पनीको सेयरमा धेरै सट्टेबाजी कारोबार भइरहेको छ।
छोटो अवधिमा मूल्यको उतारचढावबाट नाफा कमाउने उद्देश्यले गरिने खरिद–बिक्री नै सट्टेबाजी कारोबार हो।
कम चुक्ता पुँजी भएका वा आपूर्ति कम भएका सेयरमा धेरै हदसम्म सट्टेबाजी कारोबार सम्भव हुन्छ। यस्ता कम्पनीको सेयर मूल्य उच्चले उतारचढाव हुने भएकाले कारोबारमा कमाउने र गुमाउने दुवै धेरै हुने मानिन्छ।
अब भने आधारभूत पक्ष कमजोर भएका र चुक्ता पुँजी कम भएकै कारण सट्टेबाजी भइरहेका कम्पनीहरूबाट यस्तो कारोबार ठूला र दीर्घकालीन प्रकृतिका मानिने सेयरमा केन्द्रित हुने देखिएको छ।
धितोपत्र बोर्डले ल्याउने तयारीमा रहेको सर्ट सेलिङले मूल्य घट्दा पनि नाफा कमाउने अवसर दिने भएकाले यसले बजारमा सट्टेबाजी कारोबार बढाउन सक्ने सम्भावना रहन्छ।
तर बजारका सबै सेयरमा सर्ट सेल करोबार गर्न पाइँदैन। त्यसैले भविष्यमा छोटो अवधिको कारोबार पनि उच्च तरलता भएका ठूला कम्पनीमै केन्द्रित हुने अनुमान छ।
धितोपत्र बोर्डले सर्टसेल र इन्ट्रा–डे कारोबार ल्याउने तयारी गरेसँगै यस्तो सट्टेबाजी कारोबार साना तथा कम तरलता भएका कम्पनीबाट ठूला, नियमित कारोबार हुने र मार्जिन सुविधा उपलब्ध कम्पनीतर्फ सर्ने अपेक्षा गरिएको छ।
यी दुवै व्यवस्था लागू भएपछि पर्याप्त तरलता, नियमित कारोबार, उच्च बजार पुँजीकरण तथा संस्थागत लगानीकर्ताको सहभागिता भएका कम्पनीमा कारोबार केन्द्रित हुने अपेक्षा गरिएको छ।
हाल बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा तथा केही ठूला उत्पादनमूलक कम्पनीका सेयरमा मार्जिन सुविधा उपलब्ध छ। त्यसैले भविष्यमा छोटो अवधिको कारोबार पनि उच्च तरलता भएका ठूला कम्पनीमै केन्द्रित हुने अनुमान छ।
विश्लेषकहरूका अनुसार सर्टसेल लागू भएपछि लगानीकर्ताले आफूसँग रहेको सेयरको आधारमा मूल्य घट्ने अनुमान हुँदा बिक्री गरेर पछि कम मूल्यमा पुनः खरिद गर्ने रणनीति अपनाउन सक्नेछन्।
यसका लागि सजिलै उपलब्ध हुने र पर्याप्त कारोबार हुने सेयर आवश्यक पर्ने भएकाले ठूला तथा दीर्घकालीन महत्व रहेको मानिने कम्पनीको सेयर माग स्वाभाविक रूपमा बढ्ने देखिन्छ।
त्यस्तै इन्ट्रा–डे कारोबार कार्यान्वयन भएपछि एकै दिनभित्र खरिद र बिक्री गर्न सकिने व्यवस्था आउनेछ। यस्तो प्रणाली प्रभावकारी बनाउन उच्च तरलता भएका कम्पनी आवश्यक पर्ने भएकाले कारोबारको केन्द्र सीमित संख्याका गुणस्तरीय कम्पनीमा केन्द्रित हुन सक्ने अनुमान छ।
धितोपत्र बोर्डले सर्टसेल लागू गर्नुअघि मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो व्यवस्था र आवश्यक प्राविधिक पूर्वाधार तयार गरिने अवधारणा सार्वजनिक गरिसकेको छ। त्यसैगरी इन्ट्रा–डे कारोबारका लागि पनि कारोबार प्रणालीमा आवश्यक सुधार तथा जोखिम व्यवस्थापनका मापदण्ड तयार पार्ने काम भइरहेको छ।
बजार स्रोतहरूका अनुसार यी दुवै व्यवस्था लागू भएपछि नेपाली पुँजी बजारमा तरलता बढ्ने, मूल्य निर्धारण प्रक्रिया अझ प्रभावकारी हुने तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने अपेक्षा गरिएको छ।
त्यसको प्रत्यक्ष लाभ सबभन्दा पहिले नियमित कारोबार हुने, वित्तीय अवस्था बलियो भएका तथा मार्जिन सुविधामा समावेश कम्पनीहरूले पाउने सम्भावना छ।
यसरी हेर्दा नयाँ कारोबार प्रणाली लागू भएपछि सट्टेबाजी कारोबार हराउने होइन, यसको स्वरूप परिवर्तन हुने देखिन्छ।
अहिले साना तथा कम आपूर्ति भएका कम्पनीमा केन्द्रित यस्तो कारोबार भविष्यमा उच्च तरलता, ठूलो बजार पुँजीकरण र मार्जिन सुविधा भएका कम्पनीतर्फ सर्ने सम्भावना रहेको ब्रोकरहरू बताउँछन्।
बोर्डको अवधारणापत्र अनुसार सर्ट सेलिङ कारोबारका लागि योग्य सेयर–
|
मापदण्ड
|
आवश्यकता
|
|
सेयर कारोबारको इतिहास वा अवधि
|
स्थिर रूपमा कारोबार भइरहेको
|
|
तरलता
|
पर्याप्त कारोबारको आधार
|
|
बजार पुँजीकरण
|
निश्चित सीमा तोकिएका कम्पनी
|
|
कारोबारका लागि उपलब्ध (फ्री फ्लोट)
|
पर्याप्त
|
|
नियम परिपालनको अवस्था
|
नियमित
|