नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति (खुला) क्लस्टरतर्फको केन्द्रीय सदस्य पदमा बागमती प्रदेशसभा सदस्य तीर्थ लामा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
काभ्रे सभापतिसमेत रहेका लामा ४ हजार ८ सय ५३ मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
उनी संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्रीसमेत हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार आदिवासी जनजाति खुला क्लस्टरतर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि लामाले पार्टीलाई थप सुदृढ र सशक्त बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिए।
‘अब पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र समावेशी प्रतिनिधित्वका सवालमा केन्द्रीय तहमा भूमिका निर्वाह गर्छु,’ उनले भने।