नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा सक्रिय डा. मिश्र पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचित भएपछि डा. मिश्रले समग्र स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र नागरिकका आवश्यकतालाई पार्टीमार्फत नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक र सामाजिक कारणले गुणस्तरीय उपचार पाउन नसकेका नागरिकका स्वास्थ्यसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने उनले बताएका छन्।
पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी, प्रा. डा. जगदीश चन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला निर्वाचित भएका छन्।
पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यका पाँच पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए।