राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि, भूमिका र प्रगति विवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्।
रिपोर्ट कार्डअनुसार परियारले दोस्रो अधिवेशनका क्रममा जनजीविका, सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जवाफदेहितासँग सम्बन्धित विषयमा संसदको ध्यानाकर्षण गराएका छन्।
सामाजिक न्याय र नागरिक अधिकारसँग सम्बन्धित मुद्दालाई प्राथमिकताका साथ उठाएको परियारले जनाएका छन्।
सामाजिक न्याय, जनजीविका, सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था तथा नागरिक अधिकारका विषयमा संसदमा प्रभावकारी रूपमा आवाज उठाइएको दाबी गरिएको छ।
त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, प्रेस स्वतन्त्रता तथा सामाजिक रूपान्तरणका विषयलाई पनि परियारले प्राथमिकतामा राखेको उल्लेख छ। जलवायु न्याय, आकाश तथा सवारीसाधनबाट हुने ध्वनि प्रदूषण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको रिपोर्ट कार्डमा उल्लेख गरिएको छ।
दलित समुदायमाथिको ऐतिहासिक विभेद, उनीहरूको अधिकार तथा सामाजिक न्यायका सवालमा नीतिगत सुधार आवश्यक रहेको औंल्याउँदै सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको सुधारका विषयलाई समेत महत्त्वका साथ उठाइएको जनाइएको छ।
परियारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधन तथा टिप्पणी प्रस्तुत गरेका छन्। साथै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसम्बन्धी विधेयक तथा प्रतिनिधिसभा नियमावलीसँग सम्बन्धित विषयमा समर्थन, संशोधन प्रस्ताव राखेका थिए। त्यस्तै छलफलमा भाग लिएका थिए।
रिपोर्ट कार्डमा संसदीय समितिमा भएको सक्रिय सहभागितालाई समेत समेटिएको छ। कानुन निर्माण, न्याय तथा मानव अधिकारसम्बन्धी विषयमा समितिगत छलफल तथा बैठकमा सक्रिय, रचनात्मक र परिणाममुखी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
रिपोर्ट कार्डले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा परियारको भूमिका जनसरोकारका मुद्दा उठाउने, विधेयक तथा संशोधन प्रक्रियामा सहभागी हुने, संसदीय दलभित्र समन्वय गर्ने तथा सामाजिक न्यायका विषयमा निरन्तर पैरवी गर्ने दिशामा केन्द्रित रहेको देखाएको छ।