नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्य खुलातर्फ चिरीबाबु महर्जनले सबैभन्दा धेरै मत ल्याए।
ललितपुर महानगरपालिकामा दोस्रो कार्यकाल मेयर रहेका चिरीबाबु पहिलो पटक पार्टीभित्र चुनाव लडेका थिए।
४५ जना खुला केन्द्रीय सदस्यका लागि भएको चुनावमा ८३ जना उम्मेदवार थिए।
त्यसमध्ये चिरीबाबु ५३३० मतसहित निर्वाचित भएका हुन्। उनले ७७.५ प्रतिशत मत ल्याएका छन्।
त्यसपछि निश्कल राईले धेरै मत ल्याए। सचेतक राईले ४९५६ मत ल्याएका थिए।
सबैभन्दा धेरै मत ल्याएर जितेपछि चिरीबाबुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई आफ्नो कामबाट मोहित भएर महाधिवेशन प्रतिनिधिहरूले धेरै मत दिएको प्रतिक्रिया दिए।
‘यो महाधिवेशन भनेको पार्टी संगठनमा मेरा लागि पहिलो चुनाव थियो,’ उनले भने, ‘म मेयर हुनुभन्दा अघि ३ पटक वडाध्यक्ष भएको थिएँ। त्यसपछि दुई पटक मेयर भएँ। तर पार्टी संगठनमा चुनाव उठेको थिइनँ।’
पहिलो पटक पार्टी संगठनमा चुनाव लडेकोले पदाधिकारी नउठेको पनि उनले बताए।
‘म पहिलो पटक उठेको हुँ, केन्द्रीय सदस्य जितेँ, पहिलो पटकमै सहमहामन्त्री, महामन्त्री र उपसभापति ताक्ने होइन,’ उनले भने, ‘केन्द्रीय सदस्य उठेँ, महाधिवेशन प्रतिनिधिहरूले विश्वास गर्नुभयो।’
उनले आफूले महानगरमा गरेका काम हेरेर महाधिवेशन प्रतिनिधिहरूले मत दिएको पनि उनले बताए।
‘म मेचीदेखि महाकालीसम्मका महाधिवेशन प्रतिनिधिहरूसँग परिचित पनि थिइनँ। तर मैले महानगरमा गरेका कामबाट उहाँहरू मोहित पाएँ र मसँग परिचित नभए पनि मेरा कामबाट परिचित रहेको पाएँ,’ धेरै मत आउनुका कारणबारे जबाफमा उनले भने।
उनले कांग्रेसलाई अब काम गर्ने पार्टीका रूपमा जनतामाझ परिचित गराउने पनि बताए। ‘कांग्रेसलाई काम गर्ने पार्टीका रूपमा अघि बढाउनुछ,’ उनले भने, ‘काम गर्यो भने नेपाली जनताहरूले पार्टीलाई माया गर्नेछन् भन्ने विश्वास छ।’
आफूलाई धेरै मत आउनुमा केही कारण उनले प्रस्तुत गरे।
जसमा कांग्रेसप्रति आस्थाको नमूनाका रूपमा मत प्रकट भएको उनको भनाइ छ।
साथै काम गर्नेलाई भोट हाल्नुपर्छ भन्ने भावना महाधिवेशन प्रतिनिधिहरूको रहेको उनले बताए।
‘मैले ललितपुरमा गरेको सम्पदालगायत क्षेत्रका काम सबैले हेर्नुभएको छ। दिनमा सहर हरियाली र सफा छ भने रातमा उज्यालो छ। सायद यस्तै कामले महाधिवेशन प्रतिनिधिहरू मोहित हुनुभयो र भोट धेरै आयो,’ उनले भने।