गृहमन्त्री सुधन गुरूङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार ७१औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।
गृहमन्त्री गुरूङले भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताए। साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्न आवश्यक रहेको उनको भनाइ थियो।
‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध शून्य सहनशीलता अपनाउनुपर्छ,’ उनले भने।
प्रहरीको बर्दी नागरिकमा डर पैदा गर्ने नभई आशा, भरोसा र सुरक्षाको अनुभूति गराउने प्रतीक बन्नुपर्ने उनले बताए।
‘साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ। प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ उनले भने।
गृहमन्त्री गुरूङले सही काम गर्ने प्रहरी कर्मचारीको साथमा सरकार सधैँ रहने तर गलत काम गर्नेहरूलाई संरक्षण नगरिने स्पष्ट पारे।