नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण शनिबार हुने भएको छ।
उनको शपथ ग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दसैंपछि मात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन्। यसअघि भने सबैको शपथ दसैंपछि गर्ने बताइएको थियो।
कटुवालले सभापतिको शपथ ग्रहण मात्र शनिबार गर्ने र अन्यको भने दसैंपछि नै हुने बताए।
उनले भने, 'सभापतिको शपथ मात्र शनिबार दिउँसो २ बजे हुन्छ। अन्य त कतिपय दसैं मनाउन जिल्ला जिल्लामा गइसक्नु भएको छ। उहाँहरूको एकैपटक दसैंपछि हुन्छ।'
यता पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथ ग्रहण हुने विज्ञप्ति जारी गरेको छ।
असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना गरेर सुरू भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो।
राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो।
अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।
१४ औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको कटुवालले जानकारी दिए।
उनका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो।
मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ।