साउदी अरबले आफ्नो सुरक्षाका लागि हरेक वर्ष अर्बौं डलर खर्च गर्छ। अमेरिकाबाट अत्याधुनिक लडाकू विमान र क्षेप्यास्त्र रोक्ने प्रणाली किन्छ। युरोपेली देशहरूबाट पनि आधुनिक हतियार भित्र्याउँछ।
तर यति धेरै खर्च र आधुनिक हतियार हुँदाहुँदै पनि साउदी अरबले आफ्ना महत्त्वपूर्ण संरचना सुरक्षित राख्न सकेको छैन।
यमनका हुथी विद्रोहीले प्रहार गर्ने क्षेप्यास्त्र र ड्रोन साउदी अरबका विमानस्थल, तेल प्रशोधन केन्द्र र पाइपलाइनसम्म पुगिरहेका छन्।
पछिल्लो एक सातामा राजधानी रियादको मुख्य विमानस्थल नै पटक पटक आक्रमणको निशानामा परेको छ। ती आक्रमणमा दर्जनभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ।
यति शक्तिशाली सैन्य क्षमता भएको साउदी अरबले हुथी विद्रोहीका आक्रमण किन रोक्न सकिरहेको छैन?
अमेरिकी समाचार संस्था सिएनएनले आफ्नो एक विस्तृत रिपोर्टमा यही प्रश्नको उत्तर खोजेको छ।
सिएनएनका अनुसार यसको एउटा प्रमुख कारण साउदी अरबको विशाल भूगोल र चारैतिरबाट आइरहेको सुरक्षा चुनौती हो। अर्को कारण हुथी विद्रोहीले विकास गरेको आक्रमणको नयाँ तरिका र त्यसमा इरानको सहयोग हो।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) का अनुसार साउदी अरबले गत वर्ष मात्रै रक्षामा ८३ अर्ब अमेरिकी डलर खर्च गरेको थियो। यो खर्चका आधारमा ऊ विश्वका सबभन्दा धेरै सैन्य खर्च गर्ने १० देशमध्ये पर्छ।
साउदी अरबसँग अमेरिकामा बनेका लडाकू विमान छन्। क्षेप्यास्त्र रोक्न प्याट्रियट र थाडजस्ता अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली पनि छन्। फ्रान्स र बेलायतबाट खरिद गरिएका आधुनिक हतियारसमेत छन्।
तर समस्या हतियारको अभाव मात्र होइन।
साउदी अरबको क्षेत्रफल अमेरिकाको क्षेत्रफलको करिब पाँच भागको एक भागजति छ। यति ठूलो भूभागमा फैलिएका तेल उद्योग, विमानस्थल, पाइपलाइन, सहर र अन्य महत्त्वपूर्ण संरचनालाई एकैपटक जोगाउन सजिलो छैन।
त्यसमाथि उसले तीन दिशाबाट सुरक्षा चुनौती सामना गरिरहेको छ।
पूर्वबाट इरानको खतरा छ। यस वर्ष इरानसँगको द्वन्द्व सबभन्दा चर्किएको समयमा इरानले साउदी अरबका विभिन्न लक्ष्यमा करिब एक हजार क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो।
उत्तरबाट इराकमा सक्रिय इरानसमर्थित सशस्त्र समूहहरूले आक्रमण गरिरहेका छन्। उनीहरूले साउदी अरबको पूर्वदेखि पश्चिमसम्म फैलिएको महत्त्वपूर्ण तेल पाइपलाइनलाई ड्रोनमार्फत निशाना बनाएका छन्।
दक्षिणबाट यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरिरहेका छन्। उनीहरूले यमनका पहाडमा बनाइएका आश्रयस्थल र एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने प्रक्षेपण उपकरण प्रयोग गर्छन्।
सिएनएनका अनुसार साउदी अरबको चुनौती रियाद वा एउटा तेल प्रशोधन केन्द्र मात्रै जोगाउनु होइन। देशभर छरिएका महत्त्वपूर्ण संरचनालाई एकैसाथ सुरक्षित राख्नु हो।
कुन दिशाबाट क्षेप्यास्त्र आउँदै छ भन्ने पत्ता लगाउने, कुन क्षेप्यास्त्रलाई बीचमै नष्ट गर्ने भन्ने निर्णय लिने र नागरिकलाई सावधान गराउने काम केही क्षणभित्रै गर्नुपर्छ।
साउदी अरबको आर्थिक रूपान्तरणबारे अध्ययन गर्ने स्वतन्त्र वेबसाइट 'भिजन २०३० डट एआई' ले पनि यही चुनौती औंल्याएको छ।
साउदी अरबले हुथीका धेरै क्षेप्यास्त्र र ड्रोन आकाशमै नष्ट गरिरहेको छ। केही भने सुरक्षा घेरा पार गरेर लक्ष्यसम्म पुगिरहेका छन्।
सिएनएनसँग कुरा गरेका एक साउदी स्रोतका अनुसार देशभर यति धेरै संरचना आक्रमणको जोखिममा रहेकाले उपलब्ध प्रतिरक्षा प्रणाली कहाँ र कति राख्ने भन्ने निर्णय नै कठिन बनेको छ।
हुथी विद्रोही कसरी यति शक्तिशाली भए?
हुथी विद्रोहीको आक्रमण गर्ने क्षमता पहिलेभन्दा निकै बढेको छ।
उनीहरूले एउटै आक्रमणमा विभिन्न प्रकारका क्षेप्यास्त्र र ड्रोन प्रयोग गर्न थालेका छन्।
सिएनएनका अनुसार हुथीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र लामो दूरीसम्म पुग्न सक्ने ड्रोनलाई एकैसाथ प्रयोग गर्छन्।
यसरी धेरै किसिमका हतियार एकै पटक प्रहार गर्दा प्रतिरक्षा प्रणालीलाई सबै लक्ष्य पहिचान गर्न र रोक्न कठिन हुन्छ।
यो तरिका रूसले युक्रेनविरूद्ध अपनाएको रणनीतिसँग मिल्दोजुल्दो छ। रूसले पनि युक्रेनमा ठूलो संख्यामा ड्रोनसँगै क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गर्दै आएको छ।
यी हतियारको उड्ने तरिका पनि फरक हुन्छ।
क्रुज क्षेप्यास्त्र तुलनात्मक रूपमा कम उचाइमा उड्छ। त्यसैले यसलाई पहिचान गर्न र पछ्याउन कठिन हुन्छ।
हुथी विद्रोहीले नयाँ पुस्ताका ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गर्न थालेका छन्। ती क्षेप्यास्त्रले उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने उनीहरूको दाबी छ।
कुनै पनि हवाई प्रतिरक्षा प्रणालीले आफूतर्फ आउने शतप्रतिशत क्षेप्यास्त्र रोक्ने सुनिश्चितता दिन सक्दैन। तर हुथी विद्रोहीको क्षमता यसरी बढ्नुमा उनीहरूको आफ्नै प्रयास मात्रै छैन।
सिएनएनले संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्रतिवेदन उद्धृत गर्दै हुथीहरूलाई इरानबाट लामो समयदेखि सैन्य सहयोग प्राप्त भइरहेको उल्लेख गरेको छ।
आठ वर्षअघि संयुक्त राष्ट्रसंघका विज्ञहरूले यमनमा इरानी मूलका क्षेप्यास्त्रका अवशेष, सैन्य उपकरण र ड्रोन फेला पारेका थिए।
यमनमा अन्तर्राष्ट्रिय हतियार प्रतिबन्ध लागू हुँदाहुँदै पनि ती उपकरण त्यहाँ पुगेका थिए।
दुई वर्षअघिको अर्को प्रतिवेदनमा विज्ञहरूले हुथीहरूलाई बाह्य स्रोतबाट उपलब्ध गराइएको सैन्य सामग्री, प्रविधि, आर्थिक सहयोग र लडाकूहरूको तालिमको स्तर असाधारण रहेको बताएका थिए।
सैन्य विज्ञहरूका अनुसार हुथीले प्रयोग गर्ने हाटेम–२ र प्यालेस्टाइन–२ नामका नयाँ क्षेप्यास्त्रको डिजाइन इरानी क्षेप्यास्त्रसँग निकै मिल्दोजुल्दो छ।
यी क्षेप्यास्त्र तीव्र गतिमा उड्ने र लक्ष्यमा सटिक प्रहार गर्न सक्ने खालका छन्।
गत वर्ष हुथीले प्रहार गरेको एउटा क्षेप्यास्त्रले इसराइलको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली पार गर्दै बेन गुरियन विमानस्थल नजिकै प्रहार गरेको थियो।
त्यति बेला सैन्य विश्लेषक अमिर बार सालोमले सिएनएनसँग भनेका थिए, 'उनीहरूको प्रहार निकै सटिक थियो। दुई हजार किलोमिटर टाढाबाट क्षेप्यास्त्र प्रहार गरेर त्यति सटिक रूपमा लक्ष्यमा पुर्याउनु प्रभावशाली कुरा हो।'
यमनको सरकारी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल माजेद अल–नाजिलीका अनुसार हुथीहरूले इरानी हवाई प्रतिरक्षा हतियारलाई विमान र क्रुज क्षेप्यास्त्रविरूद्ध प्रयोग गर्न सकिने गरी परिमार्जन गरेका छन्।
उनले गत महिना ती क्षेप्यास्त्र २५ मिनेटसम्म सक्रिय रहन सक्ने र तापका आधारमा लक्ष्य पछ्याउने प्रणालीबाट चल्ने बताएका थिए।
इरानको सहयोग छ, तर हुथीको आफ्नै स्वार्थ पनि
हुथी विद्रोहीलाई लामो समयदेखि इरानको समर्थन प्राप्त छ। उनीहरू इरान नेतृत्वको 'प्रतिरोधको धुरी' भनिने गठबन्धनको हिस्सा हुन्।
यो समूहमा लेबननको हिजबुल्लाह, प्यालेस्टाइनको हमास र इराकका विभिन्न सशस्त्र संगठनसमेत पर्छन्।
सिएनएनको विश्लेषण अनुसार इरानसमर्थित अन्य समूहहरू पछिल्ला द्वन्द्वमा कमजोर भएका छन्। तर हुथी विद्रोही झन् शक्तिशाली बन्दै गएका छन्।
इरानसँग उनीहरूको सम्बन्ध अहिले पनि बलियो छ। इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा समेत हुथीहरूले आफ्नो प्रतिनिधिमण्डल पठाएका थिए।
तर यसको अर्थ हुथीले इरानको आदेश मात्र मान्छन् भन्ने होइन।
उनीहरूको आफ्नै राजनीतिक र सैन्य स्वार्थ पनि छ।
सन् २०१५ देखि २०२२ सम्म साउदी अरब र हुथी विद्रोहीबीच चलेको सात वर्ष लामो युद्धले यमनमा ठूलो मानवीय क्षति पुर्याएको थियो।
विशेष गरी हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा सर्वसाधारणले ठूलो दुःख भोगेका थिए। युद्धपछि पनि आर्थिक तथा यातायात प्रतिबन्ध जारी रह्यो।
सिएनएनका अनुसार यही पृष्ठभूमिमा हुथीहरूले गत जुलाईमा लाल सागरमा साउदी जहाजहरूलाई आक्रमण गर्ने घोषणा गरेका थिए।
त्यसको केही समयपछि क्षेप्यास्त्र आक्रमण सुरू भयो।
सुरूका आक्रमण लाल सागरको किनारमा रहेको साउदी सरकारी तेल कम्पनी अराम्कोको प्रशोधन केन्द्र र साउदी हवाई सैनिक अड्डाहरूमा केन्द्रित थिए।
हुथी विद्रोहीको माग स्पष्ट छ।
यमनको सरकारी सेनालाई सघाउन साउदी अरबले गर्दै आएको हवाई आक्रमण बन्द गर्नुपर्ने र युद्धबाट भएको क्षतिबापत अर्बौं डलर क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।
यसबीच इरानले साउदी अरब र हुथीबीच मध्यस्थता गर्न आफू तयार रहेको जनाएको छ।
सोमबार इरानी विदेशमन्त्री अब्बास अराघचीले साउदी अरब र यमनबीच वार्ता सुरू गराउन आवश्यक सबै सहयोग गर्न इरान तयार रहेको बताएका थिए।
यद्यपि इरानको यो प्रस्ताव कति गम्भीर छ भन्ने स्पष्ट छैन।
हुथीको राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल–बुखाइतीले सोमबार रियादले मध्यस्थताको प्रस्ताव स्वीकार गरेको दाबी गरेका थिए।
तर उनले दुई साता र एक महिनाका लागि युद्धविराम गर्ने प्रस्ताव आफूहरूले अस्वीकार गरेको बताए।
उनले चेतावनी दिँदै भने, 'यसपटकको लडाइँ पहिलेका लडाइँजस्तो छैन। युद्धको मैदान फेरिइसकेको छ। यो लडाइँ जति लम्बिन्छ, त्यसको दायरा त्यति नै फराकिलो हुनेछ र क्षति पनि बढ्नेछ। आज सम्भव भएको सम्झौता भोलि कठिन वा असम्भव हुन सक्छ।'
साउदी अरबलाई युद्ध मात्रै होइन, लगानी र पर्यटनको पनि चिन्ता
हुथी विद्रोहीसँगको द्वन्द्व बढिरहँदा पनि साउदी अरबले देशको अवस्था सामान्य छ भन्ने सन्देश दिन खोजिरहेको छ।
तर रियाद विमानस्थलमा भएका पछिल्ला आक्रमणले त्यो सन्देशलाई चुनौती दिएका छन्।
सिएनएनका अनुसार साउदी अरबको नागरिक सुरक्षा निकायले गत साता क्षेप्यास्त्र र ड्रोन आक्रमणबारे मोबाइल फोनमार्फत सार्वजनिक चेतावनी पठाउन बन्द गरेको थियो।
त्यसपछि रियाद विमानस्थलमा सर्वसाधारणको ज्यान जाने गरी आक्रमण भए। अहिले भने मोबाइलमार्फत चेतावनी दिन फेरि सुरू गरिएको छ।
रियादका केही बासिन्दाले सिएनएनसँग यस्तो जानकारी दिएका हुन्।
साउदी अधिकारीहरूका अनुसार सोमबार तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरिएको थियो।
रियादमा बस्ने एक विदेशी नागरिकले सिएनएनसँग आफ्ना बालबालिकालाई यस साता घरमै पढाइरहेको बताए।
उनले शनिबारसम्म क्षेप्यास्त्र आक्रमणको चेतावनी फोनमा नआएको भन्दै असन्तुष्टि जनाएका थिए। सोमबारदेखि भने चेतावनी प्रणाली प्रभावकारी रूपमा काम गर्न थालेको बताए।
विमानस्थलमा भएको आक्रमणबारे सप्ताहन्तभर साउदी अधिकारीहरू मौन बसेकोमा पनि उनी असन्तुष्ट थिए।
सिएनएनले चेतावनी प्रणाली बन्द गरिएको विषयमा साउदी अधिकारीहरूसँग प्रतिक्रिया मागेको जनाएको छ।
अब साउदी अरबका अगाडि कठिन विकल्प छन्।
एउटा विकल्प हुथी विद्रोहीसँग वार्ता गरेर तनाव घटाउने हो। अर्को विकल्प थप शक्तिशाली सैन्य आक्रमण गरेर उनीहरूलाई कमजोर बनाउने हो।
तर यी दुवै विकल्प सजिला छैनन्।
विमानस्थलमा भएको आक्रमणमा दर्जनभन्दा बढी सर्वसाधारण मारिएका बेला हुथीहरूसँग सम्झौता गर्नु साउदी नेतृत्वका लागि राजनीतिक रूपमा असहज हुन सक्छ।
अर्कातर्फ, हवाई आक्रमण अझ तीव्र बनाउँदा हुथीले थप क्षेप्यास्त्र प्रहार गर्ने जोखिम छ।
यसले साउदी अरबको आर्थिक भविष्यलाई नै असर पार्न सक्छ।
साउदी युवराज मोहम्मद बिन सलमान आफ्नो देशलाई विश्वस्तरीय लगानी, प्रविधि र पर्यटन केन्द्र बनाउने योजनामा छन्। त्यसका लागि साउदी अरबले तेलमा आधारित अर्थतन्त्रबाट बाहिर निस्किएर नयाँ उद्योग र पूर्वाधारमा ठूलो लगानी गरिरहेको छ।
तर सिएनएनका अनुसार हुथीको आक्रमणको जोखिम तेल उद्योगमा मात्रै सीमित छैन। डाटा सेन्टर, समुद्री पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउने केन्द्र र विमानस्थल पनि सम्भावित निशानामा छन्।
यी संरचना साउदी अरबको प्रविधि विकास, खानेपानी आपूर्ति र पर्यटन अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छन्।
त्यसैले निरन्तरको आक्रमणले साउदी अरबको दीर्घकालीन आर्थिक योजनामै असर पार्न सक्छ।
यसै महिनाको अन्त्यतिर रियादमा युवराज बिन सलमानको प्रमुख अन्तर्राष्ट्रिय लगानी कार्यक्रम हुँदै छ। त्यहाँ उनले विदेशी लगानीकर्तासामु साउदी अरबको भविष्यको योजना प्रस्तुत गर्नेछन्।
तर सुरक्षाको वातावरणले लगानीकर्ताको विश्वासमा असर पार्न थालिसकेको संकेत देखिएको छ।
सिएनएनका अनुसार यसै साता रियादमा भएको विश्व पेट्रोलियम सम्मेलनमा ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुन हिचकिचाएका थिए।
हुथीलाई सैन्य शक्तिबाट हराउन किन कठिन छ?
साउदी अरबले हुथी विद्रोहीविरूद्ध स्थलमार्गबाट ठूलो सैन्य कारबाही गर्न पनि सक्छ।
तर त्यसबाट निर्णायक विजय प्राप्त हुने सम्भावना निकै कम देखिन्छ।
सिएनएनको विश्लेषण अनुसार हुथी विद्रोही यमनको पहाडी भूगोलमा बलियोसँग स्थापित छन्। उनीहरूले लामो समय युद्ध लडेका छन् र त्यहाँको भौगोलिक अवस्था राम्ररी बुझेका छन्।
पछिल्लो एक महिनामा उनीहरूले यमनको सरकारी सेनालाई ठूलो क्षति पुर्याएका छन्।
हुथीलाई पराजित गर्न कठिन हुने कुरा अमेरिकी सैन्य कारबाहीले पनि देखाइसकेको छ।
गत वर्ष अमेरिकाले हुथीविरूद्ध सात साता लामो हवाई आक्रमण गरेको थियो। त्यसमा एक अर्ब डलरभन्दा बढी खर्च भएको थियो।
अन्ततः हुथीहरूले लाल सागरमा अमेरिकी जहाजहरूमाथि आक्रमण नगर्ने सहमति गरे।
तर उनीहरूको सैन्य संगठन कायम रह्यो।
बरू त्यसबीच हुथीहरूले अमेरिकाका अत्याधुनिक रिपर ड्रोनसमेत खसाले।
अमेरिका र इसराइलका हवाई आक्रमणबाट हुथीका केही सैन्य कमान्डर र प्राविधिक जनशक्ति मारिए पनि समूहको शीर्ष नेतृत्वलाई समाप्त पार्न सकिएको छैन।
हुथी विद्रोहीसँग अहिले ३ लाख ५० हजारसम्म सशस्त्र लडाकू हुन सक्ने अनुमान छ।
उनीहरू कमजोर हुनुको सट्टा यमनभित्र थप आक्रामक अवस्थामा पुगेका छन्।
सिएनएनले इन्स्टिच्युट फर द स्टडी अफ वारको सोमबारको विवरण उद्धृत गर्दै हुथी विद्रोहीले यमनको तेस्रो ठूलो सहर ताइजलाई चारैतिरबाट घेरिसकेको जनाएको छ।
ताइज सरकारी सेनाको नियन्त्रणमा रहेको र सैन्य तथा सामान ढुवानीका हिसाबले महत्त्वपूर्ण सहर हो।
यसले पनि हुथी विद्रोहीलाई सैन्य शक्तिबाट छिट्टै पराजित गर्न कठिन हुने देखाउँछ।
साउदी अरबले सहयोगी देशको साथ खोज्दै
हुथीका निरन्तर आक्रमणपछि साउदी अरबले अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास तीव्र पारेको छ। उसले हुथीविरूद्ध अन्तर्राष्ट्रिय गठबन्धन बनाउन खोजिरहेको छ।
क्षेत्रीय सहयोगी देशहरूले हवाई प्रतिरक्षाका लागि सहयोग गर्ने प्रस्ताव गरेका छन्।
सिएनएनका अनुसार पाकिस्तानले साउदी अरबको सुरक्षामा सहयोग गर्न हजारौं सैनिक पठाएको छ।
इजिप्टले पनि साउदी अरबले मागेअनुसार सहयोग गर्ने प्रस्ताव गरेको छ। साउदी अरबले अमेरिका र युरोपबाट थप हवाई प्रतिरक्षा प्रणाली खरिद गर्न पनि सक्छ। किनभने, इरानसँग द्वन्द्व सुरू हुँदा प्राप्त भएका प्रतिरक्षा हतियारहरूको मौज्दात घटिसकेको छ।
तर यहाँ पनि समस्या छ।
अमेरिकासँगै यस्ता हतियार पर्याप्त मात्रामा उपलब्ध छैनन्।
अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदन अनुसार इरानविरूद्धको सैन्य अभियानले अमेरिकाको रणनीतिक हतियार मौज्दातमा कमी ल्याएको छ।
त्यस्तै, प्रयोग भइसकेका हतियारको ठाउँमा नयाँ उत्पादन गरेर आपूर्ति गर्ने औद्योगिक क्षमतामा पनि समस्या देखिएको छ।
यसको अर्थ साउदी अरबले पैसा तिरेर किन्न चाहे पनि आवश्यक सबै प्रतिरक्षा प्रणाली तत्काल उपलब्ध नहुन सक्छन्।
अर्कातर्फ, अमेरिकाको राजनीतिक परिस्थिति पनि साउदी अरबका लागि सहज छैन।
अमेरिकामा मध्यावधि निर्वाचन हुन करिब तीन साता बाँकी छ। राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको अर्को सैन्य द्वन्द्वमा अमेरिका प्रत्यक्ष रूपमा फस्न नचाहेको सिएनएनले जनाएको छ।
हुथी विद्रोहीविरूद्ध अमेरिकी सेना आफैले आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा ट्रम्पले स्पष्ट निर्णय दिएका छैनन्।
यद्यपि उनले त्यस्तो सम्भावनालाई पूर्ण रूपमा अस्वीकार पनि गरेका छैनन्।
वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका माइकल र्याट्नीका अनुसार अमेरिकी हिचकिचाहटले साउदी अरबमा नकारात्मक सन्देश दिइरहेको छ।
र्याट्नी साउदी अरबका लागि पूर्वअमेरिकी राजदूतसमेत हुन्।
उनले भनेका छन्, 'अमेरिका संलग्न हुन अनिच्छुक देखिँदा साउदी अरबलाई सबैभन्दा बढी सहयोग चाहिएको बेलामा अमेरिकाले आफ्नो साझेदारलाई छाडिदिएको धारणा बलियो हुन्छ।'
रियाद विमानस्थलमा आक्रमण हुनुअघि लेखेको एक विश्लेषणमा र्याट्नीले साउदी अरबका अगाडि अन्ततः कूटनीतिक समाधानबाहेक अर्को व्यावहारिक बाटो नरहन सक्ने संकेत गरेका थिए।
उनका अनुसार आक्रमण भइरहेको अवस्थामा साउदी अरबले राजनीतिक रूपमा जवाफी कारबाही गर्नुपर्ने दबाब महसुस गर्छ।
तर अन्त्यमा फेरि वार्तामै फर्किनुपर्ने अवस्था आउन सक्छ।
उनले लेखेका छन्, 'साउदी अरबमाथि आक्रमण भइरहेको छ। राजनीतिक रूपमा उसले जबाफ दिनैपर्छ। तर अन्ततः हामीले फेरि कूटनीतिक प्रयास हुने अपेक्षा गर्नुपर्छ। त्यो कूटनीति अपूर्ण र असन्तोषजनक हुन सक्छ, तैपनि त्यसले द्वन्द्व कम गर्न सक्छ।'
यसरी हेर्दा साउदी अरबका अगाडि सजिलो बाटो देखिँदैन।
युद्ध थप चर्काउँदा हुथीका क्षेप्यास्त्र र ड्रोनले अझ ठूलो क्षति पुर्याउन सक्छन्। यसले साउदी अरबले विश्वसामु प्रस्तुत गर्न खोजेको सुरक्षित र आकर्षक लगानी गन्तव्यको छविमा चोट पुर्याउन सक्छ।
उता, वार्ता गरेर द्वन्द्व कम गर्दा हुथी विद्रोही यमनमा आफ्नो नियन्त्रण कायमै राखेर अझ बलियो अवस्थामा पुग्न सक्छन्।
अन्ततः साउदी अरबका लागि प्रश्न अब थप कति अर्ब डलर खर्च गर्ने भन्ने मात्रै रहेन।
प्रश्न हो — त्यति धेरै पैसा खर्च गरेर बनाइएको शक्तिशाली सैन्य सुरक्षा घेराले पनि देशका महत्त्वपूर्ण संरचना सुरक्षित गर्न नसकिरहेका बेला यो युद्धबाट बाहिर निस्कने बाटो के हो?
***