प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुन आवश्यक रहेको बताएका छन्।
बुधबार विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन्।
उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गरेका छन्। इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा रहेका विकृति हटाउन मद्दत गर्ने उनको भनाइ छ।
‘विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ,’ उनले भनेका छन्, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ।’
प्रधानमन्त्री शाहले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा उल्लेख गर्दै उनले यस पर्वले समाजमा सद्भाव, एकता, सम्मान र प्रेम बढाउन प्रेरित गर्ने बताएका छन्।
उनले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न विजयादशमीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा पनि यस पर्वलाई लिएको उनको भनाइ छ।
अन्त्यमा उनले सबैलाई आआफ्नो ठाउँ र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन्।