दक्षिण कोरियासँगको सम्बन्ध थप बिग्रँदै गएपछि उत्तर कोरियाले सीमाभरि ठूल्ठूला लाउडस्पिकर केही दिनभित्र पुनः सञ्चालन गर्ने तयारी गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनका शक्तिशाली बहिनी किम यो जोङले सीमा क्षेत्रको निरीक्षण गरेपछि यस्तो बताएकी हुन्।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले बिहीबार उनको भनाइ सार्वजनिक गरेको हो। त्यसको एक दिनअघि उनले अक्टोबर महिनाभित्र सीमाभरि लाउडस्पिकर सञ्चालनमा ल्याइने बताएकी थिइन्।
उत्तर र दक्षिण कोरियाले विगतदेखि नै सीमापार प्रचारप्रसारका लागि ठूला लाउडस्पिकर प्रयोग गर्दै आएका छन्। द गार्डियनका अनुसार पछिल्ला वर्षहरूमा उत्तर कोरियाले लाउडस्पिकरबाट डरलाग्दा जनावरका आवाज प्रसारण गर्ने गरेको थियो भने दक्षिण कोरियाले के-पप संगीत र उत्तर कोरियाको आलोचना गरिएका समाचार प्रसारण गर्दै आएको थियो।
यदि प्रसारण पुनः सुरू भएमा १६ महिनापछि दुई देशबीच सीमापार लाउडस्पिकरको प्रयोग पुनः सुरू हुनेछ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पदभार सम्हालेको केही दिनपछि नै सन् २०२५ जुनमा उत्तर कोरिया सँगको तनाव कम गर्ने उद्देश्यले दक्षिणतर्फबाट हुने प्रसारण बन्द गरेका थिए। त्यसै वर्षको अगस्टमा दक्षिण कोरियाली सेनाले लाउडस्पिकर हटाएको थियो।
बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताले उत्तर कोरियाले प्रसारण सुरू गरेमा त्यसअनुसार जवाफी कदम चाल्नुपर्ने बताए। तर, यसबारे कुनै निर्णय भइनसकेको उनले स्पष्ट पारे।
दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुखहरूको कार्यालयले किम यो जोङको भनाइ सार्वजनिक हुनुअघि नै उत्तर कोरियाका लाउडस्पिकरमा नियमित मर्मतसम्भार भइरहेको देखिएको जनाएको छ।
गत सेप्टेम्बरमा सैन्य सीमारेखाको दक्षिणतर्फ भएको बारूदी सुरूङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई देशबीचको तनाव थप बढेको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर थियो।
सोल र सन् १९५३ मा कोरियाली युद्ध अन्त्य नभए पनि युद्धविराम गराउने सम्झौताको निगरानी गर्ने संयुक्त राष्ट्रसंघीय कमान्डले उक्त विस्फोट उत्तर कोरियाले बिछ्याएको व्यक्ति मार्न वा घाइते बनाउन प्रयोग गरिने बारूदी सुरूङका कारण भएको निष्कर्ष निकालेका थिए। उनीहरूले यसलाई युद्धविराम सम्झौताको उल्लंघनसमेत ठहर गरेका थिए।
तर, प्योङयाङले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै यसलाई ‘आफैँले रचेको नाटक’ भनेको थियो।
लाउडस्पिकर पुनः सञ्चालन गर्ने चेतावनीसँगै उत्तर कोरियाले सीमाक्षेत्रमा आफ्नो सुरक्षा संरचना बलियो बनाउने कामलाई पनि तीव्रता दिएको छ।
किम जोङ उनले सन् २०२३ डिसेम्बरमा दुई कोरियालाई ‘एकअर्काप्रति शत्रूतापूर्ण दुई राज्य’ घोषणा गरेयता उत्तर कोरियाले सीमाक्षेत्रमा बारूदी सुरूङ बिछ्याउने, काँडेतार लगाउने र ट्यांक रोक्न प्रयोग गरिने अवरोधहरू निर्माण गर्ने काम गर्दै आएको छ।
बुधबार किम यो जोङले उत्तर कोरियाको रक्षा मन्त्रालयका सल्लाहकार तथा मार्सल पाक जोङ चोनसँगै सीमाक्षेत्रका विभिन्न सुरक्षा संरचनाको निरीक्षण गरेकी थिइन्।
सीमाक्षेत्रलाई अझ स्पष्ट रूपमा छुट्याएर पहिलेभन्दा बलियो किल्लामा परिणत गरिएको उनले बताइन्। उनका अनुसार किम जोङ उनले उक्त सीमालाई ‘कहिल्यै पार गर्न नहुने स्थायी रेखा’ बनाउन निर्देशन दिएका छन्।
दक्षिण कोरियाका अनुसार सीमाक्षेत्रमा निर्माण कार्य भइरहेका बेला उत्तर कोरियाली सैनिकहरू दुई देशबीचको २५० किलोमिटर लामो सैन्य सीमारेखा पटक-पटक पार गर्ने गरेका छन्। त्यसपछि दक्षिण कोरियाली सैनिकहरूले लाउडस्पिकरबाट चेतावनी दिने र चेतावनीस्वरूप गोली चलाउने गरेका छन्।