फ्रान्समा बढ्दो महँगी र आर्थिक असमानताविरुद्ध शनिबार देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्।
अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझ पर्दै जाँदा राजधानी पेरिस, दोस्रो ठूलो सहर मार्सेलीसहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभरका प्रदर्शनमा ४ लाख १० हजार मानिसहरू सहभागी भएका थिए। तर मजदुर युनियनहरूले प्रदर्शनमा सहभागी हुनेको संख्या मन्त्रालयले सार्वजनिक गरेको भन्दा दोब्बर रहेको दाबी गरेका छन्।
पेरिसको दक्षिणपूर्वी क्षेत्रमा भएको मुख्य प्रदर्शनमा मात्रै कम्तीमा एक लाख १० हजार मानिस सहभागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनीहरूले बढ्दो जीवनयापन खर्च र समाजमा गहिरिँदै गएको आर्थिक असमानताविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शन सकिएपछि भने अवस्था तनावपूर्ण बनेको थियो।
हुड लगाएका करिब पाँच सय युवाको समूहलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
चिसो र वर्षाका बीच केही समय तनाव कायम रहे पनि पछि उक्त समूह तितरबितर भएको थियो।
फ्रान्सको दोस्रो ठूलो सहर मार्सेलीसमा युवाहरूले सडक अवरुद्ध गर्न फोहोरका डब्बामा आगो लगाएका थिए। उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगा र बोतल प्रहार गरेका थिए। प्रहरीले गहनाका पसलसहित केही पसलमा तोडफोड र लुटपाट भएको जनाएको छ।
लियोँ, बोर्डो, ग्रेनोबल, क्लेरमोन्ट-फेराँ, लिल, रेनेस, नान्ट र तुलुजमा पनि झडप भएको थियो।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गर्ने समूहहरू मुख्य जुलुसबाट अलग भएको बताएका छन्।
उनले अतिवामपन्थी कार्यकर्ता र आपराधिक समूहहरूले अशान्ति फैलाउन खोजेको आरोप लगाए।
'लगभग हरेक प्रदर्शनमा हामीले जोखिमपूर्ण समूहहरू बनेको देख्यौं। उनीहरू मुख्य जुलुसबाट अलग भएर हिंसात्मक गतिविधि गर्न खोजे,' नुनेजले भने।
गत साता भएको हिंसात्मक घटनापछि सरकारले यसपटक सुरक्षा व्यवस्था कडा बनाएको थियो।
देशभर ७० हजार प्रहरी र जाँदरम तैनाथ गरिएको थियो। यो अघिल्लो साताको तुलनामा १० हजार बढी हो।
गत अक्टोबर १७ मा भएको प्रदर्शनका क्रममा लुटपाट र तोडफोड व्यापक भएपछि सरकारले अशान्तिको स्तरलाई कम आँकेको स्वीकार गरेको थियो। नुनेजले यसपटकको हिंसा अघिल्लो साताको तुलनामा कम तीव्र रहेको बताए।
'यसपटक फरक के थियो भने हामीले परिस्थितिको पूर्वानुमान गरेका थियौँ,' उनले भने।
उनका अनुसार दक्षिणी सहर निस र मोन्टपेलियरमा दक्षिणपन्थी अतिवादी समूहले वामपन्थी समूहसँग भिडन्त गर्न खोजेका थिए। यसले फ्रान्समा जारी अशान्ति थप फैलिन सक्ने चिन्ता बढाएको छ।
पेरिसमा कडा सुरक्षा, पर्यटक र व्यवसायी प्रभावित
प्रदर्शन र अघिल्लो साताको तोडफोडलाई ध्यानमा राख्दै पेरिसको मध्यभागमा कडा सुरक्षा व्यवस्था गरिएको थियो।
पसलका सटर र सिसा जोगाउन व्यवसायीले काठका पाता लगाएका थिए। संग्रहालय र सांस्कृतिक संस्थाहरू बन्द गरिएका थिए भने मेट्रोका २० भन्दा बढी स्टेसन सञ्चालनमा थिएनन्।
अघिल्लो सप्ताहान्तमा फ्रान्सभर हजारौं पसल तथा व्यवसायमा क्षति पुगेको र लुटपाट भएको भन्दै व्यवसायीका संगठनहरूले यसपटक पनि पसल बन्द राख्न आग्रह गरेका थिए।
पेरिसस्थित किटोन ब्रान्डको बुटिकका व्यवस्थापक ओस्करले ग्राहक नै नआएकाले पसल खुला राख्नुको अर्थ नरहेको बताए।
लुभ्र, म्युजे द'ओर्से र पेरिस ओपेराजस्ता प्रसिद्ध सांस्कृतिक स्थल पनि सावधानीस्वरूप शनिबार बन्द गरिएका थिए। यसबाट पेरिस घुम्न आएका पर्यटक प्रभावित भए।
अमेरिकाको न्यु अर्लिन्सबाट आएका पर्यटक जेभियर डोलियोलले आफूहरू कहाँ जाने भन्ने अन्योलमा परेको बताए।
'सबैतिर काठका पाता लगाइएको छ। हामी कहाँ जाने भन्ने पनि निश्चित छैन,' उनले भने।
प्रदर्शनमा सहभागी कतिपयले सरकारले अघिल्लो साताको घटनालाई देखाएर अत्यधिक दमन गरेको आरोप लगाएका थिए। सरकारले लक्जरी पसल र रेस्टुरेन्टले भरिएको पेरिसको चर्चित शाँजेलिजे क्षेत्रमा गस्ती गर्न सैनिकसमेत परिचालन गरेको थियो।
२२ वर्षीया कला विषयकी विद्यार्थी क्लारा लेब्बादीले गरिबीमा परेका मानिसको अवस्थाभन्दा पसलमा भएको क्षतिलाई बढी महत्त्व दिइएको बताइन्।
'हामी पसलका लागि आँसु बगाउँछौं, तर वर्षभरि गरिब हुँदै गइरहेका मानिसका लागि होइन,' उनले भनिन्।
आर्थिक असन्तुष्टिबाट सुरु भएको प्रदर्शन युरोपभर फैलियो
फ्रान्समा जारी आन्दोलन गत महिना पेरिसको बाहिरी क्षेत्रमा विद्यालयको अवस्थाविरुद्ध विद्यार्थीहरूले गरेको सानो प्रदर्शनबाट सुरु भएको थियो।
तर त्यसपछि आन्दोलनले सरकारको आर्थिक नीतिविरुद्ध व्यापक रूप लिएको हो।
फ्रान्स विश्वका धनी राष्ट्रमध्ये एक भए पनि बढ्दो महँगी, आर्थिक असमानता र जीवनयापनको लागतप्रति असन्तुष्टि बढ्दै गएको छ। यही असन्तुष्टि अहिले सडक प्रदर्शनमा अभिव्यक्त भइरहेको छ।
आन्दोलनको प्रभाव छिमेकी मुलुकहरूमा समेत देखिएको छ। शनिबार बेल्जियमको राजधानी ब्रसेल्समा सरकारविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र खुर्सानीको धुलोयुक्त स्प्रे प्रयोग गरेको थियो।
इटालीका विभिन्न सहरमा लगातार दोस्रो सप्ताहान्त पनि प्रदर्शन भए। अल्बानियामा समेत प्रदर्शन भएको थियो।
पेरिसको प्रदर्शनमा सहभागी फ्रान्सका वामपन्थी नेता जिन-लुक मेलाँसोंले राष्ट्रपति इम्यानुएल म्याक्रोंले देशको सामाजिक असन्तुष्टि सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्। म्याक्रोंको राष्ट्रपतीय कार्यकाल अर्को वर्ष सकिँदै छ।
'अहिलेको अवस्था हेर्दा यो हरेक साता दोहोरिनेछ भन्ने कुरा उनले बुझ्नेछन् जस्तो लाग्छ। अझै पनि म्याक्रोंसँग झुक्ने समय छ। त्यसपछि उनीसँग बाहिरिने ढोकाबाहेक केही बाँकी रहनेछैन,' मेलाँसोंले भने।
यसैबीच, फ्रान्सको दक्षिणपन्थी दल नेसनल र्यालीले ओरलियाँ सहरमा पार्टी महाधिवेशन गरिरहेको थियो। उक्त दलकी प्रमुख नेतृ मारिन ले पेन हुन्। सोही सहरमा शनिबार प्रदर्शनकारीले उक्त दलविरुद्ध प्रदर्शन गरेका थिए। त्यहाँको पहिलो स्वीकृत जुलुस भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
गत शुक्रबार पेरिसको पश्चिमी क्षेत्रमा भएको गोलीकाण्डले पनि राजनीतिक तनाव बढाएको छ। इस्लामविरोधी घृणाबाट प्रेरित भएको आशंका गरिएका एक बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने १२ वर्षीया बालिकासहित चार जना घाइते भएका थिए।
पेरिसनजिकैको सेन्ट-डेनिसका मेयर तथा मेलाँसोंको फ्रान्स अनबोमिज पार्टीका सदस्य बाली बागायोकोले दक्षिणपन्थी शक्तिलाई चुनौती दिन आफूहरू सडकमा आएको बताए।
'हामी दक्षिणपन्थीहरूलाई उनीहरूकै अगाडि उभिएर हामी डराएका छैनौँ भन्न आएका हौं,' उनले भने।