अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आगामी चुनावमा समर्थन गरेका छन्।
तर ट्रम्पका निकट सल्लाहकारहरू भने नेतन्याहूबिनाको अर्को सरकारसँग काम गरेर मध्यपूर्वमा आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न सकिने सम्भावना खोजिरहेका छन्।
अमेरिकी अनलाइन एक्सियसका अनुसार इरानसँगको युद्ध, गजामा शान्ति योजना कार्यान्वयन र सिरिया तथा लेबननप्रतिको नीतिलाई लिएर ट्रम्प प्रशासनका उच्च अधिकारीहरू नेतन्याहूसँग असन्तुष्ट छन्।
उनीहरू इसराइलमा नयाँ सरकार बनेमा अमेरिकी योजनालाई अघि बढाउन सहज हुन सक्ने ठान्छन्।
इसराइलमा मंगलबार अक्टोबर २७ मा संसदीय चुनाव हुँदैछ।
चुनाव आउन नौ दिन बाँकी रहँदा अक्टोबर १८ मा ट्रम्पले नेतन्याहूलाई पुनः प्रधानमन्त्री बनाउन सार्वजनिक समर्थन जनाएका थिए।
उनले नेतन्याहूलाई ‘बलियो, साहसी र प्रतिभाशाली’ नेता भन्दै उनको जितका लागि आफूले पूर्ण समर्थन गरेको बताएका थिए।
तर ट्रम्पका कतिपय निकट सल्लाहकारले इसराइली चुनावमा हस्तक्षेप नगर्न उनलाई सुझाव दिएका थिए।
नेतन्याहूको विपक्षमा देखिएका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि उनलाई समर्थन गर्न अस्वीकार गरेका छन्।
'म नेतन्याहूमाथि आक्रमण गरिरहेको छैन। म उनलाई समर्थन पनि गरिरहेको छैन। अन्ततः राष्ट्रपतिको समर्थन नै महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ,' भान्सले पत्रकारहरूसँग भनेका थिए।
एक्सियसका अनुसार ट्रम्पका एक सल्लाहकारले नेतन्याहूसँगको राष्ट्रपतिको सम्बन्धलाई व्याख्या गर्दै भनेका छन्, 'उनी चिनेको शैतान हुन्।'
यसको अर्थ ट्रम्प नेतन्याहूसँगको सम्बन्धबाट असन्तुष्ट भए पनि उनलाई हटाएर आउने नयाँ नेतृत्वसँग काम गर्नु कस्तो हुन्छ भन्नेबारे अनिश्चित छन्।
ट्रम्पले नेतन्याहूबाहेक अरू कुनै इसराइली प्रधानमन्त्रीसँग काम गरेका छैनन् र विपक्षी नेताहरूलाई व्यक्तिगत रूपमा चिन्दैनन् भनेर पनि एक्सियसले लेखेको छ।
यद्यपि नेतन्याहूले चुनाव जितेमा वा नयाँ सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहेमा ट्रम्पले आफूले दिएको समर्थनलाई राजनीतिक प्रभावका रूपमा प्रयोग गर्न सक्ने अमेरिकी अधिकारीहरूको आकलन छ।
त्यसबाट नेतन्याहूलाई अमेरिकी योजनाअनुसार काम गर्न दबाब दिन सकिने उनीहरूको बुझाइ छ।
नेतन्याहू पराजित भएमा पनि ट्रम्पका लागि अवसर समाप्त नहुने उनीहरूको तर्क छ।
नयाँ सरकारका नेताहरूले पनि अमेरिकासँग राम्रो सम्बन्ध कायम राख्न चाहने भएकाले ट्रम्पले चुनावमा नेतन्याहूलाई समर्थन गरेको विषय केही समयमै गौण बन्न सक्ने उनीहरूको आकलन छ।
ट्रम्प प्रशासनभित्रको असन्तुष्टि विशेषगरी इरानसँगको युद्धपछि बढेको हो।
भान्ससहितका केही उच्च अधिकारीले युद्धअघि नेतन्याहूले ह्वाइट हाउसलाई दिएको आकलन गलत भएको ठानेका छन्।
त्यसले मध्यपूर्वमा अमेरिकी राष्ट्रपतिको लक्ष्य पूरा गर्न नेतन्याहू उपयुक्त साझेदार हुन् कि होइनन् भन्ने प्रश्न उठाएको हो।
ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर गजामा शान्ति योजना कार्यान्वयन गर्न नेतन्याहूले पर्याप्त तत्परता नदेखाएको भन्दै असन्तुष्ट छन्।
सिरियाका लागि अमेरिकी दूत टम बाराक पनि सिरियाली सरकारसँगको सम्बन्ध र त्यहाँ जारी इसराइली सैन्य कारबाहीप्रति नेतन्याहू सरकारको नीतिबाट सन्तुष्ट छैनन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र उनको टोलीको नेतन्याहूसँग तुलनात्मक रूपमा राम्रो सम्बन्ध छ। तर उनीहरू पनि लेबननको सरकारलाई बलियो बनाउन इसराइलले अझ बढी सहयोग गर्न सक्ने ठान्छन्।
पश्चिम किनारमा प्यालेस्टिनीमाथि हुने यहुदी बस्तीका बासिन्दाको आक्रमण रोक्न नेतन्याहूले पर्याप्त काम नगरेको भन्दै उनीहरू असन्तुष्ट छन्।
ट्रम्पको मध्यपूर्व रणनीतिमा गाजाको शान्ति योजना कार्यान्वयन गर्नु, इसराइल र लेबनन तथा सिरियाबीच सम्झौता गराउनु र अन्ततः इसराइल तथा साउदी अरबबीच ऐतिहासिक शान्ति सम्झौता गराउनु प्रमुख लक्ष्य हुन्।
तर नेतन्याहू इरानमाथि फेरि ठूलो सैन्य कारबाही अघि बढाउन चाहन्छन्। इसराइली चुनाव र अमेरिकाको मध्यावधि चुनाव सकिएपछि इरानमाथि अर्को ठूलो सैन्य कारबाहीमा सहभागी हुने कि नहुने भन्ने निर्णय ट्रम्पका लागि महत्त्वपूर्ण हुनेछ।
चुनावको नतिजाले त्यसको समय र निर्णयलाई प्रभावित गर्न सक्ने अमेरिकी अधिकारीहरूको आकलन छ।
इसराइलको चुनावी सर्वेक्षणले पनि नेतन्याहूका लागि चुनौती देखाएको छ।
शुक्रबार सार्वजनिक तीन प्रमुख टेलिभिजन च्यानलका सर्वेक्षणले उनको गठबन्धनले संसदमा बहुमत नल्याउने अनुमान गरेका छन्।
इसराइलको १२० सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ।
सर्वेक्षणहरूले नेतन्याहूको गठबन्धनले ५० सिट मात्रै जित्ने अनुमान गरेका छन्। यो उनको अहिलेको गठबन्धनसँग रहेको सिटभन्दा १७ कम हो।
उनको लिकुड पार्टीले अहिलेको ३२ सिटबाट घटेर २० सिट मात्रै पाउने अनुमान गरिएको छ।
पूर्वसैनिक प्रमुख गादी आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ५२ देखि ५६ सिट पाउने अनुमान छ। दुई अरब इजरायली दलले थप १४ देखि १६ सिट जित्न सक्ने सर्वेक्षणमा देखिएको छ। तर विपक्षी गठबन्धनले पनि स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन।
आइसेनकोटले अरब इसराइली दललाई आफ्नो गठबन्धनमा सहभागी नगराउने बताउँदै आएका छन्। उनीहरूलाई बाहिरैबाट समर्थन गर्न लगाएर अल्पमतको सरकार बनाउने विकल्पमा पनि उनका सम्भावित साझेदारहरूबीच सहमति छैन। नेतन्याहू र विपक्षीबीच संयुक्त सरकार बन्ने सम्भावना पनि न्यून छ।
कुनै पक्षले बहुमत जुटाउन नसकेमा इसराइलमा फेरि चुनाव हुन सक्छ। त्यसो भए नेतन्याहू कामचलाउ प्रधानमन्त्रीका रूपमा सत्तामा रहिरहन सक्छन्।
यसरी ट्रम्पले नेतन्याहूलाई चुनावमा समर्थन गरे पनि त्यसले इसराइलमा स्थिर सरकार बन्ने वा अमेरिकी मध्यपूर्व रणनीति अघि बढ्ने सुनिश्चित गर्दैन।
बरु कमजोर गठबन्धनसहित नेतन्याहू सत्तामा कायम रहने वा लामो राजनीतिक गतिरोध उत्पन्न हुने अवस्थाले ट्रम्पका योजनालाई थप जटिल बनाउन सक्ने एक्सियसले लेखेको छ।