नेपाली कांग्रेस संस्थापनइतर पक्षले शनिबार बैतडी जिल्ला अधिवेशन उद्घाटन गरे।
बन्द सत्रपछि सहमतिमै आज नेतृत्व चयनको प्रयास भइरहेको नेता जनक भट्टले जानकारी दिए।
‘जिल्ला सभापतिलगायत पदमा आकांक्षी धेरै हुनुहुन्छ, हामी छलफलमै छौं, सहमतिमै नेतृत्व चयन गर्ने तयारी छ,’ उनले सेतोपाटीसँग भने।
उनकाअनुसार सुदूरपश्चिममा अहिलेसम्म डोटीमा मात्र जिल्ला अधिवेशन गरी नेतृत्व चयन गरेको अवस्था छ।
डोटी सभापति बाजीसिंह खड्का (विजय) चयन भएका थिए। सुदूरपश्चिमका अरू जिल्लाहरूमा अधिवेशन हुनै बाँकी छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले ल्याएको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार जिल्ला अधिवेशन कात्तिक १५ गते तय छ।
तर एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाहरूमा भने कार्यतालिकाभन्दा अघि नै धमाधम अधिवेशनहरू भइरहेका छन्।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर जिल्ला संयोजकहरू तोक्दै वडादेखि विभिन्न तहका अधिवेशन गर्दै आएको छ।
१५ औं महाधिवेशन तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलका अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाहरूमा धमाधम अधिवेशन भइरहेका छन्।
‘एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका ३५ जिल्लामध्ये अहिलेसम्म २२ जिल्लामा अधिवेशन भएर नेतृत्व चयन भइसकेको अवस्था छ, बाँकी केही जिल्ला अधिवेशन अहिले भइरहेका छन् भने दुई र दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा कात्तिक १५ गते अधिवेशन हुनेछ,’ उनले भने।
देउवा पक्षले सर्वसहमतिमै नेतृत्व चयनलाई प्राथमिकता दिइएको बताएको छ। वडा, पालिका, प्रदेश र प्रतिनिधि सभा कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयनमा पनि खासै निर्वाचन भएको छैन। कुनै कुनै क्षेत्रमा भने महाधिवेशन प्रतिनिधि पुर्याउन धौ-धौ परेको छ।
देउवा पक्षले १४ औं महाधिवेशनका पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधि सभा र प्रदेश सभा सांसद तथा २०७९ को स्थानीय चुनावमा रूख चिह्नबाट जितेका उम्मेदवार स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ।
नेपाली कांग्रेस संस्थापनले भने १५ औं महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिसकेको अवस्था छ। संस्थापन पक्षले जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको हो।
तर देउवा पक्षले मातहत सबै अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। प्रदेश अधिवेशन मंसिर ४ गते हुने र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारीमा देउवा पक्ष छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। साउनमा भएको देउवा पक्षको सम्मेलनले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार देउवाको निर्देशनमा पूर्वमहामन्त्रीसमेत रहेका संयोजक शशांक कोइरालाले अधिवेशनका काम अघि बढाउने समझदारी थियो।
विधानअनुसार अब देउवा सभापति उम्मेदवार हुन पाउँदैनन्। देउवा पक्षको अधिवेशनमा सहमतिमै नेतृत्व चयन हुन्छ कि प्रतिस्पर्धा भन्ने यकिन भइसकेको छैन। नेतृत्वका आकांक्षी नेताहरू पनि यसबारे अहिलेसम्म मौन देखिन्छन्।