राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रास्वपा संघीयता विरोधी पार्टी नभएको बताएका छन्।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए।
प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजाने उनले बताए।
‘हामी संघीयताको विरोधी होइनौं, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरूस्त बनाउन चाहन्छौँ। हामी प्रदेशसभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ। संघीयताका बारेमा यसमा थप व्याख्या गर्न आवश्यक छैन। हामी एकजुट हुन आवश्यक छ। आफ्नै–आफ्नै बीचमा झगडा गर्न थालियो भने, एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने, हामी कही पुग्न सक्दैनौं। हामीले एउटा सुसंस्कृत राजनीतिक अभ्यास, अध्ययन, विचार र संस्कारमा आधारित राजनीति गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भने।
मधेसमा गत निर्वाचनमा रास्वपाले अत्याधिक मत पाएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन उनले आग्रह गरेका थिए।
मधेसी समुदायका बीचमा आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए।
अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको उनको भनाइ छ।
- न्युज एजेन्सी नेपाल