नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय सीमा बाहिर गएर नेपाल-भारत सम्बन्धबारे अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।
नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै हमालले फेसबुकमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम राख्न आग्रह गरेका छन्।
हमालले सोमबार आफ्नो फेसबुकमा यस्तो टिप्पणी गरेका हुन्।
उनले 'अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको' उल्लेख गर्दै यस्ता टिप्पणीले नेपालको लामो समयदेखिको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधारलाई प्रभावित पार्न सक्ने बताएका छन्।
'अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ। उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ,' हमालले लेखेका छन्, 'यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहास समेत गर्छ।'
उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्व स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउन आवश्यक भए पनि त्यसका लागि नेपालको राष्ट्रिय हित र स्वाभिमानमा सम्झौता गर्न नहुनेमा जोड दिएका छन्।
अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित 'एनडिटिभी वर्ल्ड समिट २०२६' मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका थिए।
उनको भनाइ थियो, 'कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो, तर अहिले त्यो युग सकिएको छ।'
उनले नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको तथा दुवै देश एकअर्कासँग दृढ रूपमा जोडिएको पनि बताएका थिए।
नेपाली चलचित्र क्षेत्रका 'महानायक' भनिने हमालका बुवा कुटनीतिज्ञ थिए। उनका बुबा चुडाबहादुर हमालले परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदा भारत, तत्कालीन सोभियत संघ र थाइल्यान्डको कूटनीतिक नियोगमा काम गरेका थिए। उनी पाकिस्तानका लागि राजदूत पनि भएका थिए।
राजेश हमालले फेसबुकमा गरेको टिप्पणी —
अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ। उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ।
यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहास समेत गर्छ।
नेपालको परराष्ट्र नीति सधैं राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र चिरस्थायी सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वविवेक वा राजनीतिक स्वार्थ अनुसार चल्ने विषय बन्नु हुँदैन।
कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्ना अभिव्यक्ति वा सर्तहरूमार्फत यी आधारभूत मान्यतामा सम्झौता गर्नु हुँदैन, जसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई कमजोर पारोस्।
नेपाल–भारत सम्बन्ध सधैं भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर रहेको छ। यो सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक र आवश्यक दुवै हो।
हाम्रो सम्बन्धका यी पक्षहरूले हामीलाई अन्य कुनै पनि दुई राष्ट्रबीचको सम्बन्धभन्दा विशिष्ट रूपमा एकअर्कासँग जोड्छन्। त्यसैले यस देशको नागरिकका रूपमा म हाम्रा निकट छिमेकीसँगको सम्बन्ध अझ बलियो बनाउन गरिने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्छ भन्ने दृढ विश्वास राख्छु।
तर सँगसँगै हाम्रा प्रतिनिधिहरूले उचित कूटनीतिक विवेक प्रयोग गरून् र हाम्रो राष्ट्रिय अडानलाई त्यसको गरिमा र सन्तुलन कायम राख्दै प्रस्तुत गरून् भन्ने अपेक्षा पनि हामी गर्छौं।
नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा यति महत्त्वपूर्ण र रणनीतिक रूपमा यति संवेदनशील छ, यसलाई व्यक्तिगत चाकरीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने टिप्पणीहरूमा सीमित गर्न मिल्दैन।
हाम्रो सम्बन्ध बलियो आधारमा स्थापित भए पनि यससँग हाम्रो आफ्नै ऐतिहासिक अनुभव, समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयहरू पनि जोडिएका छन्। त्यसैले वर्तमान सरकारले आफ्नो धारणा स्पष्टता र निरन्तरताका साथ स्थापित कूटनीतिक माध्यम, प्रमाण तथा सौहार्दपूर्ण संवादमार्फत प्रस्तुत गर्नु विशेष महत्त्वपूर्ण छ; केवल आक्रामक बयानबाजी र खोक्रा आश्वासनमार्फत होइन।
छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक जिम्मेवारी हुन्।
नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले आफ्नो पहिचानप्रति आत्मविश्वास राख्दै र आफ्नो राष्ट्रिय हितबारे स्पष्ट रहँदै भरपर्दो साझेदार बन्न सक्छ र बनेको छ।