हैजा भाईव्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट सर्ने, तारन्तार सेतो पानी र चामलका दाना आकारका म्यु"कस दिशाका माध्यमबाट जाने, अत्याधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने अनि शरिरबाट पानी, ग्लुकोज तथा सोडियम पखालाको माध्यमबाट बाहिर गै डिहाईड्रेसनका कारण बिरामीको मृत्यु समेत हुने एक प्रकारको सरुवा रोग हो।
विषेश गरी गर्मी र वर्षातको समयमा यसले प्रकोप तथा महामारीको रुप लिने गर्दछ । विश्व स्वास्थ संगठनका अनुसार प्रत्येक वर्ष करिव ५० लाख मानिसहरु हैजाबाट प्रभाबित हुने गर्दछन् र ती मध्ये करिब एक लाख मानिसहरु हैजाकै कारण जीवन गुमाउने गर्छन्।
अहिले वर्षातको समय भएकाले हामीहरु पनि यसबाट बच्न, यसले महामारीको रुप लिनु पूर्व नै रोकथाम गर्न समय मै सचेत हुनु आवश्यक पर्दछ । बिशेष गरेर सरसफाईमा ध्यान दिएमा, दिशा गए पछि हात गोडा सावन पानीले राम्ररी धुने बानी बसालेमा, पानी उमालेर पिएमा तथा काचै खाने सब्जी तथा सलादहरु सफा पानीले राम्ररी धोई पखाली खाने बानी बसालेमा हामी यसबाट बच्न सक्छौ किनभने समय मै ध्यान दिईयो भने रोगको उपचार गर्न सकिन्छ।
छोटो समयमा शरीरबाट धेरै पानी बाहिर जाने भएकाले थोरै मात्र ढिलो हुँदा पनि बिरामीको ज्यान जाने खतरा रहन्छ ।
यो लेखमा हैजा रोग कस्तो प्रकारको रोग हो, यो कसरी सर्छ, हैजा लागे पछि व्यक्तिमा कस्ता लक्षणहरु देखिन्छ तथा यसको उपचार तथा रोकथामका कसरी गर्न सकिन्छ भन्ने बारेमा छोटकरीमा जानाकारी दिने प्रयास गरिएको छ ।
हैजा कस्तो प्रकारको रोग हो ?
हामीले झाडा पखाला लागेका मानिस त देखेकै छौ। तर हैजा भाईब्रियो कलेरा नामक ब्याक्टेरियाद्घारा लाग्ने एक्युट डायरिया हो। यो ब्याक्टेरियाले व्यक्तिको पाचन प्रणाली र बिशेष गरेर सानो आन्द्रामा संक्रमण गराउने गर्छ। हैजा संक्रमण पश्चात व्यक्तिमा १२ घण्टा देखि ६० घण्टासम्म उक्त रोगको लक्षण देखिन थाल्छ।
Vibrio cholerae का चार प्रकार मध्ये दुई प्रकारका ब्याक्टेरिया भने हानिकारक हुने गर्छ। माहामारीको रूप लिने संक्रमित हैजा भने Vibrio cholerae serogroup O1 or O139 नामक टक्सिजेनिक ब्याक्टेरियाका कारण व्यक्तिमा सर्छ। यो ब्याक्टेरियाबाट संक्रमित ब्यक्तिहरु मध्ये करिब १० प्रतिशतमा यो रोग अत्यन्त भयाभव रुपमा देखिने गर्दछ र तत्काल उपचार नपाएमा व्यक्तिको ज्यान नै जाने सम्मको खतरा हुन्छ। तर कतिपय अवस्थामा भने हैजा लागेका व्यक्तिमा सो रोगको लक्षण नदेखिन सक्छ तर उसको दिशा तथा मलमुत्रका माध्यमबाट भने अरु व्यक्तिमा सो रोग सर्ने गर्दछ ।
लिखित प्रमाणका आधारमा भन्ने हो भने आज भन्दा करिब एक हजार वर्ष पहिला भारतमा हैजाको माहामारी देखिएको थियो । त्यस पछि धेरै मुलुकहरुमा यो रोग कैयन पटक माहामारीको रुपमा देखियो । यो रोग लगाउने ब्याक्टेरिया भिकलेरा हो भनेर पहिचान चाही सन् १८०० को अन्त्य तिर जर्मन माईक्रोबायोलोजिस्ट रोवर्ट कोचले गरेका थिए । यसको पहिचान भारतमा भएको थियो ।
हैजाका ब्याक्टेरिया कहाँ रहन्छन् ?
प्रत्येक जीबजन्तु बाँच्न पानीको आवश्यकता पर्छ। हैजाका ब्याक्टेरियाहरु पनि ओसिलो स्थान, फोहोर, सरसफाईमा कमी भएको ठाँउमा रहने गर्छन्। संक्रमित ब्यक्तिको मलमुत्रका माध्यमबाट उक्त रोगका ब्याक्टेरियाहरु पनि एक स्थानबाट अर्को स्थानमा फैलने गर्छन्। हैजा लगाउने ब्याक्टेरियाको संख्या बृद्घि द्रूत गतिमा हुने गर्छ। यसलाई कोलोनी फर्मिङ भनिन्छ। यदि ब्याक्टेरियाले आफूलाई सुहाउँदो र अनुकुल फोहोर तथा ओसिलो वातावरण पायो भने एउटा ब्याक्टेरियाबाट १० घण्टाको अबधिमा एक अरबको संख्यामा नयाँ ब्याक्टेरिया सिर्जना हुन सक्तछन्। एउटा ब्याक्टेयिाबाट अर्को ब्याक्टेरिया बन्न यसको कोष टुक्रिने गर्छ जस अनुसार एउटा ब्याक्टेरियाबाट दुई र दुईबाट चारका दरले नयाँ ब्याक्टेरिया सिर्जना हुनेगर्छ।
यसरी छोटो समयमा नै ब्याक्टेरियाले आफ्नो ठूलो जमात अर्थात कोलोनी फर्मेसन गर्छ। परिणामस्वरुप समय मै सरसफाईमा ध्यान नदिँदा हैजा प्राणघातक हुने गर्छ। बर्षातको समयमा जताततै ओसिलो हुने, फोहोर ब्यबस्थापन कठिन हुने, अनि संक्रमित ब्यक्तिको दिशा पानीका माध्यमबाट अर्को ठाउँमा सजिलै पुग्न सक्ने भएकाले हैजाले माहामारीको रुप लिनसक्छ।
हैजा संक्रमित ब्यक्तिको दिशामा मात्र हैन उसले प्रयोग गरेका सामानहरु, उसले प्रयोग गरेका पानीका श्रोतहरु जस्तै इनार, धारा, ट्यूवेलका अनि शौचालय तथा शौचालयका ह्याण्डेल तथा तथा चुकुल जस्ता स्थानमा समेत यस्ता ब्याक्टेरियाहरु अत्याधिक मात्रामा रहने गर्छन्। जसका कारण अर्को संक्रमण नभएको व्यक्तिमा होसियारी अपनाउँदा अपनाउँदै पनि हैजा संक्रमण हुनपुग्छ।
हामी कहाँ बिशेष गरेर शहर बजारका किसान उत्पादकहरुले खोलाको पानीमा साग सब्जी धुने गर्छन्। खोलाको फोहर पानीमा जहाँ ढल मिसाईएको हुन्छ त्यही पानीले हरिया साग सब्जी र सलादहरु धोइन्छ। हामी कहाँ पानीको वितरण प्रणाली भयाभव छ।
खानेपानीको पाइप र ढलको पाइपसँगै बिच्छ्याईएको छ । ती पाइपहरु वषौं पुराना खिया लागेका तथा फुटेका छन्। ढलको पाईप र खानेपानीको पाईप फुटेर भद्रगोल हुनेगर्छ। वर्षातमा सडक ताल बन्नेगर्छ।
यस्तो अवस्थामा सडक मुनि बिच्छ्याईएको खानेपानीको पाइपको हालत के होला अनि त्यसबाट बितरण हुने पानी पिउन योग्य होला वा नहोला हामी सहजै अनुमान लगाउन सक्छौ। काचै खाने सलाद तथा फलफूलहरु संक्रमित पानीले धुँदा तरकारी तथा सब्जीमा भएको बाहिरी माटो मात्रै पखालिन्छ। तर, हैजाका ब्याक्टेरिया भने झन पानीकै कारणबाट तरकारीमा रहने गर्छन्।
जब हामी त्यस्ता तरकारी तथा सलाद खान्छौ, त्यसैका माध्यमबाट हाम्रो पेटमा हैजाका ब्याक्टेरिया पुग्ने गर्छन् र हामी संक्रमित हुने गर्छौं। हामीहरुले सफा गर्ने मनसायले सागसब्जी धुँदाधुँदै पनि अनायाशै हैजाको सिकार बन्न पुग्छौं। त्यस्तै होटलमा दिइने सलाद कहिल्यै उमालेको पानीले पखालिदैन।
कतिपय ठाँउमा दिशा बसे पछि सफासँग साबुन पानीले हात गोडा धुने चलन समेत छैन । गाउँघर तिर जुत्ता चप्पल नै नलगाई हिड्ने चलन छ । यी सबै हैजा तथा अन्य संक्रमणका लागि अनुकुल अबस्थाहरु हुन् । यसर्थ हामी कहाँ नागरिकहरु जुन सुकैबेला हैजा र यो जस्तै अन्य माहामारीको शिकार हुन सक्ने जोखिम बिद्यमान छ बिशेष गरी बर्षातको समयमा । हैजा लाग्नबाट बच्न सरसफाईमा ध्यान दिने, व्यबस्थित शौचालयको प्रयोग तथा सरसफाई गर्ने तथा फोहोर पानीको प्रयोग नगर्ने, पानी उमालेर पिउने बानी बसाल्नु पर्दछ ।
हैजा लागे पछि कस्ता लक्षणहरु देखा पर्छन् ?
- चौलानी जस्तो देखिने पातलो दिशा (पखाला) अत्याधिक मात्रामा लाग्नु । चामल धुँदा आउने पानी जस्तो दिशा लाग्नु।
- गोडा बाउँडिनु ।
- तारन्तार बान्ता हुनु ।
- शरीरबाट अत्याधिक मात्रामा पानी निस्कदा एक दिनमा २० लिटरसम्म पानी निस्कनु जसले गर्दा छाला चाउरी पर्न थाल्नु ।
- आँखा गढ्नु । मुख सुख्खा हुनु ।
- रक्तचाप कम हुनु ।
- पसिना कम आउनु ।
- रिङगटा लाग्नु । टाउको दुख्नु ।
- तौल घट्नु ।
- मुटुको धड्कन छिटो छिटो हुनु । कतिपय अबस्थामा बेहोस समेत हुनु, रक्तसंचार बन्द भै बिरामीको मृत्यु समेत हुनु ।
कस्ता ब्यक्तिहरु हैजाको जोखिममा हुन्छन् ?
- हैजाको संक्रमण बिशेष गरेर सरसफाईमा कम ध्यान दिने, शौचालय गए पछि साबुन पानीले राम्ररी हात गोडा नधुने व्यक्तिहरुलाई
- सलाद तथा काचै खान मिल्ने सागपातहरु सफा पानीले नपखाली खाँदा
- अरूले छोडाएको फलफुल नधोई खाँदा तथा होटलहरुमा खाना खाँदा
- हैजा प्रभाबित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा उद्घारमा खटिने व्यक्तिहरुलाई
- सडक तथा बाटामा पकाई बेच्न राखेको खाना खाँदा । त्यस्ता ठाउँहरुमा सफा पानीको अभाव हुने हुदा हैजा लाग्न सक्ने संभावना प्रवल हुने गर्दछ ।
- खाना राम्रोसँग नपकाई खाँदा, सँधेको मासु, अचार, छोयला, कचिला जस्ता अर्धपाक खानेकुराहरु खाँदा
- “इ” समूहका रगत भएका व्यक्तिहरु लाई यसको सक्रमण बढी हुने गर्दछ ।
- तथा सरसफाईमा कम ध्यान दिने अथवा फोहोर व्यवस्थापनमा खटिने नगरपालिका तथा सिटिका सरसफाईमा लाग्ने व्यक्तिहरु ।
हैजाबाट कसरी बच्ने ?
- खाना तथा पानीमा दिशाका अंश पर्नबाट बचाउने । सफा पानीको प्रयोग गर्ने तथा खाना राम्ररी पकाएर खाने । सलाद जस्ता काचै खाने बस्तुहरु सफा पानीले राम्ररी धोएर मात्र खाने वा सकेसम्म बाहिर खाँदै नखाने ।
- पानी उमालेर मात्र पिउने बानी बसाल्ने । घरबाट बाहिर जाँदा सफा बोतलमा पानी लैजाने खुला मुहान तथा अव्यबस्थित पानीको श्रोत भएको ठाउँको पानी नपिउने ।
- दिशा गए पछि, शौचालय सफा गरे पछि, साबुन पानीले राम्ररी हात धुने ।
- खाना छुनु अघि साबुन पानीले हात धुने । खाना खानु अघि धोएको हात सफा कपडाले सुख्खा बनाउने र खाना खाने । साबुन नलगाई धोएको हातबाट हैजा रोकथाम हुदैन साबुनको प्रयोग राम्ररी गर्ने ।
- सरसफाईमा ध्यान दिने तथा संक्रमित व्यक्तिको नजिक जानु पर्दा वा उसलाई उपचार गर्नु पर्दा पन्जा, मास्क तथा एप्रोनको प्रयोग गर्ने ।
- ट्रिटमेन्ट नगरिएको पानी नपिउने । पोटस प्रयोग गरी पानीको निर्मलीकरण गर्ने र अनि मात्र पिउने वा पानी सधै उमालेर मात्र पिउने ।
- सरसफाईको महत्वका वारेमा जनचेतना जगाउने र हैजा संक्रमणबाट बच्ने ।
- हैजाको शंका लागेमा बिरामीलाई तुरुन्त नजिकको स्वस्थ्य केन्द्रमा लैजाने, धामी झाक्रीको भर नपर्ने ।
- यति कुरामा ध्यान दिन सकिएमा बर्षातको समयमा फैलन सक्ने र माहामारीको रुप लिन सक्ने रोग हैजाबाट बच्न र अरुलाई पनि बचाउन सकिन्छ ।
लेखक नर्थ अमेरिकन कलेज, टोरन्टो,क्यानाडाका प्रशिक्षक हुन्।