हाम्रो शरीरमा गर्धन र कम्मरमा नशा च्यापिने समस्या बढी हुन्छ। त्यसमा पनि बढी समस्या कम्मरमा हुन्छ।
धेरै जसोमा सुरूमा ढाड, हिपको दुखाइ अनि दुखाइ पिडौंलातिर जाने र गोडा दुख्ने हुन्छ। हिँड्न गाह्रो हुने, घुँडाको कमजोरी आउने, गोडा झमझम गर्ने, लाटोपनको लक्षण लिएर बिरामीहरू अस्पताल आइपुग्छन्। कोहीको खुट्टामा लुलोपना आइसकेको हुन्छ। धेरै च्यापिँदा दिसा, पिसाबमा पनि असर पर्न सक्छ। दिसा, पिसाब गर्ने ताकतै जान सक्छ।
यो समस्या यही कारणले हुन्छ भन्ने अहिलेसम्म पत्ता लागिसकेको छैन। यसमा बढी उमेरको दोष हुन सक्छ। अनि शारीरिक व्यायामको कमीले पनि हुन्छ। बुढेसकालसँगै ढाड निउरेर काम गर्ने, झुकेर, बटारिएर काम गर्ने गर्दा मेरूदण्डको तल्लो भाग (हाम्रो भाषामा एलफोरफाइभ एलफइबएसवान एरिया) इन्टोभर्टिबल डिस वासरमा चिरा पर्छ। त्यसबाट भित्रको वासरको भाग (न्युक्लियस पल्पसस) लिक्वीड हुन्छ। त्यसले नशालाई दबाब दिएपछि नशा च्यापिने समस्या हुन्छ। अर्को केमिकलले पनि नशालाई सुन्निने बनाउँछ।
धेरै मोटोपन, चुरोट सेवन, शारीरिक व्यायाम कम गर्ने मान्छेमा समस्या बढी देखिन्छ। ग्रामीण क्षेत्रमा कामको चाप बढी हुने मान्छेलाई र सहरमा व्यायाम नगर्नेलाई बढी समस्या देखिएको छ।
हाम्रो मेरूदण्डमा ३३ वटा हड्डी हुन्छन्। त्यसको बीचमा २२–२३ वासर हुन्छ। त्यसको भाग टुक्रिएर गएर पछाडि मेरूदण्डको नशालाई च्याप्ने हो। त्यसले आउने असर दुखाइ, झमझम गर्नु हो। यो कुरा एमआरआईबाट थाहा पाउन सकिन्छ। एमआरआई गर्दा नशाको घर साँघुरो भएको देखिन्छ।
अनि इन्फेक्सन, ढाडको टिबी, अरू भागको क्यान्सर फैलिएर नशालाई असर गरेर पनि नशा च्यापिन सक्छ। बाथको रोग, हड्डी चिप्लिएर नशा च्यापिने पनि हुन्छ। भिटामिन डीको कमीले पनि यो हुन सक्छ। नशा च्यापिएको समस्या देखिएका धेरैमा भिटामिन डी कम देखिएको छ। विदेशतिर दूधमै भिटामिन डी मिसाइन्छ। त्यसैले त्यता भिटामिन डीको कमीले हुने समस्या कम हुन्छ। यहाँ यस्तो चलन छैन।
नशा च्यापिने रोग लागेकामध्ये ९५ प्रतिशतलाई औषधि र फिजियोथेरापीले सन्चो हुने गरेको अध्ययनले देखाएका छन्। उनीहरूलाई ४–६ हप्ताको औषधि दिइन्छ र आवश्यकता अनुसार फिजियोथेरापी गराइन्छ। बढी दुखाइ भए थेरापी पनि गर्न मिल्दैन। दुखाइ कम भएपछि गराइन्छ।
औषधि र थेरापीले नभेटे, लक्षण बढ्दै गए एमआरआई गरेर हेर्ने अनि आवश्यक सल्लाह दिने हो। औषधि, थेरापी र इन्जेक्सनले नभेटे पहिले मासु काटेर, हड्डी काटेर, तासेर गर्ने शल्यक्रिया मात्रै विकल्प थियो। अहिले संसारमा नयाँ प्रविधि विकास भएको छ। त्यो दूरबिनको सहायतामा गरिने शल्यक्रिया हो। यसलाई इन्डोस्कोपिक डिसेक्टोमी भनिन्छ।
शल्यक्रियामा चिरेर, ठूलो घाउ बनाएर वासरले च्यापेकोलाई निकालेर नशालाई 'फ्री' गर्ने गरिन्थ्यो। नयाँ प्रविधि नशा च्यापिएको ठाउँमा सानो प्वाल बनाएर दूरबिन हालेर नियमित पानीको फोहोरासँगै त्यसलाई पखाल्दै निकाल्ने नयाँ प्रविधि हो।
यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई भोलिपल्टै घर पठाउन सकिन्छ, दुखाइ एकदमै कम हुन्छ। किनभने मासु चिर्न पर्दैन, मासुलाई थोरै फट्याएर जहाँ नशा च्यापिएको हो, त्यहाँ मात्रै पुगे हुन्छ। हड्डी काट्न पर्दैन, तास्नु पर्दैन, रगत बग्ने समस्या, शल्यक्रियापछि ढाड दुख्ने समस्या कम हुन्छ। शल्यक्रियामा घाउ पाक्ने समस्याको सबैभन्दा डर हुन्छ। तर दूरबिनको सहायतामा गर्दा यो समस्या हुँदैन।
नशा च्यापिएको अवस्थामा डराएर, रोग लुकाएर बसिराख्नु जरूरी छैन। पहिले दूरबिनको सहायतामा उपचार गर्न भारत जानुपर्थ्यो। अहिले चितवनमै यसको उपचार सुरू भएको छ। मैले भारतको इन्डियन स्पाइनल इन्जुरी सेन्टरबाट मेरूदण्ड रोग विशेषज्ञको सुपर स्पेसियालिटी फेलोसिप सकेर आएपछि यो उपचार गर्न थालेको हुँ। नेपालमा अहिलेसम्म काठमाडौंका मेडिसिटी अस्पताल, बाँसबारी न्यूरो अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा मात्रै यो प्रविधि प्रयोग भएको छ।
काटेर गरिने शल्यक्रियामा भन्दा यसमा खर्च पनि कम लाग्छ। काठमाडौंमा भन्दा चितवन मेडिकल कलेजमा अझै कम खर्चमा उपचार हुन्छ। ६०–६५ हजार रूपैयाँ खर्च गरेर उपचार पूरा हुने गरेको छ। हामीले अहिलेसम्म यो प्रविधि प्रयोग गरेर ८ जनाको सफल उपचार गरिसकेका छौं। अहिले पनि हामीकहाँ नशा च्यापिएको समस्या लिएर दैनिक ३०–४० जना बिरामी आउँछन्।
काम गर्दा धेरै नझुके यो समस्याबाट जोगिन सकिन्छ। हाम्रो शरीर धेरै झुकेर काम गर्न बनेको छैन। त्यसैले झुकेरभन्दा बसेर काम गर्नुपर्छ। निउरिएर टाढाको कुरा उचाल्न खोज्दा ढाड सड्किन सक्छ। त्यो नशा च्यापिने सुरूआत हुन सक्छ। भारी काम, ठूलो बल, थर्किने काम गर्नेमा बढी समस्या हुन्छ। कच्ची बाटोमा धेरै मोटरसाइकल चलाउँदा पनि यो समस्या आउन सक्छ।
दिनको चार किलोमिटर जति हिँड्यो भने ढाडलाई आड दिने मासु बलियो हुन्छ। शारीरिक व्यायामबाट हड्डी बलियो हुन्छ।
(११ वर्षदेखि मेरूदण्ड रोग विशेषज्ञका रूपमा कार्यरत डा. तेजप्रकाश दवाडीसँग सेतोपाटीका राजेश घिमिरेले गरेको कुराकानी )