काठमाडौंमा बिमस्टेक पाहुनालाई सजिलो पार्न सवारीमा जोर–बिजोर लागू गरियो। बिहीबार र शुक्रबारको सम्मलेनलाई बुधबारबाटै सडक सुनसान पारियो। जनताले दुःख पाए।
बिहीबार झनै कम भए। स्कुल–कलेज बन्द। तिनका सवारी नगुडेपछि सवारी चाप झनै कम।
ट्राफिक महाशाखाका अनुसार राजधानीमा सामान्य दिनमा ८ लाख सवारी चल्छन्। यी सवारीले गराउने प्रदूषणको हामी भुक्तमान हौं।
जोर–बिजोर प्रणालीले कम्तीमा आधा सवारी कम भएका बेला राजधानीको प्रदूषण भने उस्तै छ।
अरू बेला शनिबार र विदाको दिन प्रदूषण कम हुन्छ। बिमस्टेकको तामझाममा भने त्यत्ति पनि भएन। सवारी चाप आधा पारिएको बिहीबार प्रदूषण अझ बढेको देखिन्छ।
वातावरण विभागले उपत्यकाका केही मुख्य ठाउँको प्रदूषण स्तर दैनिक नाप्छ। विभागको तथ्यांकअनुसार शनिबार र विदाका दिन २५ देखि ५० प्रतिशत प्रदूषण कम हुन्छ।
यो हेर्दा बिमस्टेक सम्मलेन क्रममा तीन दिन प्रदूषण धेरै कम हुनुपर्ने हो।
भएन।
शुक्रबारदेखि आज बिहीबारसम्मको तथ्यांकले उपत्यकाको प्रदूषण कम भएको देखिँदैन।
शुक्रबार, शनिबार र आइतबारको तथ्यांक केही तलमाथि छ। सोमबार गाईजात्राका दिन प्रदूषण आधा कम थियो। मंगलबार, बुधबार र बिहीबार भने साविककै प्रदूषण। बरु बिहीबार अझै बढेको छ।
गत शुक्रबारदेखि बिहीबारसम्मको प्रदूषण तथ्यांक। स्रोतः वातावरण विभाग
सवारी कम हुँदा पनि प्रदूषण किन घटेन?
हामीले वातावरण संरक्षण अभियन्ता भूषण तुलाधरलाई सोध्यौं।
‘हेर्नुस्, प्रदूषण कम गर्न सवारी कम हुनु एकदम जरुरी छ। तर यतिले मात्र हुँदैन,’ तुलाधरले भने, ‘तपाईंले सवारी कसरी चलाउनुहुन्छ भन्नेमा पनि भर पर्छ।’
उनले यसरी बुझाए।
सम्मलेनका कारण सवारी थोरै भए पनि एकनास गुड्न सकेका छैनन्। घरि यता रोकिएका छन्, घरि उता। एक किलोमिटर सडकमा पाँचपटकसम्म रोकिएका छन्। लामो समय जाममा अडिनुपरेको छ। घ्रिसिक–घ्रिसिक घस्रनुपरेको छ।
यस्तो तरिकाले सवारी गुड्दा प्रदूषण झन् धेरै हुन्छ। गाडीले धुँवा धेरै फ्याँक्छ। जाममा रोकिएका बेला स्टार्ट अफ नगरे धुँवा आइरहन्छ। फेरि पटक–पटक अन–अफ गर्दा पनि समस्या हुन्छ। त्यस्तै जाममा विस्तारै ‘मुभ’ गर्दा त्यसले गुडेको जति नै प्रदूषण गरिरहेको हुन्छ।
‘धेरै अवरोधका कारण अहिले गाडी कम भए पनि प्रदूषण अलिकति पनि कम भएन,’ उनले भने।
उनका अनुसार यसमा अर्को कारण पनि छ– सवारीले आवश्यकताभन्दा बढी दूरी पार गर्नु।
ठाउँठाउँमा सडक आवागमन रोकिएकाले धेरैजसो सवारी घुमाउरो र भित्री बाटो प्रयोग गर्न बाध्य छन्।
उदाहरण– बिहीबार कुनै चालकलाई टेकुबाट कालिमाटी हुँदै कलंकी जानुभन्दा सानेपा, बल्खु हुँदै जान सहज थियो। धेरै सवारी यो रुटबाटै गए। सामान्य दिनभन्दा बढ्दा जाम भयो। यसले उनीहरूको साविकको दूरी बढायो।
‘एक गाडीको कुरा होइन। हजारौं गाडीले आवश्यकताभन्दा धेरै दूरी पार गर्नुपरेको छ। यसले अरु दिनभन्दा थोरै सवारी भएर पनि केही फरक पर्दैन। सडकमा तिनले गराउने प्रदूषण उस्तै हुन्छ,’ तुलाधरले भने, ‘यो केसबाट हामीले बुझ्नपर्छ, सवारी चलाउने तरिकाले पनि प्रदूषण गराउनमा भूमिका खेल्छ।’
बढ्दो प्रदूषणमा सडक अवस्थाले पनि घिउ थपिरहेको छ।
खाल्डै–खाल्डा र अव्यवस्थित सडकले जताततै जाम छ। कुनै सवारी एकनासले गुड्ने अवस्था छैन। घच्याक–घुचुकमै पूरा यात्रा सक्नुपर्छ।
‘यसले सवारीमा झन् बढी भार पर्छ र बढी शक्ति लिन्छ,’ तुलाधरले भने, ‘सवारीलाई जति प्रेसर भयो, उति प्रदूषण।’
‘बिमस्टेक क्रममा सवारी संख्या आधा घट्दा पनि राजधानीको प्रदूषण कम नहुनुको कारण यही हो।’