हाम्रो टोलमा सबैभन्दा पहिले घडेरी किन्ने हामी हो। प्लटिङ नगरिएको गरोका रूपमा थियो र अगाडिपट्टि गोरेटो बाटो अर्थात् अग्र भागमा राजकुलो थियो। त्यसै राजकुलोलाई बाटो बनाउने लक्ष्य राखेर घडेरी किनियो; २०६२ सालमा प्रतिआना ६२ हजार ५ सयका दरले छ आना।
छ आनाको पास खर्च समेत गरेर जम्माजम्मी ४ लाख खर्च भएको थियो। जम्मा ४ लाखमा छ आना जग्गा किनेको कुरा अहिले साथीहरूले पत्याउनुहुन्न। किनकि पछिल्लो समय यहाँ आनाको ५० लाख चलेको छ।
हाम्रो टोलमा बनेको चौथो घर हाम्रो हो। तेस्रो घरमा पहिलो पटक चोर पसेको थियो। घरमा मान्छे नभएको मौका छोपेर सो घरको पछाडिपट्टि रहेको भान्साको ढोकाको चुकुल तोडेर चोर पसेको थियो। त्यहाँ भित्र रहेका दराज पलङका घर्रा सबै खोलखाल पार्नुका साथै नगद तथा गरगहना नभेटाएपछि पलङको बिस्तरा ओल्टाई पल्टाइ र भताभुङ्ग पारेपश्चात् नि केही फेला पार्न नसकेपछि चोरले ठुलो आकारको एउटा खुकुरी लिएर गएछ।
पाँच वर्षअघि हाम्रो घरनिरको आफन्तको घरमा रहेकी भदै नानीले छोरी लिन विद्यालय गएको बखत चोरले दश मिनेटको अवधिमा पन्ध्र तोला सुन र चाँदी तथा एक लाख नगद लिएर गयो। तत्काल हामीले प्रहरीलाई खबर गरेर बोलायौँ र प्रहरीले तीन महिनाभित्र पत्ता लगाउँछौँ भने पनि छ वर्ष हुनै लाग्दा पनि चोर पत्ता लागेको छैन।
२०७९ असार २२ मा म अनिवार्य अवकाश लिएर खेलकुद मन्त्रालयबाट बिदाइ भएर गलामा खादा र निधारमा अबिरसँगै घर आएँ। घर आइपुगेपछि खादा निकालेर अबिर पखालेँ। सरकारी सेवा अपजसे सेवा भएकोले अवकाश हुँदा निकै आनन्द लागेको थियो। किनकि नेपालमा खराब कर्मचारीहरूका कारण इमानदार कर्मचारीहरूमा समेत दाग लाग्ने गरेको छ।
२३ गते अर्थात् भोलिपल्ट निजामती किताबखाना, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बिमा संस्थानलाई दिइने पत्रहरू लिनका लागि म मन्त्रालय रहेको स्थान सिंहदरबार गएँ। पत्र बनेर पनि चलानी हुँदै गरेको बखत घरबाट फोन आयो र घरको भुइँतलामा भाडामा बस्नेको कोठामा चोर पसेर नगद र ल्यापटप लिएर गएको जानकारी पाए लगत्तै म घरतिर लागेँ। सायद त्यो चोर म रिटायर भएको र रिटायर हुँदा बित्तिकै घरमा एकमुस्ट रकम आएको भ्रममा परेछ क्या रे, म मन्त्रालयतिर हिँड्दा बित्तिकै अर्थात् १२ बजेको आसपासमा घरमा चोर पसेछ।
मन्त्रालयबाट हतार हतार फर्केर म घर कम्पाउन्डमा पस्दा भाडामा बस्ने केटाकेटी र उनका आफन्तहरू जम्मा भएका थिए। प्रहरीले पनि पत्ता लगाएरै छोड्छौँ भने पनि तीन वर्ष हुनै लाग्दा अहिलेसम्म कुनै अत्तोपत्तो छैन। भोलिपल्ट कलेजमा फी बुझाउने भनेर भाडामा बसेकी नानीले बैंकबाट निकालेको नगद एक लाख र एक लाख मूल्य बराबरको नयाँ ल्यापटप लिएर गएछ चोरले।
ल्यापटपमा महत्त्वपूर्ण डकुमेन्ट र परीक्षा तयारीका अभिलेखहरू रहेछन्। जागिर खाँदै र पढ्दै गरेकी नानीका लागि नगदभन्दा पनि ल्यापटप गायबका कारण पढाइमा दक्खल पर्ने अवस्था थियो। कोठाभित्र रहेका दराज खुला परेको तथा पलङका घर्रा बाहिर तानेको अवस्थामा थियो भने बिस्तरा लथालिङ्ग पारेको थियो।
२०५६/५७ सालतिर बालुवाटारमा भाडाको कोठामा बस्दा बाहिर डोरीमा सुकाइराखेको मेरो स्विटर र छेउको कोठामा बस्नेको केही लुगाहरू अङ्कुसेले तानेर चोरेर लगेको थियो चोरले।
चाबहिलको शान्तिगोरेटोमा हामी दश वर्ष बस्दा एक दिनको आधा रातमा ६५ वर्ष नाघेकी घरबेटी आमाले पानीको लाइनमा पम्प जोड्न लाग्दा खुलै रहेको ढोकाबाट चोर भित्र छिरेछ र कुनामा लुकेछ। पानी नआएपछि आमा ढोका लगाएर माथिल्लो तलामा जानुभएछ। भित्र लुकेर बसेको चोरले भुइँतलाका सबै कोठाहरूमा अन्तराप लगाइदिएछ र कोठाभित्रका मान्छेहरू बाहिर निस्कन नसक्ने गराएछ।
बिहान छोराले ढोका ढ्याङढ्याङ पारेको सुनेपछि हेर्न जाँदा त चोरले ढोकामा बाहिरबाट अन्तराप लगाएर थुनिदिएको रहेछ। ढोका खोलिदिएँ र चोर पसेको जानकारी गराएँ। चोरले पानी तान्ने मोटर लिएर टाप कसेको रहेछ।
थरिथरिका चोर
२०६९ सालमा भुइँतला घर बनाएपछि हाम्रो घर कम्पाउन्डभित्र विभिन्न समयमा विभिन्न किसिमका चोरहरूको सामना गर्नुपरेको थियो। एक रातमा छाता चोरी भएको थियो भने अर्को रातमा काँक्रो चोरियो। त्यस्तै कुनै दिनको एक रातमा छोराको नयाँ जुत्ता चोर्यो जुत्ता चोरले।
गाँजा चोर
नयाँ बनेको हाम्रो घरको कम्पाउन्डमा गाँजाको जस्तो बोट हुने भाँगो उम्रिएको थियो। भाँगोको दाना छोप खाने चलन हाम्रो रोल्पातिर पहिले देखिको चलन हो। गाँजा लागू पदार्थमा पर्दछ भने भाङ अचारका लागि छोप बनाइने दाना हो। भाङको बोट ठुलो भएपछि अलि पर खोलाबाट गँजडी केटाहरू आएर पातहरू चुँडेर खोलातिर लगेर खाँदा रहेछन्। बेलाबेलामा भाँगोको हाँगा पनि भाँचेर लगे। हामी आजित भएपछि मैले भाङको बोट फेददेखि नै काटेर पर्खालपारि फालिदिएँ। राति कुन बेला आएर गँजडी केटाहरूले लगेर कता पुर्याएछन् पत्तो भएन।
बाटो बिस्तार गर्ने बेला घर कम्पाउन्डको अगाडिको अर्थात् बाटोतिरको पर्खाल अस्थायी गेटसहित डोजरले भत्काएपछि आँगनको कुनामा रहेको धारो निरको पानी तान्ने मेसिन चोरी हुन्छ कि भन्ने जगजगी थियो। बोराले छोपछाप गरे इँटाले थिचेर राख्ने गर्थेँ। चोरबाट पानी तान्ने मेसिन जोगाउनका लागि तीन महिनासम्म यसै गरेँ। इनारमा भने कुन चाहिँले ठुलो ढुंगा खसालिदिएको रहेछ। त्यो पछि डोरीले बाँधेर निकालेर फालियो।
ढलको मुखमा बालुवा भरिएको बोरा
हाम्रो घरको लाइनमा रहेका तीन वटै घरका सेफ्टी ट्यांकी ढलमा जोडेको थिएन। बाटोमा ढल बिछ्याएपछि सेफ्टी ट्यांकीबाट ढलको पाइप जोड्ने क्रममा मंगाल खोलेर हेर्दा त्यहाँ तीन वटा बोरामा ढुंगाका टुक्रा र बालुवा राखेर ढलको मुखमा बुजो लगाइएको थियो। त्यस्तो काम गर्ने बदमास को थियो भन्ने अन्दाज त थियो नै। समाजमा केही खराब मान्छेहरूका कारण दुःख पाइन्छ। मान्छेमा धर्म, ज्ञान, चेतना र संस्कार नभएपछि समाज गतिलो हुँदैन। त्यसैले भूगोलको हिसाबले भन्दा पनि मान्छेको स्तर हेरेर नयाँ समाजमा बस्नुपर्छ भन्ने मलाई लाग्यो। एउटाले अर्कोलाई दुःख दिने, एउटाको नचाहिँदा र नभएका कुरा अर्कोलाई सुनाएर तथा समाजका वा टोलका मान्छे भाँडेर मजा लिने मान्छेहरू पनि नभएका होइनन् हाम्रो देशमा।
कार्यालयको सुविधाको मोबाइल चोरी
२०७७ असोजमा पिताजीको चौरासी पूजा हुँदा म रोल्पाको सदरमुकामको एक जिल्लास्तरीय कार्यालयको प्रमुख थिएँ। हामी सप्ताह समेतको सो चौरासी पूजाका लागि आँगनमा बनाइएको जग्गेमा व्यस्त थियौँ। एक जना गाउँका युवाले मेरो कोठामा पसेर चार्जमा राखेको रेड्मी मोबाइल चोरेछन्। कोठामा को पसेको थियो भन्ने कुरा कसैले बताएपछि चोरका बाउलाई फोन गरेर हाम्रो घरसम्म मोबाइल ल्याउन भनियो। छोराको हातबाट मोबाइल खोसेर बाउले हाम्रो घरमा ल्याएर मोबाइल चोर्ने छोराको तर्फबाट माफी माग्दै मोबाइल मेरो हातमा दिइएको थियो। सो मोबाइल म कार्यालय प्रमुख भएको नाताले सरकारी सुविधाको थियो। त्यसै बखत कुनै दिन पिताजीका तीन जोर जुत्ता घर बाहिरबाट चोरी भयो।
नोकिया कम्पनीको ६०३० मोडेलको बलियो खालको मोबाइल चाबहिल चोकमा एक जनाले गोजीबाट निकाल्नै लाग्दा हातले च्यापेर सुरक्षित गरेको थिएँ। संस्थान सेवामा रहँदा मेरो एक महिनाको तलब र एक महिनाको बोनस रकम पाकेटमारीमा परेको थियो। नेपाल यातायातमा यात्रा गर्दै गर्दा भाटभटेनीमा मेरो पाइन्टको पछाडिको गोजीबाट पर्स ननिकाली हजारका दुई वटा नोट चोरले कुनै कला प्रयोग गरेर झिकेका थिए। कुनै बखत एक जनाको पाइन्टको पछाडिको गोजीको ढकन खोल्दै गरेको देखेपछि मैले उनलाई भनेको थिएँ- ‘तपाईंको पाकेटमारी हुँदै छ।’ एक पटक मैले पाकेटमार समूहमा तीन जना देखेको छु, एक जनाले लामो खालको कमिज लगाउने र कमिजले ढाकेर हत्केला र औँलालाई अरूले थाहा नपाउने गरी विशेष आकार दिएर पाइन्टको पछाडिको गोजीको ढकन खोलेर पाकेट मार्दा रहेछन्।
कविता चोर
२०६१ सालअघि कान्तिपुर दैनिकमा प्रकाशित ‘हाम्रा बाजे’ शीर्षकको मेरो कविता एक जना स्कुले विद्यार्थीले अन्नपूर्ण पोस्टमा चोरी प्रकाशन गराका थिए। मेरो कविता चोरी हुँदा म यस कारण खुसी थिएँ कि मेरो कविता उत्कृष्ट रहेछ। अहिले मेरा साहित्य लेखनका कतिपय शैलीहरू अरूले अनुसरण गर्दै आउनु भएको छ। मेरा शैलीहरू अनुसरण गरेका प्रसङ्गहरू म अहिले नै खुलाउन चाहन्नँ, पछि कालान्तरमा खुलाउने छु। अरूहरूले मेरा शैलीहरू अपनाउँदा मलाई खुसी नै लाग्दछ।
चोरको समूहले पर्खाल नाघ्दै गरेको डेढ सय मिटर पर रहेको घरधनी दिदीले देखेपछि पल्लो घरका घरबेटीलाई फोन गर्नुभयो र तुरुन्तै पल्लो घरबाट मलाई फोन आयो राति एक/दुई बजेतिर। उठेर बत्ती बालेँ र सबै उठेर हेर्दा चोर भागिसकेको रहेछ। हाम्रो घरमा भाडामा बस्नेले ढोकाको दायाँबायाँ राखेका दुई वटा अम्खोरा पहिलो पटक, दोस्रो पटक र तेस्रो पटकसम्म चोरेको थियो चोरले। कम्पाउन्ड वालमा हामीले बार नलगाएको हुँदा भित्र पस्न चोरलाई सजिलो भएको थियो।
जन्मथलोमा रहँदा र हामी सानै हुँदा आमाले खटमा राखेको सुनका दुई वटा ढुंग्री हराएको थियो। गाउँमा फाट्टफुट्ट कसैका केही वस्तुहरू हराउँथे। हाम्रो गाउँमा रहेको नामिद्वालीस्थित हाम्रो खर्यानमा काटेर राखिएको घाँसको भारी समेत हराएको थियो। पहिले पहिले गाई भैँसीका भकारमा तामा र पित्तलका खड्कुँला र ताउला गोठमा रातभर त्यसै रहन्थे, तामाका गाग्रीहरू पनि रहन्थे तर चोरी हुँदैनथ्यो।