सिराहाका एक युवकको विराटनगरमा अपहरणपछि हत्या भएको छ।
सिराहा गोलबजारका-२ का १८ वर्षीय अंशु सदाको हत्या भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार सदाको अपहरणपछि हत्या गरिएको हो।
‘सिराहाबाट अपहरण गरेर असोज २६ मा विराटनगर ल्याएका रहेछन्’, कोइरालाले भने, ‘आज विराटनगरको बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा हत्या गरेको अवस्थामा शव फेला परेको छ।’
सदाको हत्या अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको एसपी कोइरालाले बताए।
उनका अनुसार सदाको हत्यामा तीन चार जनाको समूह संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘हामी अनुसन्धानकै क्रममा छौं’, उनले भने, ‘अहिले घटनास्थलको अनुसन्धान गरिरहेका छौं।’