कीर्तिपुरको प्यंगथाँबाट रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति हटाउने निर्णय आफूहरूलाई मान्य नहुने त्यहाँको स्थानीय समूहले जनाएको छ।
प्यंगथाँमा रातो मच्छिन्द्रनाथ र याक: मिसाको प्रतिमूर्ति स्थापना गर्ने सुखी गछेँ समाजले बुधबार विज्ञप्ति जारी गर्दै 'अनधिकृत तवरले हठात् निर्णय गरिएको' भनेको छ। समाजबाट विभिन्न विकल्प प्रस्ताव गरिएकामा तिनलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा मूर्तिहरू हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
यसले रातो मच्छिन्द्रनाथको अमूर्त संस्कृतिमा दीर्घकालीन असर पर्ने देखिएकाले निर्णय पुनर्विचार गरी वार्ता र संवादका माध्यमबाट समाधान खोज्न पनि समाजले आग्रह गरेको छ।
ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाका मेयरको उपस्थितिमा रातो मच्छिन्द्रनाथ जात्राका सरोकारवाला समूहहरूको बैठकले मंगलबार ‘रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना गर्नु धर्म र संस्कृतिको मर्मविपरीत’ भन्दै कीर्तिपुरबाट दुवै मूर्ति हटाउने निर्णय गरेको थियो।
ललितपुर महानगरपालिकाको सभाकक्षमा दिउँसो साढे तीन घन्टा चलेको बैठकको निर्णयमा ललितपुर र कीर्तिपुरका मेयरसहित गुठी संस्थानका प्रतिनिधि र रातो मच्छिन्द्रनाथका पुजारीहरूले हस्ताक्षर गरेका छन्। सुखी गछेँ समाजका प्रतिनिधिहरूले भने हस्ताक्षर गर्न मानेका थिएनन्। बैठकमा उपस्थित समाजका तीन जना प्रतिनिधि निर्णयमा आपत्ति जनाउँदै सभाकक्षबाट उठेर हिँडेका थिए।
त्यसको अर्को दिन नै उनीहरूले उक्त निर्णयप्रति खेद प्रकट गर्दै विज्ञप्ति जारी गरेका हुन्।
अध्यक्ष रामकुमारी महर्जन र सचिव नारायण महर्जनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'धार्मिक, सांस्कृतिक विधिपूर्वक बाजागाजासहित धर्मप्रति आस्था राख्ने जनसमुदाय र जनप्रतिनिधिको समुपस्थितिमा स्थापना भएको भगवान करूणामय र याक: मिसाको प्रतिमूर्ति हटाउने भनी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २०७९ चैत १४ गते जारी गरेको प्रेस विज्ञप्तिबाट हामी आश्चर्यचकित भएका छौं। विश्व समुदायमै पृथक पहिचान बोकेको यति महत्वपूर्ण प्राचीन धर्म संस्कृतिसँग जोडिएको करूणामयको प्रतिमूर्तिबारे अनधिकृत तवरले भएको हठात् निर्णय अत्यन्तै हास्यास्पद छ।'
यी मूर्ति स्थापनाका लागि तत्कालीन समयमा पुरातत्वविद् एवं संस्कृतिविद् सत्यमोहन जोशी लगायतका व्यक्तित्वसँग पटकपटक संवाद गर्नुका साथै रातो मच्छिन्द्रनाथकै पानेजु (पुजारी) तथा अन्य सरोकारवाला पक्षको सहमति र राज्यका सम्बन्धित निकायको स्वीकृति लिएको पनि सुखी गछेँ समाजले विज्ञप्तिमा भनेको छ।
'ललितपुर महानगरपालिकाले गरेको बैठकमा सम्बन्धित निकाय र सरोकारवाला पक्षबीच गम्भीर छलफल चलिरहेकै सन्दर्भमा प्रतिमूर्तिसँग मुख्य सरोकार राख्ने सुखी गछेँ समाजका तर्फबाट समझदारी कायम राख्न गरिएको विभिन्न विकल्प प्रस्तावलाई पूर्ण रूपले बेवास्ता गर्दै एकपक्षीय रूपमा ती प्रतिमूर्तिहरू निकाल्ने निर्णय भयो भनी जारी गरेको विज्ञप्तिप्रति खेद प्रकट गर्न चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'इतिहासदेखि कायम करूणामयको अमूर्त संस्कृतिमा दीघर्कालीन असर पर्ने गरी एकपक्षीय ढंगबाट भएको उपरोक्त निर्णय पुनर्विचार गरी धर्म, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि विभिन्न विकल्पमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्छौं।'
धर्म, संस्कृति संरक्षण र सम्बर्द्धनका लागि हुने हरेक वार्ता र संवादमा सरिक हुन आफूहरू सदैव तयार रहेको सुखी गछेँ समाजले भनेको छ।
मंगलबारको बैठकमा रातो मच्छिन्द्रनाथ र याक: मिसाको प्रतिमूर्ति गुठी संस्थानलाई हस्तान्तरण गर्ने र गुठीले आफ्नो बन्दकोठामा सुरक्षित राख्ने प्रस्ताव ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका छन्। गुठीको निगरानीमा राख्दा मूर्तिको पृष्ठभूमिसमेत इतिहासका रूपमा उल्लेख गर्ने प्रस्ताव पनि गरिएको छ।
‘कसैले कहीँ पनि राख्न नपाउने रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरको प्यंगथाँमा कसरी स्थापना हुन पुग्यो, के कारणले यो मूर्ति बनाइयो र पछि के कारणले गुठीलाई हस्तान्तरण गरियो भन्ने पृष्ठभूमि खुलाएर विवरण तयार पारौं,’ मेयर महर्जनले भने, ‘त्यस्तो विवरणलाई मूर्तिमा पटुकाजस्तो बाँधेर राख्न सकिन्छ वा स्थायी रूपमा लेखेर मूर्तिसँगै राख्न पनि सकिन्छ।’
यसो गर्दा प्यंगथाँबाट झिकिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्तिको इतिहास गुठी संस्थानमा सुरक्षित रहने उनले बताए।
रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएन भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिएको छ।
प्यंगथाँकी जीवित देवी याक: मिसालाई फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।
आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र प्यंगथाँवासीले मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’ मान्ने लक्ष्मीकुमारी महर्जनलाई फूल र प्रसाद चढाउँछन्।
प्यंगथाँको जुन मन्दिरमा अहिले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसनसामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन।
उक्त ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसा अर्थात् लक्ष्मीकुमारीलाई फूल–प्रसाद दिने गर्छन्। लक्ष्मीले प्रसाद लिइसकेपछि उनकै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटीहरू यो विधिमा सरिक हुन्छन्।