शनिवारको दिन! भर्खर कखरा सिक्दै गरेको बच्चा होस, सङ्घर्षमा होमिएको विद्यार्थी वा जागिरे जोसुकै किन नहोस्, यो दिनको महत्त्व सबैलाई उत्तिकै हुन्छ। म पनि सोही मध्येकी एक जो थिएँ।
एकाबिहान मोबाइलको अलार्म र आँखाको निद्रालाई एकअर्काको दुस्मन बनाउँदै हतार हतार कलेज जानुपर्ने झन्झटबाट एक दिनलाई भए नि मुक्ति पाएकी थिएँ। सोही अनुरूप अरू दिनभन्दा केही ढिला आँखा खुले।
ओहो! धेरै ढिला नै भएछ कि क्या हो सोच्दै समय हेर्न छेउको मोबाइल लिएँ। सधैँजस्तो सुनसान रहने मोबाइलको म्यासेज बक्समा एकाबिहानै नयाँ म्यासेजको नोटिफिकेसन आएको थियो। आज त अचम्मै भएछ सोच्दै म्यासेज बक्स खोलेँ।
नाम सेभ नभएको एउटा नम्बरबाट ‘म बुटवल आएकी छु, तिम्रो ठेगाना पठाऊ त मिलाएर भेट्छु’ म्यासेज थियो।
अनौठो मान्दै एकछिन सोचेँ- को हो यो? नचिनेकै मान्छे भए म्यासेज नआउन पर्ने। एक मनले जोसुकै होस किन धेरै सोच्नु कसैले झुक्काएको होला सोच्यो। फेरि अर्को मनले सोच्यो आएकी छु भनेपछि पक्कै कोही मेरो चिनजानको केटी साथी वा आफन्त मध्ये कोही हुनुपर्छ एक चोटि कल गरी हेर्छु।
दुई मनको दोधारमा फोन गर्ने सोचले जित्यो। कल लगाएँ, दुई रिङमै फोन उठ्यो। ‘हेलो! हजुर को बोल्नु भएको होला?’ सिधै प्रश्न गरेँ।
‘ए! म इशा हो।’
यति भन्नासाथ बोलीबाटै चिनिहालेँ। नचिन्नु पनि कसरी? मेरो बाल्यकालदेखिकी मिल्ने साथी थिइन् उनी।
‘इशा! एक्कासि यति धेरै दिनपछि सम्झियौ त?’ पुनः प्रश्न गरेँ।
उताबाट ‘काठमाडौँबाट अघि मात्रै आइपुगेँ अनि तिमीलाई सम्पर्क गरेको। साँझ नै गाउँ जानु छ, यसो तिमीलाई पनि भेटौँ भनेर सम्झिएकी’ जवाफ आयो।
‘बुटवल कहाँ छ? म लिन आउँला’ भनेँ।
उनले भनेको ठेगानाअनुसार त्यहाँबाट मेरो डेरा आउन करिब एक घण्टा लाग्ने कुरा सुनाएँ र माइक्रोमा आउन सल्लाह दिएँ।
इशा, उमेरमा मभन्दा ४\५ वर्षले जेठी भए तापनि सानैदेखि सँगै हुर्कियो, बढियो, खेलियो। उच्च शिक्षाको लागि गाउँ छाडेपछि हाम्रो बोलचाल सामाजिक संजालहरूमार्फत भइरहन्थ्यो तर भेट नभएको वर्षौँ भएको थियो।
मन यसै फुरुङ्ग थियो, वर्षौँपछि बाल्यकालकी साथीसँग भेट्न पाउँदै थिए। रात्रि बसको यात्रा गरेर आउँदा थाकेकी होलिन् छिटो-छिटो खाना तयार पारिदिन्छु सोच्दै सब्जी राख्ने टोकरी हेरेँ। त्यो टोकरीले कति दिनदेखि हरियो सब्जीको दर्शन नपाएको थियो, त्यो उसैलाई थाहा थियो। आखिर गर्मी, अल्छी अनि थकानले गर्दा आमाले गाउँबाट मायाले राखिदिएको गुन्द्रुक र मस्यौराले छाक टारेको नै धेरै दिन जो भएको थियो।
डेरामा एक्लै बस्दा खाना बनाउन जाँगर नचल्नु मजस्तै परिवारबाट टाढा बस्नेहरूका लागि कुनै नौलो कुरा होइन। नजिकैको पसलमा सब्जी लिन निस्किएँ।
यत्तिकैमा फोन आयो। फोन इशाकै थियो, ‘म तिमीले भनेको ठेगानामा आइपुगेँ, अब कुन गल्ली हो?’
मैले ‘एकैछिन पख, म आइपुगेँ’ भन्दै लिन गएँ।
कयौँ वर्षपछि देखेको भएर होला नचिनिने भएकी थिइन्। एकछिन त हेरेको हेरै भएँ।
‘अहो! तिमी त कस्तो नचिनिने भएकी’ दुवैको मुखबाट एकैचोटि वाक्य निस्कियो।
उनको झोला लिएर डेरातर्फ लाग्यौँ। खाना बनाउँदै बाल्यकालमा सँगै बिताएका ती पलहरू सम्झियौँ जुन निकै मिठा यादहरू बोकेका थिए। सङ्घर्षको मैदानमा आए पछिका केही तिता तथा केही मिठा यादहरू पनि नथपिएका होइनन् तर हाम्रो लागि बाल्यकालका दिनचर्या नै प्रिय थिए।
केही बेरको उनको आराम तथा खाना खाने काम सकेपछि दिउँसो कतै निस्किने अनि साँझ रात्रि बसमा उनी गाउँ फर्किने योजना बन्यो।
गाउँमा घर नजिकै भएकोले उनी जाँदा मैले पनि बाबाआमालाई केही फलफूल तथा कोसेली पठाइदिने सोचमा बजार गयौँ। त्यहाँ नजिकैको पार्कमा पुग्यौँ। कयौँ वर्षपछिको भेट स्मृतिको लागि पनि फोटा खिच्नु, टिकटक बनाउनु स्वाभाविक थियो।
हामी फुरुङ्ग हुँदै रमाइरहेका थियौँ। यत्तिकैमा पछाडिबाट कसैले, ‘एक्सक्युज मि’ भनेको आवाज सुनियो। दुवै जनाले फर्किएर पछाडि हेर्यौँ।
आवाज कहीँ कतै सुनेको परिचित जस्तो त लागेको थियो। फर्किएर हेर्दा त मान्छे पनि परिचित लाग्यो। उनी अरू कोही नभएर इशाकै स्कुले दिनका प्रेमी थिए। बाल्यकालदेखि नै नजिक भएको भएर म उनलाई पनि राम्रोसँग चिन्थेँ। उनी त्यहाँ एक्लै थिएनन्, साथमा हाम्रै उमेरकी एउटी केटी रातो सिन्दूरले रङिएको शिरसँगै उनको साथमा उभिएकी थिइन्।
एकैछिन त दुवै पक्षमा मौनता छायो। मैले इशा र ती व्यक्तिको मुहार पालैपालो हेरेँ। पूर्णिमाको जून जस्तो हँसिलो त्यो मुहारमा एक्कासि औँसीको रात जस्तो अन्धकार झल्किरहेको पाएँ। मौनता चिर्न खोज्दै भनेँ- ‘हजुर, भन्नुस् केही सहयोग चाहियो कि?’
उनी मौन थिए तर छेउकी उनकी पत्नीले भने हामी दुई जनाको एउटा फोटो खिचिदिनु न है भन्दै आइफोन मेरो हातमा थमाइदिइन्।
म दुई ढुङ्गा बिचको तरुल जस्तै भएकी थिएँ। के भनौँ, के गरौँ भएको थियो। हस् भन्दै फोटो खिचिदिन लागेँ। एउटा दुइटा फोटो खिचेपछि तिनीहरू दुवै जना त्यहाँबाट हिँडे।
उनीहरू त गए तर यता इशाको हाल के भइरहेको थियो म राम्रोसँग बुझ्दथेँ किनकि उनीहरूको सानै देखिको त्यो प्रेम, दुवै जना सरकारी जागिरमा प्रवेश गर्ने त्यो सपनाको प्रत्यक्षदर्शी म थिएँ।
उनीहरू प्रेममा छँदा कहिलेकहीँ सानो कुरामा मनमुटाब हुँदा झगडा मिलाउन जानी नजानी प्रेमको न्यायाधीश धेरै पल्ट बनेका ती पलहरू झलझली घुम्न थाले। गाउँमा हुँदासम्म सबै राम्रै थियो। मभन्दा केही ब्याच सिनियर भए पनि कहिल्यै त्यस्तो अनुभव हुँदैन थियो। निकै मिल्थ्यौँ हामीहरू।
पछि उनीहरू दुवै जना उच्च शिक्षाको लागि काठमाडौँ छिरे। केही वर्षपछि म पनि गाउँदेखि बुटवलको यात्रा तय गरेकी थिएँ। अलग परिवेश अलग ठाउँ भए तापनि मित्रता उस्तै थियो। इशाले हरेक दिन सँगै लोक सेवाको क्लास लिएको, विभिन्न ठाउँ घुम्न गएकोदेखि लिएर सँगै बिताएका हरेक कुरा मलाई प्रायः मौका मिल्दा, लामो समयसम्म कलमा कुरा हुँदा सुनाइराख्थिन्।
भनिन्छ- हुर्किएको गाउँठाउँ अनि त्यहाँको परिवेशअनुसार हरेक मानिसमा केही न केही प्रभाव ल्याउँछ। हाम्रो गाउँघरका हामीजस्ता दाइदिदीहरू कोही लोक सेवाको तयारीमा त कोही सरकारी सेवामा प्रवेश गरेको देख्दा प्रायः धेरैको रोजाइमा लोक सेवा पर्दथ्यो र उनी अर्थात् इशाको प्रेमीको पनि सानैदेखि सरकारी सेवामा निकै रुचि थियो।
इशा भने त्यत्ति जाँगर देखाउँदिन थिइन्। बाबा सरकारी जागिरे भए पनि ‘अहिलेसम्म राम्रो उपलब्धि केही छैन, बरु विदेश जान्छु टन्न पैसा कमाउँछु। आखिर टन्न पैसा हुने हो भने इज्जत मान सम्मान सबै आइहाल्छ’ भनिराख्थिन्। तर उसको प्रेमीको कारणले गर्दा पनि काठमाडौँ गएपछि सरकारी सेवामा लाग्न शाखा अधिकृतको तयारीमा थिइन्।
उनीहरू बिचको त्यो समझदारी, करियरप्रतिको त्यो लगाव देखेर पढ्ने उमेरमा प्रेमको चक्करले करियर बिग्रिन्छ भन्ने भ्रम हराएर जान्थ्यो। पढ्ने बेला पनि बुझ्ने मान्छे हुने हो भने झनै सहज हुँदो रहेछ जस्तो लाग्थ्यो मलाई।
पछिल्लो समय कार्य व्यस्तताको कारण पहिला जस्तो सम्पर्क नभएकोले पनि इशाको जीवनको यस्तो कायापलटबाट म अनजान थिएँ। सपनामा पनि नसोचेको कुरा आँखै अघि भइरहँदा थरिथरिका कुरा मनमा आइरहेका थिए।
यतिकैमा सोधेँ, ‘इशा, यो सब कसरी? केही भनिनौ त!’
आफैँमा टोलाइरहेकी उनी मेरो प्रश्नले केही झस्किए जस्ती भइन्। गहभरिका आँसु लुकाउन खोज्दै उनी बोलिन्, ‘मैलेभन्दा छिटो सपनाको उडान उसले भर्यो। म सङ्घर्षका पखेटा च्यातिएकोले गर्दा उडान भर्न समय लाग्यो तर उता उसको पर्खाइ छोटो भयो। त्यसैले आज जुन दिन आयो त्यो तिम्रै आँखा अगाडि छ।’
साहित्यका भाव सजिलै बुझ्ने मान्छे मलाई उनको यो भनाइ बुझ्न गाह्रो पर्यो। मनमनै सोचेँ- कस्तो उडान भर्ने कुरा गर्दै छिन् यिनी? सिउँदो त फेरि उसले अर्कैको भरिसकेको छ।
लामो श्वास तान्दै इशाले पुनः आफ्ना कुरा सुरु गरिन्।
‘झन्डै तीन वर्षको तयारीपछि अधिकृतको सबै लिखित परीक्षा दुवैले एकै वर्ष पास गर्यौँ। अन्तरवार्ता दियौँ, नतिजा पनि आयो। लोक सेवा आयोगको वेबसाइटमा प्रकाशित उक्त नतिजामा उनको नाम-थर दुवै आयो तर मेरो नाम मात्रै आयो, थर अरू कसैको थियो। या भनौँ रात ल्याउन अन्धकार आए जस्तै, दिन ल्याउन उज्यालो आउँछ। त्यस्तै अपार मेहनतलाई लिन सफलता आउँछ सुनेकी थिएँ तर मेरो सङ्घर्ष लिन असफलता आयो।
त्यसपछिका केही दिनहरू कहाँ कसरी के गरेर बिते केही पत्तो पाइनँ। उनीसँग पनि पहिलेको जस्तो सम्बन्धमा सुमधुरता छाएन। पहिला पहिला महिनामा एक चोटि हामीबिच हुने मनमुटाब दिनहुँ हुन थाल्यो। बिस्तारै सम्बन्ध चिसियो, सेलायो।
म आफैमा हराएकी मान्छे, उनले खोज्छन् सोचिरहेँ तर सोचे जस्तो सबै कुरा हुने भए कति सहज हुँदो हो! त्यसो भएन। कुराकानी हुन छाडेको महिनौँ भएको थियो। उनी बदलिए? म बदलिए? वा समय परिस्थिति बदलिएर साथ टुट्यो? त्यो पत्ता लाउन चाहिने दोहरो संवाद हुन छाडेपछि पत्ता लगाउन मन पनि लागेन।
सुरुका केही दिन त मन बुझाउन सकिनँ। उक्त दिनको नतिजाले घरमा बिहेको कुरा आउँदा अधिकृत नहुँदासम्म बिहे गर्दिनँ भन्दै लगाएको घुर्की, जागिर खाएपछि यो गर्छु, त्यो गर्छु भन्दै बनाएका ती योजना लगायतका धेरै सपनाको हत्या गरिदिएको महसुस भयो। तर मन नै त हो, जसरी सम्हाल्न खोज्यो उस्तै गरी सम्हालिने रहेछ।
केही रुचि नभएको मान्छेलाई यो सरकारी सेवामा ल्याउने उनी थिए। बाबाआमाको पनि छोरी सरकारी जागिरे होस् भन्ने चाहना थियो। कहिलेकाहीँ त्यो पाठ्यक्रम देख्दा, जति पढ्यो उति बिर्सिँदै जाँदा हिम्मतका साथ अघि बढ्न सिकाउने उनी थिए। त्यसैले सम्बन्ध टुटे पनि उनले मलाई सिकाएको मेहनत गर्ने शैली, आँट र हौसला टुटाएकी थिइनँ। तयारीमा लागिरहेँ।
मन जसोतसो सम्हाल्दै पछिल्लो दिनमा संघ तथा प्रदेशका अन्य तहका परीक्षा पनि दिएँ तर कतै प्रथम पत्र बल्लतल्ल कटे पनि दोस्रो पत्रमा गुल्टिएँ। कतै अन्तर्वार्तामा फालिएँ त कतै विकल्पको रूपमा मेरो नाम-थर सहितको नतिजा पाएँ। त्यसपछि त लड्दै उठ्दै गर्ने बानी परिसकेको थियो।
खै! किन हो त्यतिका वर्षको प्रेमको हारको अघि जिन्दगीको हार पनि सानो लाग्न थाल्यो। अनि एक चोटि अन्तिम पल्ट उनीसँग कुरा गर्ने आँट आयो। महिनौँपछि नाम सर्च गरेँ तर ब्लक भइसकेकी रहिछु। तर खै अन्तिमपल्ट भए पनि उनलाई एक चोटि केही नबोले पनि देख्न मन थियो। सायद भगवानले मेरो पुकार सुन्नु भएछ क्यार, आज अन्तिमपल्ट अचानक भेट भयो।’
इशाका सबै कुरा सुनिरहेकी मलाई यो आज अन्तिमपल्ट भने शब्दले झस्कायो। हत्तपत्त सोधेँ, ‘अन्तिमपल्ट भन्नाले? कस्तो? के?’
यत्तिकैमा इशाको फोन बज्यो। कुनै नयाँ नम्बरबाट कल आएको थियो।
को हो, के हो केही परिचय नसोधी ‘अनि तिमी अझै अधिकृत भएकी छैनौ?’ प्रश्न सुनियो।
फोन लाउड स्पिकरमै थियो। आवाजले गर्दा पनि फोन उनैको हो भन्ने चिन्न गाह्रो परेन।
जवाफमा इशाले, ‘रुचि नै नभएको क्षेत्रमा पनि कठिन मिहिनेत, सङ्घर्षका साथ लगाव ल्याइदिएको मान्छेसँग छुट्टिन लेख्या भएर होला, सङ्घर्षको चाबीले लोक सेवाको ताला खुल्नै लाग्दा पनि भाग्यले ढोका खोलिदिएन। त्यसैले एक हप्तापछि विदेशको फ्लाइट छ। जानुभन्दा अघि अन्तिमपल्ट तिमीलाई देख्न पाएँ खुसी र दुखी एकैचोटि भएकी छु। परदेशिनुभन्दा अघि बाबाआमाको साथै गाउँको माया बटुल्न आज नै गाउँ जाँदै छु।’