सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेको भिडिओ भाइरल भएपछि सोधपुछका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी एसपी दीपक गिरीले सामाजिक सञ्जालमा भिडिओ आएपछि ट्राफिक प्रहरीलाई सोधपुछका लागि बोलाइएको बताए।
‘सामाजिक सञ्जालमा भिडिओ आएपछि त्यहाँको कमान्डरलाई सोधपुछका लागि बोलाइएको छ। अरू के कारणले भएको हो भन्ने विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने।
उक्त भिडिओ प्रहरी प्रभाग, नागढुंगा परिसरको हो।
बुधबार बिहान ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हानेको भिडिओ भाइरल भएको थियो।
भिडिओमा ट्राफिक प्रहरीले प्रहरीलाई सडकको बीचमा थप्पड हान्दै लछारपछार पारेका छन्। मोबाइल हेर्दै प्रहरीलाई लछारपछार पार्दै कुटपिट गरेको भिडिओमा देखिन्छ।