डाक्टर कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प छ।
नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन्।
भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।
ज्यान मार्ने उद्देश्यले डाक्टरहरूमाथि आक्रमण भएको उनीहरूको भनाइ छ।
डाक्टरहरू गम्भीर घाइते भए पनि दोषीमाथि कानुनी कारबाही नभएको भन्दै चिकित्सकहरूले विरोध गरेका हुन्।
आकस्मिकबाहेक अन्य सेवा सञ्चालन गर्न असमर्थ रहेको जानकारीसहितको पत्र चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।
साथै डाक्टर कुटपिट घटनाको विरोधमा ७८ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।
यो पनि:
चिकित्सक कुट्नेलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री
डाक्टर कुट्नेलाई पक्राउ गर्न, कानुनबमोजिम मुद्दा चलाउन पनि प्रधानमन्त्रीको निर्देशन चाहिने!
हेटौंडामा कुटिएका डाक्टर भन्छन्- एसपीकै अगाडि काट्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ?