युक्रेनले रूसको राजधानीमा ड्रोन हमला गरेको छ।
शनिबार रातिदेखि युक्रेनले मस्कोमा ठूलो परिमाणमा ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका लागि रूससँग वार्ताको प्रस्ताव गरेकै दिन किभले मस्कोमा ड्रोन हमला गरेको हो।
रूसको रक्षा मन्त्रालयले गएराति ११७ वटा युक्रेनी ड्रोन निष्क्रिय गरिएको बताएको छ। त्यसअघि शुक्रबार राति पनि १७२ वटा ड्रोन खसालेको रोयटर्सले जनाएको छ।
युक्रेनी हमलापछि मस्कोका मुख्य विमानस्थलहरूमा उडान रद्द र ढिलाइ भएको थियो।
त्यसले विमानस्लथमा मानिसहरूको ठूलो भिड लागेको रोयटर्सले जनाएको छ।
रूसले पनि युक्रेनको राजधानीमा ड्रोन र मिसाइल आक्रमण गरेको रोयटर्सले जनाएको छ। आक्रमणमा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्।
आक्रमणबाट सब-वे स्टेशन, व्यापारिक भवन, पसल र निजी घरहरूमा क्षति पुगेको किभका मेयर भिटाली क्लित्स्कोले रोयटर्सलाई बताएका छन्।
दुई देशबीच युद्धविराम गराइछाड्ने कोसिस असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई मस्कोमै हान्न सक्ने लामो दूरीको शक्तिशाली हतियार दिने घोषणा गरेका थिए।
पढ्नुसः ट्रम्पले सोधे— जेलेन्स्की, हतियार पायौ भने तिमीले मस्कोमा हान्न सक्छौ?
ट्रम्पले घोषणा गरेको भए पनि हतियार भने युक्रेनले पाइसकेका थिएनन्।
शक्तिशाली हतियार दिने घोषणा गरेपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन संवाद समेत गरेका थिए। त्यतिबेला उनले जेलेन्स्कीलाई हतियार दिएको खण्डमा मस्कोमा हान्न सक्छौ? भनेर प्रश्नसमेत गरेका थिए।
जबाफमा जेलेन्स्कीले अमेरिकाले हतियार दिएको खण्डमा मस्कोमा हान्न कुनै समस्या नहुने बताएका थिए।
पछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई आक्रमण नगर्नू भनेर किभलाई सुझाव दिएको बताएका थिए।
उनले पुटिनसँगको सम्बन्ध पूर्ण रूपमा बिग्रिनसकेको र वार्ता हुने सम्भावना बाँकी नै रहेको बताएका थिए।
ट्रम्पले युक्रेनसँग वार्ता टेबलमा आउन पुटिनलाई ५० दिनको समय दिएका थिए।