जेन–जी आन्दोलन क्रममा भएको लुटपाट, तोडफोड र आगजनीबाट अशान्त बनेको जनजीवन सामान्य बन्दै गएको छ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाको मृत्यु भयो। देशभर १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका भएका थिए।
लुम्बिनीमा ३७ प्रहरी र २० प्रदर्शकारी घाइते भए।
लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा पनि ठूलो भौतिक क्षति भएको छ।
स्थानीय प्रशासन कार्यालयहरूले भौतिक क्षतिको विवरण संकलन गरिरहेका छन्। प्रहरीका अनुसार धेरैजसो जिल्लामा आइतबार बिहानसम्म कर्फ्यु र निषेधाज्ञा रहेकाले दिउँसो मात्र क्षतिको विवरण संकलन सुरू भएको छ।
सोमबार अपराह्नसम्म पनि लुम्बिनीका सरकारी कार्यालय, प्रहरी चौकी, राजनीतिक दल र संघसंस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीको यकिन विवरण प्राप्त भएको थिएन।
रूपन्देही
सम्बन्धित जिल्लाका प्रहरी प्रशासनले दिएको जानकारी अनुसार सबभन्दा बढी क्षति रूपन्देहीमा भएको छ। जिल्ला प्रशासन कार्यालय, रूपन्देहीका अनुसार कुन कुन कार्यालयमा कस्तो क्षति भएको छ भन्ने सबै विवरण आइपुग्न बाँकी छ।
सोमबार बिहानसम्म प्राप्त विवरण अनुसार सरकारी र निजी गरी ६० वटाभन्दा बढी भवनमा लुटपाट, तोडफोड र आगजनी भएको छ।
बुटवल उपमहानगरपालिकासहित ४ नम्बर वडा कार्यालय, प्रदेश प्रमुखको कार्यालय र उनको निवास, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, हुलाक, मालपोत, यातायात, सरकारी वकिल, बुटवल र भैरहवामा रहेका आन्तरिक राजस्व कार्यालयका भवनमा क्षति भएको छ।
बुटवलमा रहेका राष्ट्रिय अनुसन्धान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा तोडफोड र आगजनी भएको छ।
भैरहवामा रहेका जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, भन्सार, जिल्ला वन डिभिजन, लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन गाउँपालिका वडा नम्बर १, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ कार्यालयमा तोडफोड र आगजनी भएको छ।
सिद्धार्थनगर, सैनामैना र देवदह नगरपालिका कार्यालयमा पनि तोडफोड भएको छ।
बुटवल बसपार्कस्थित अस्थायी प्रहरी बिट, भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मंगलापुर इलाका प्रहरी कार्यालय र अस्थायी गल्लामन्डी प्रहरी बिट तोडफोड र आगजनी भएको छ।
प्रहरीको एउटा गाडी र २७ वटा मोटरसाइकलमा आगजनी भएको छ। केही मोटरसाइकल लुटिएका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सरकारी गाडीमा पनि तोडफोड र आगजनी भएको छ।
विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिका घरमा आगो लगाइएको छ।
तिलोत्तमा–१, शंकरनगरस्थित लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीको र वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीको घरमा आगो लगाइएको छ।
तिलोत्तमा नगरपालिका–८, चार नम्बरस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका भाइ श्यामकृष्ण खाण र तिलोत्तमाका मेयर रामकृष्ण खाणका घरमा आगजनी भएको छ।
सैनामैनाका मेयर फणीन्द्र शर्मा र उपमेयर विना रानाको घरमा तोडफोड र आगजनी भएको छ।
सैनामैनाकै पूर्वमेयर चित्रबहादुर कार्की, तिलोत्तमाका पूर्वमेयर एवं संघीय सांसद वासुदेव घिमिरे र देवदहका मेयर ध्रुव खरेलको घरमा लुटपाट, तोडफोड आगजनी भएको छ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, सिद्धार्थनगरका पूर्वमेयर एवं राप्रपाका नेता सागरप्रताप राणा र संघीय सांसद सर्वेन्द्रनाथ शुक्लाको घरमा आगजनी भएको छ।
एमाले नेता एवं लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोष पाण्डेयका घरमा पनि आगजनी भएको छ।
अधिकांश निजी घरमा तोडफोड र आगजनीसँगै लुटपाट पनि भएको छ।
रूपन्देहीका चार वटा ठूला होटल ड्रिम इन्टरनेसनल, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, टुलिप र बोधी र्याडिसनमा लुटपाट, तोडफोड र आगजनी भएको छ। सबभन्दा बढी क्षति ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा भएको जनाइएको छ।
बुटवल र भैरहवामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला र नगर कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ।
बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भएको छ।
कपिलवस्तु
कपिलवस्तुमा पाँच वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवास, कर कार्यालय, जिल्ला कारागार र जिल्ला अदालतमा तोडफोड भएको छ।
यी सबै कार्यालय तौलिहवाका हुन्। यी कार्यालयहरूमा भएको क्षतिको विवरण यकिन भएको छैन।
राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका घर गरी १२ वटा भवनमा तोडफोड र आगजनी भएको छ। तोडफोड र आगजनीमा नेपाली कांग्रेसका र नेकपा एकीकृत समाजवादीका कार्यालय परेका छन्।
बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, तत्कालीन संघीय मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, पूर्वसांसद दीपकुमार उपाध्याय, भूमि आयोगका अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता डम्मर शर्मा र पूर्वमन्त्री सुरेन्द्रराज आचार्यको घरमा तोडफोड र आगजनी भएको छ।
आचार्यको घर बुद्धभूमि नगरपालिकामा थियो।
दाङ
दाङमा कम्तीमा २० वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
स्थानीय प्रशासनका अनुसार घोराहीस्थित नापी कार्यालय, वडा नम्बर ५, ८, ११, १२, १४ र १८ का कार्यालयमा तोडफोड भएको छ।
सडक डिभिजन कार्यालयमा तोडफोड र आगजनी भएको छ। जिल्ला अदालतको गेटमा पनि क्षति पुगेको छ।
बबई गाउँपालिकाको कार्यालय तथा वडा नम्बर ४ र ५ का वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ।
इलाका प्रशासन कार्यालय, तुलसीपुरको भवन र नागरिक सहायता कक्षका झ्यालका सिसा फुटेका छन्।
तुलसीपुर उपमहानगरपालिकाको एउटा गाडी तोडफोड भएको छ। घोराही उपमहानगरको गाडीमा आगजनी भएको छ।
तुलसीपुरका वडा नम्बर ६, ८ र १८ का कार्यालय तथा बसपार्कमा उपमहानगरपालिकाले बनाएका घरटहरामा तोडफोड र आगजनी भएको छ।
तुलसीपुरकै कर कार्यालय, मालपोत कार्यालय, नेपाल आयल निगमको डिपो र उच्च अदालतमा तोडफोड आगजनी र भएको छ।
दाङमा करिब १० वटा प्रहरी कार्यालय र चौकीमा तोडफोड भएको छ। घोराहीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनमा आगजनी भएको छ।
दाङका विभिन्न ठाउँमा ८ वटा पार्टी कार्यालय तोडफोड र आगजनीमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
प्रहरीका अनुसार घोराही उपमहानगरका पूर्वमेयर नरूलाल चौधरी, पूर्वसांसदहरू कोमल वली र हीराचन्द्र केसीको घरमा तोडफोड र आगजनी भएको छ।
तुलसीपुर उपमहानगरपालिकामा रहेका पूर्वमुख्यमन्त्री तथा एमालेका महासचिव शंकर पोखरेल, अर्का पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्वमन्त्री गेहेन्द्र गिरीको घर पनि निशानामा परे।
घोराही उपमहानगरस्थित होटल मालाइनमा पनि तोडफोड र आगजनी भयो। उक्त होटल गायक कोमल वलीले यसै वर्ष सुरू गरेकी थिइन्।
बाँके
बाँकेमा सरकारी र व्यक्तिहरूका गरी दुई दर्जन जति भवनमा तोडफोड र आगजनी भएको छ।
प्रहरीका अनुसार कोहलपुरस्थित नापी, मालपोत, विद्युत, कोहलपुर नगरपालिका, राजस्व, इलाका प्रशासन र कोहलपुर नगरपालिका वडा नम्बर ८ का कार्यालयमा तोडफोड र आगजनी भएको छ।
नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन, यातायात व्यवस्था, जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास, मालपोत, नेपालगन्ज भन्सार लगायत कार्यालय निसानामा परेका छन्।
नरैनापुर गाउँपालिका, इलाका प्रशासन, इलाका प्रहरी र नेपालगन्ज ट्राफिक पोस्टमा पनि तोडफोड र आगजनी भएको छ। निसानामा परेका बाँकेका अधिकांश कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको घर पनि निशानामा पर्यो। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ। प्रहरीका दुई वटा गाडी जलाइएका छन्।
पश्चिम नवलपरासी
नवलपरासीमा सरकारी र संघसंस्थाका कार्यालय तथा निजी गरी करिब ४० वटा घरमा क्षति भएको छ। प्रहरीका अनुसार आगजनी र तोडफोडमा परेका अधिकांश घरमा पूर्ण क्षति भएको छ।
बर्दघाट नगरपालिका, वडा नम्बर १, ४ र १० का कार्यालय, सरावाल गाउँपालिका वडा नम्बर १ र २ का कार्यालय निशानमा परे। राष्ट्रिय आवास कम्पनी कार्यालय तोडफोड र आगजनीबाट ध्वस्त भएको छ।
एउटा सामुदायिक वनको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा त्यहाँ रहेका दुई वटा सरकारी गाडीमा र एउटा मोटरसाइकलमा पूर्ण क्षति भएको छ।
रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नापी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ।
सुनवल नगरपालिका वडा नम्बर १, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर ३, सरावाल गाउँपालिकाको वडा नम्बर ७ कार्यालय निसानामा परे।
जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ।
प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका एकएक वटा गाडीमा आगजनी भएको छ। बिपी कोइरालाको शालिक तोडफोड भएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, संघीय सांसद सरिता खनाल, बर्दघाटका मेयर शम्भुलाल श्रेष्ठ, उपमेयर रूद्रप्रकाश उपाध्याय, बर्दघाटका पूर्वमेयर धीरज बस्याल, प्रदेश सांसद विश्वप्रेम पाठक, सुनवलका मेयर विमला अर्यालका घरमा तोडफोड र आगजनी भएको छ।
संघीय सांसद विनोद चौधरीको सचिवालय र बर्दघाट उद्योग वाणिज्य संघको भवनमा पूर्ण क्षति भएको छ।
सुनवल नगरपालिकाका उपमेयर सूर्य दुवे, नगरपालिकाका सबइन्जिनियर रेसम शर्मा, एमाले नेता थानप्रसाद गैरे, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवार, पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका घर पनि निसानामा परे।
उपाध्यायको निजी गाडीमा आगजनी भयो।
बर्दिया
बर्दियामा नेपाली कांग्रेसका नेता एवं संघीय सांसद सञ्जय कुमार गौतम घर र गुलरिया नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयका सामान बाहिर निकालेर जलाइयो। गुलरियामा रहेको गणेशमान सिंहको शालिक तोडफोड भयो।
अर्घाखाँची
अर्घाखाँचीमा सरकारी कार्यालय, पार्टी कार्यालय र निजी गरी १० वटा भवनमा आगजनी र तोडफोड भएको छ।
चार वटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालय र एउटा निजी भवन निसानामा परे।
सन्धिखर्कस्थित मुख्यमन्त्री चेतनारायण आचार्यको घर आगोले ध्वस्त भएको छ।
जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका तथा वडा नम्बर १ र २ को कार्यालयमा तोडफोड भएको छ।
सन्धिखर्कस्थित नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय जनमोर्चाका कार्यालय निसानामा परे। कांग्रेस र एमालेका कार्यालयमा आगजनी भयो। अन्यका कार्यालयबाट सामान बाहिर निकालेर जलाइएको छ।
गुल्मी
गुल्मीमा राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी भयो। तम्घासमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय निसानामा परे।
प्यूठान
प्यूठानमा मुख्य राजनीतिक दलका कार्यालय निसानामा परे। नेकपा एमाले र माओवादी केन्द्रका आआफ्नै भवन थिए। कांग्रेस र राष्ट्रिय जनमोर्चाका कार्यालय भाडाका घरमा थिए।
लुम्बिनी प्रदेशका पाल्पा, रोल्पा र रूकुममा कुनै किसिमको क्षति भएन।
प्रदेश प्रहरीका अनुसार बाँकेको नौबस्तास्थित बाल सुधार गृहबाट भाग्ने क्रममा प्रहरीसँग झडप हुँदा ५ जना बालबन्दीको मृत्यु भयो। सो बाल सुधार गृहमा ९० जना बालबन्दी थिए। तीमध्ये ५ जना मारिए, ८५ जना अझै फरार छन्।
कपिलवस्तु कारागारबाट ४३१ जना कैदीबन्दी भागेकामा ५६ जना पक्राउ परे। निस्केका कैदीबन्दीले जिल्ला अदालतमा आगो लगाएका थिए।
दाङबाट पनि २१३ जना कैदीबन्दी भागेकामा ४० जना पक्राउ परेका छन्।
बाँकेको नौबस्ता कारागारबाट १५० जना कैदीबन्दी भागे।
प्रदेश प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा ३७ जना प्रहरी र २० जना प्रदर्शनकारी घाइते भएका थिए।