बेलायती नागरिक ह्यारी ज्याक्सन युट्युबर हुन्, जो यसपालि संयोगले नेपाल आइपुगेका थिए।
जब उनी काठमाडौं आइपुगे, उनले थाहा पाए — यहाँ जेन–जीको आन्दोलन चर्किएको छ। १९ जना युवाको दुःखद मृत्यु भइसकेको छ।
भदौ २४ गते, बिहान ११ बजेतिर उनी आफ्नो बाइक (मोपेड) मा आफू बसेको होटलबाट निस्के। सडकको एक किनारमा बाइक पार्क गरे र हेलमेट र क्यामरा बोकेर अगाडि बढे।
त्यस दिन बानेश्वरमा एउटा इतिहास बन्दै थियो। कति क्षण दुःखद र भयानक थिए। ह्यारीले त्यो इतिहास आफ्नो क्यामरामा कैद गरे। ठिंग उभिएर क्यामरा ठड्याएर होइन, प्रदर्शनकारीका बीच बीच घुस्रिएर, भागदौड गरेर, अश्रु ग्यास खाएर, ज्यानकै बाजी राखेर!
ह्यारीका निम्ति त्यो आन्दोलन भयंकर थियो। उक्सिएर आन्दोलनको भिडमा छिरेका उनलाई केही डर पनि लागेको थियो। तर उदार मनका नेपालीहरूबीच उनको डर गायब भयो!
तोडफोड, आगजनी, ढुंगामुढा गरिरहेका आक्रोशित युवाहरूले समेत उनलाई मुस्कानले स्वागत गरे। उनको क्यामरा अगाडि उभिएर 'फुटेज' हरू दिए।
संसद भवनसहित देशका प्रमुख संरचनाहरू जलेको साक्षी बनेका उनले फर्किँदा सायद आफ्नो बाइकको माया मारेका थिए!
जब पार्क गरेको ठाउँमा सग्लै देखे, उनी छक्क परे। त्यहीँ उनलाई केही मानिसले खाने पानी दिए।
ह्यारी नेपालीहरूको स्वभाव देखेर झन् चकित परे।
'केही शान्त र रमाइलै होला भनेर म त्यस दिन भिडिओ खिच्न गएको थिएँ। त्यस्तो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ। पत्याउनै नसकिने घटनाहरू भए। मैले नेपालको एक इतिहास नै खिचेछु,' ह्यारीले आफ्नो भिडिओमा भनेका छन्।
उनको त्यो दिनको भिडिओ युट्युबमा अहिले साढे दुई करोडभन्दा बढीले हेरिसकेका छन्। एक करोड भ्युज त उनले दुई दिनमै कमाए।
मिडियाले समेत खिच्न नसकेका नेपालको ऐतिहासिक आन्दोलनका धेरै दृश्य एक सामान्य ब्रिटिस युट्युबर ह्यारीको क्यामराबाट संसारभर फैलियो।
ह्यारी नेपालमा त अहिले सेलेब्रेटी सरह भएका छन्।
उनको त्यो भिडिओले सम्भवतः उनलाई नेपालकै चर्चित आम पर्यटक बनाएको छ। अहिले काठमाडौंका गल्लीमा हिँड्दा पनि उनलाई केटाकेटीदेखि अधबैंसे उमेरसम्मकाले हाई, हेलो, नमस्ते भन्दै बोलाउँछन्। धेरै जना रोकिएर फोटो पनि खिच्छन्। कति उनलाई 'हामीले तपाईंको भिडिओ हेरेका थियौं' भन्दै सुनाउँछन्।
कसैले पसलमा बोलाएर चिया, खाजा, लस्सी खुवाउँछन्। कसैले आफ्नो मोटरसाइकल चलाउन दिन्छन्।
यो सबै देखेर ह्यारी भन्छन्, 'म त सेलेब्रेटी नै भएछु। काठमाडौंमा मलाई जसले पनि चिनिरहेका छन्। यो मेरो जीवनमा कल्पनै गर्न नसक्ने कुरा भएको छ। नेपालीहरू साँच्चै महान छन्।'
युट्युबमा 'WeHateTheCold' नामले चिनिने ह्यारी बाइक यात्राबारे भिडिओहरू बनाउँछन्। उनी यो च्यानलमा उनको यात्रा क्रममा आउने दृश्य, चुनौतीसँगै बाइकबाट देखिने संसारको भिडिओ राख्छन्।
उनले आफ्नो सामाजिक सन्जालमा एक पटक लेखेका थिए, 'भ्यालेन्टाइन्स डेमै मैले मेरो बाइकसँग बिहे गरेको हुँ।'
यसरी बाइक नै कुदाएर संसारका विभिन्न कुना पुग्दै, भिडिओ बनाउँदै हिँडेका ह्यारी जानी नजानी नेपालको ऐतिहासिक परिवर्तनको हिस्सा बने।
रोचक कुरा त खासमा उनी यसपालि नेपाल भ्रमण गर्न आएका थिएनन्।
उनी बाइकमार्फत थाइल्यान्डदेखि बेलायतसम्मको यात्रामा थिए। त्यहीबीच भारतको बाटो हुँदै पाकिस्तान जान अनुमति मागेका थिए। अनुमति नपाएपछि बाइक काठमाडौंबाट दुबई पठाउनुपर्यो। यसका लागि उनी काठमाडौं आएका हुन्।
उनले भिडिओहरूमा बताए अनुसार चार महिनाअघि चाहिँ उनी नेपाल घुम्न आएका थिए। आउनुअघि उनले धेरैको मुखबाट नेपालबारे सुनेका थिए।
'बुबाले सानो छँदा मलाई वीर गोर्खाको कथा सुनाउनु हुन्थ्यो,' ह्यारीले भनेका छन्, 'पहिलो पटक आउँदा नेपाल धेरै शान्त थियो।'
यसपालि आन्दोलनमै परे पनि उनले भिडिओमा आन्दोलनका दृश्य मात्र खिचेका छैनन्, नेपालीहरूले एउटा विदेशीप्रति देखाएको आदर र माया पनि देखाएका छन्।
भदौ २५ गते, बुधबार कर्फ्युका दिन पनि उनी बाहिर निस्के र आन्दोलनबारे थप बुझे।
'समय जति कठिन भए पनि नेपालका मानिसहरूमा मानवता कायम रहेछ,' उनले भनेका छन्, 'यस्तो समयमा अरू कुनै देशमा भएको भए मलाई हानि पुर्याउँथे वा नराम्रो व्यवहार गर्थे होला। तर नेपालमा मैले कहिल्यै त्यस्तो महसुस गरिनँ। यहाँका मानिसहरू धेरै राम्रा छन्। म फेरि पनि नेपाल आउनेछु।'
नेपालबारे उनको भिडिओ संसारका विभिन्न ठाउँका मानिसहरूले हेरेका छन्। विषम परिस्थितिमा पनि नेपाल पर्यटकका निम्ति कति धेरै सुरक्षित छ भन्ने सन्देश दिन ह्यारी सफल भएका छन्।
धेरै विदेशीले उनको भिडिओमा कमेन्ट गरेका छन्ः
— यो देखेर मलाई अहिल्यै नेपाल घुमौं जस्तो भएको छ।
— नेपाल यस्तो महान होला भनेर हामीले सोचेका पनि थिएनौं, एक दिन पक्का जानेछौं।
— नेपाल घुम्न कस्तो होला भन्ने सोचिरहेका थियौं, अब ढुक्कले गइन्छ।
अनि ठट्यौली पारामा नेपालीहरू भनेका छन्ः
— ह्यारीलाई नेपालकै परराष्ट्र मन्त्री बनाउनुपर्छ।
— यी भ्लगर थिए, यो आन्दोलनले पत्रकार बनाइदियो!
— यो भिडिओको डकुमेन्ट्री बनाऊ, अस्कर अवार्ड पाउँछौं!
उनले केही कमेन्टमा जबाफ पनि फर्काएका छन्।
भनेका छन्, 'नेपालको यस्तो राजनीतिक विद्रोह क्यामरामा कैद गर्न पाउनु मेरो भाग्यमा रहेछ।'
अनि उनको सरहना गर्दै धेरैले भनेका छन् — ऐतिहासिक आन्दोलनका बेला उठेको कालो मुस्लोबीच यो भिडिओमा नेपालीको मानवताको उज्यालो पनि देखिएको छ!