प्रधानमन्त्री बालेन शाहको निर्देशनमा शनिबार बिहानै खाली गराइएको थापाथली सुकुम्बासी बस्तीका धेरै बसोबासी ठाउँ सरेर लाखापाखा लागिसके। कोही राति नै बसाइ सरे भने कसैले बिहानभरि सामान सारे।
केही परिवार भने यस्ता पनि छन्, जसले यहाँबाट सर्न डेरा पाइसकेका छैनन्। उनीहरूले आफ्ना सामानहरू पोको पारेर त राखेका छन्, तर कोठा नपाएकाले सरिहाल्न सकेका छैनन्।
तिनैमध्ये जनकपुर घर भएका एक सुकुम्बासी परिवार अहिले बाटोमै खाना पकाइरहेको दृश्य देखिएको छ।
छेउमा डोजरले यहाँका झुपडी र भौतिक संरचना भत्काइरहेका छन्, उनीहरू भने चिन्तित मुद्रामा खाना पकाएर खाँदै छन्।
२० वर्षदेखि थापाथली सुकुम्बासी बस्तीमा बसिरहेका उनीहरूको स्थायी ठेगाना जनकपुर हो।
थापाथलीका सुकुम्बासीहरूलाई सुरूमा रंगशाला लगेर राख्ने र त्यहाँबाट सुन्दरीघाटमा लैजाने तयारी छ। तर सुन्दरीघाट जान कोही पनि सम्पर्कमा नआएको महानगर नगर प्रहरी प्रमुख विश्वप्रसाद जोशीले बताएका छन्।
उनका अनुसार रंगशालाको 'होल्डिङ सेन्टर' जानेमा अहिलेसम्म एक जना आमा र दुई जना बच्चा मात्र छन्।
रौतहट घर भएकी मनीषा यादव र उनका ५ र ३ वर्षका बच्चालाई रंगशाला लगेर राखिएको नगर प्रहरीले जनाएको छ।
सुकुम्बासी बस्ती खाली गर्न जनपद, सशस्त्र र काठमाडौं महानगरका नगर प्रहरीहरू ठूलो संख्या परिचालन गरिएको थियो। उनीहरूले सुकुम्बासीहरूका सामान सार्न मद्दत गरिरहेका देखिन्थे।
सबै सुकुम्बासीले सामान सारिसकेपछि डोजर, एक्स्काभेटर लगायतका उपकरण प्रयोग गरेर यहाँका झुपडी र अन्य भौतिक संरचना भत्काउन सुरू गरिएको छ। बिहान १० बजेसम्म करिब ७० प्रतिशत भौतिक संरचनाहरू भत्काइसकेको जोशीले जानकारी दिए।
उनका अनुसार झुपडी लगायतका भौतिक संरचना हटाउन सुरूमा दुइटा डोजर परिचालन गरिएको थियो। पछि तीनवटा डोजर थपियो। सामानहरू उठाएर लैजान दुईवटा क्रेन पनि तयारी अवस्थामा राखिएका छन्।
-ink-1777092083.jpeg)
-ink-1777092082.jpeg)
-ink-1777092082.jpeg)
-ink-1777092082.jpeg)
-ink-1777092082.jpeg)
-ink-1777092081.jpeg)
-ink-1777092081.jpeg)