जल तथा मौसम विज्ञान विभागले मंगलबार ११ जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ।
विभागका अनुसार कोशीदेखि लुम्बिनीसम्मका ११ वटा जिल्ला र आसपासका क्षेत्रमा मंगलबार दिउँसादेखि हावाहुरी चल्नेछ।
कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा हावाहुरीको जोखिम छ।
मधेस प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला, बागमती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्ला र गण्डकी प्रदेशअन्तर्गत नवलपुर तनहुँसहित आसपासका जिल्लामा हावाहुरी आउन सक्नेछ।
त्यस्तै लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीसहित आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको विभागले बताएको छ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशखाले जनाएको छ।