भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ।
भारतीय मौसम विज्ञान विभागले नेपालको पूर्वी तथा मध्य तराईका भूभागमा मनसुन आइपुगिसकेको संकेत गरेको छ। तर नेपालको जल तथा मौसम विज्ञान विभागले मनसुन भित्रिएको वा नभित्रिएकोबारे जानकारी दिएको छैन।
यसबारे हामीले मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्याललाई सोध्यौं। उनले भारतले आफ्नो नक्सामा निलो संकेत दिँदै नेपालको पूर्वी भेगसम्म मौसमी वायु विकास भएको जानकारी दिएको बताए।
भारतको मौसम विभागले संकेत दिए पनि नेपालले निर्क्यौल गरिहाल्ने बेला भएको छैन।

'नेपालको पूर्वी भूभागमा मनसुनी वायुको गतिविधि देखिन थालेको छ। तर परिपक्व भइसकेको छैन। मनसुन भित्रिएको यकिन गर्न हावामा जलवाष्पको मात्रा पनि हेर्नुपर्छ,' उनले भने।
विभागले यही साताभित्र मनसुन भित्रिएको निर्क्यौल गर्ने पनि सम्भावना व्यक्त गरे।
'अहिलेसम्मको अवलोकनका आधारमा नेपालको पूर्वी भेगको मौसम प्रणालीमा मनसुनी वायुको प्रभाव देखिन थालिसकेको छ। अहिले पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ, खासगरी कोशीका पहाडी भेगमा। अहिलेको प्रणालीमा मनसुनी वायुको प्रभाव रहेको छ। तर यही आधारमा मनसुन भित्रिसक्यो भन्न सकिँदैन,' उनले भने।
अहिले लुक्ला विमानस्थल, नुम केन्द्र, सिन्धुलीको रानीचुरी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
नेपालमा सरदर जुन १३ (जेठ ३०) मा मनसुन भित्रने गर्छ। यसपटक पनि सोही आसपास मनसुन भित्रिने अनुमान गरिएको छ। अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको थियो। नेपालमा सरदर १२० दिन मनसुन रहने गर्छ।
यो पनि पढ्नुहोस्: