काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग जाने भित्री बाटोमा मुगुका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह गरेको घटनाबारे सामाजिक सञ्जालमा विभिन्न भिडिओ फुटेज सार्वजनिक भइरहेका छन्।
यो घटनालाई लिएर फरक फरक धारणा बाहिर आए पनि गणेश कसरी आत्मदाह गर्ने अवस्थासम्म पुगे भन्नेबारे अझै धेरै अन्योल र प्रश्नहरू कायम छन्।
यसबीच उनको आत्मदाहबारे छानबिन अघि बढाएको प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरू गरेको छ। सँगसँगै, यो घटना कसरी भएको थियो भन्ने विषयमा उपलब्ध भिडिओ फुटेजहरू पनि केलाइरहेको छ।
हामीले पनि घटनास्थलमा रहेका पसलका सञ्चालक, प्रत्यक्षदर्शी स्थानीय तथा बिहीबार घटनास्थलमै रहेका राइडरहरूसँग कुराकानी गरेका छौं।
प्रहरीको प्रारम्भिक अनुसन्धान र हामीले घटनास्थलका प्रत्यक्षदर्शीसँग गरेको कुराकानीका आधारमा गणेश बिहीबार बिहान अन्दाजी ११ बजे यात्रु लिएर राहदानी विभाग पुगेका थिए।
उनी यात्रु ओरालेर राहदानी विभागको २ नम्बर गेट अगाडि उभिएका थिए। विभाग छिर्ने मुख्य गेट नै यही हो। यहाँबाट लगभग २०० मिटर तल ३ नम्बर गेट पर्छ। यही गेट नजिकै विश्व निकेतन स्कुल र क्याम्पस छन्।
गणेश राहदानी विभागको २ नम्बर गेट अगाडि मोटरसाइकलसहित उभिएको केही बेरमै काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उनलाई त्यहाँबाट हटाउन गएको थियो। त्यस क्रममा एक महिला नगर प्रहरीले गणेशलाई त्यो ठाउँमा बाइक रोकेर नबस्न भनेकी थिइन्।
उनले गणेशसहित त्यहाँ रहेका अन्य राइडरलाई पनि विभागको २ नम्बर गेटबाट धपाउँदै ३ नम्बर गेटसम्म पुर्याएकी थिइन्।
यसरी धपाउँदै जाने क्रममा २ र ३ नम्बर गेटको बीचमा ती नगर प्रहरी र गणेशबीच विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विवादकै बीच ती महिला नगर प्रहरीको मोबाइल भुइँमा झरेको थियो। उनले मोबाइल टिप्न खोजेकै बेला गणेश बाइक हुइँक्याएर ३ नम्बर गेट अगाडि पुगेको एक प्रत्यक्षदर्शीले बताए।
त्यसपछि ती नगर प्रहरी पनि गणेश भएको ठाउँसम्म पुगिन्। आफूले कुरा गर्दागर्दै भाग्न खोजेको र मोबाइल पनि झारिदिएको भन्दै गणेशको बाइकमा ह्विल लक लगाइदिइन्। उनको मोबाइल गणेशकै कारण खसेको थियो कि थिएन भन्ने प्रस्ट छैन।
त्यही बेला एक प्रत्यक्षदर्शीले 'मोटरसाइकलमा बस्दाबस्दै (ह्विल लक) लगाइदिएको?' भनी गणेशलाई सोधेको भिडिओमा सुनिन्छ।
यसरी चालक सँगै हुँदाहुँदै बाइकमा ह्विल लक लगाउनु सामान्य कुरा होइन। सामान्यतया नो पार्किङमा छाडिएका गाडी वा बाइकमा मात्र ह्विल लक लगाइन्छ। कसैले नो पार्किङमै रोकेर बसेको छ भने पनि तुरून्तै गाडी हटाउन भनिन्छ, ह्विल लक लगाइँदैन। यहाँ भने गणेश आफै बाइकमा हुँदाहुँदै नगर प्रहरीले ह्विल लक लगाएर बढी नै कडिकडाउ गरेको देखिन्छ।
यही कारण गणेशले 'म मोटरसाइकलमा बस्दाबस्दै किन ह्विल लक लगाएको?' भन्दै नगर प्रहरीसँग प्रतिवाद गरेका थिए।
नगर प्रहरीले 'नो पार्किङमा सवारी रोकेपछि किन नलगाउने?' भन्ने जबाफ दिइन्।
आफ्नो मोबाइल फुटाइदिएकोमा त्यसको क्षतिपूर्ति कसले तिर्ने भन्दै प्रश्न पनि गरिन्।
गणेशले ह्विल लक खोलिदिन निरन्तर आग्रह गर्दा पनि नगर प्रहरी नमानेपछि आफ्नो बाइक छाडेर वरिपरि डुलिरहेको एक स्थानीय प्रत्यक्षदर्शीले बताए।
प्रहरीका अनुसार ह्विल लक लाग्नेबित्तिकै गणेशले आत्मदाह गरेका थिएनन्।
'उहाँहरूबीच विवाद भयो। विवाद भएपछि ह्विल लक लाग्यो,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले भने, 'त्यो विवाद भएको करिब दुई घन्टापछि मात्रै आत्मदाह गरिएको देखिन्छ।'
विवाद भएको करिब दुई घन्टापछि दिउँसो १:४० बजेतिर महानगरपालिकाको मोटरसाइकल उठाउने ट्रक त्यहाँ आइपुगेको उनको भनाइ छ।
महानगरको ट्रकले मोटरसाइकल उठाउन खोजेपछि दिउँसो १:४० देखि १:४५ को बीचमा गणेशले आत्मदाह गरेको एसपी भट्टराईले बताए।
यसबारे स्थानीय प्रत्यक्षदर्शीले भने अनुसार गणेशले करिब १ बजेतिरै आफ्नो बाइकको पेट्रोल बोतलमा भरेका थिए।
'बाइकबाट पेट्रोल झिकेको त मैले देखेको हुँ, तर किन झिके भनेर सोच्दा पनि सोचिएन, सोध्दा पनि सोधिएन,' राहदानी विभागको ३ नम्बर गेट अगाडि बसेका एक राइडरले भने, 'त्यसको करिब आधा घन्टापछि गणेशले बोतलमा भरेको पेट्रोल आफ्नो जीउमा खन्याए र आगो सल्काए।'
राहदानी विभागको ३ नम्बर गेटसँगै रहेको एक पसल सञ्चालकका अनुसार गणेशले पेट्रोल खन्याएर आगो सल्काउँदा महानगरको गाडी र प्रहरीको गाडी त्यहीँ थियो। उनी आगो लागेपछि छट्पटिँदै ३ नम्बर गेटबाट विश्व निकेतन स्कुलको गेटसम्म पुगेका थिए।
आगो सल्किएर छटपटाउँदै दुई-तीन पटक भुइँमा लडिबुडी गरेपछि सुरूमा नगर प्रहरीले म्याटले छोप्न खोजेको उनले बताइन्।
आगो लाग्दा म्याटले छोप्न हुन्न भनेर अरू प्रत्यक्षदर्शीले भनेपछि आफ्नो पसल आएका एक ग्राहकले नै जर्किनको पानी खन्याइदिएको ती पसल सञ्चालकले जानकारी दिइन्।
त्यसपछि आसपास रहेका अरू मान्छेले पनि अघि सरेर पानी खन्याएका थिए।
यसबीच रामेश्वर तामाङ नामका व्यक्ति अगाडि बढेर गणेशलाई उठाएका थिए र ३ नम्बर गेटबाट ५० मिटर परसम्म लगेका थिए। आफूले बोलाएपछि अर्का एक प्रहरी पनि गणेशलाई उठाउन आएको उनले बताए।
मूल सडकसम्म लैजान सके ट्याक्सीमा अस्पताल पठाउन सकिन्छ कि भनेर आफूले त्यसो गरेको रामेश्वरको भनाइ छ।
'तर ५० मिटरभन्दा बढी उनी उठिरहन सकेनन्,' उनले भने।
भिडिओमा त्यहाँ रहेका नगर प्रहरी र सर्वसाधारण पानी खोज्न दौडिएको र केही बेरको छटपटाहटपछि भित्रबाट पानी ल्याएर आगो निभाइएको पनि देखिन्छ। आगो निभेपछि एक जना प्रहरी र रामेश्वर तामाङले गणेशलाई पछाडिबाट समातेर मूल सडकसम्म हिँडाउँदै ल्याएको भिडिओ पनि सार्वजनिक भएको छ।
यसरी आगोले जलेको घाइतेलाई हिँडाउँदै ल्याएको विषयमा पनि अहिले प्रश्न उठेको छ।
यसबारे स्पष्ट पार्दै एसपी भट्टराईले भने, 'यो घटना बाहिर प्रचार भएजस्तो होइन। मान्छे जल्छ भन्ने कसैलाई थाहा हुन्न। आफ्नै आँखा अगाडि कोही जलेको देखेपछि सबै आत्तिन्छन्। कसैले निभाउने प्रयत्न पनि गरेका छन्। आगो निभेर उहाँ उठिसकेपछि तत्काल अस्पताल पुर्याउन पछाडिबाट 'पुस' गर्दै कराएर ट्याक्सी रोकिएको हो।'
'भिडिओमा जे देखिन्छ, त्यो आकस्मिक परिस्थितिमा गरिएको उद्धारको प्रयास थियो,' उनले भने, 'एक्कासि यस्तो घटना भएपछि कोही डराए, कोही भागे, कसैले उद्धार गरेका थिए। आकस्मिक रूपमा गरिने प्रतिक्रियाका रूपमा पछाडिबाट 'पुस' पनि गरियो। अनि चोकमा ल्याएर ट्याक्सी रोकेर अस्पताल लगियो।'
तत्काल वीर अस्पताल पुर्याइएका गणेशको शरीर ६५ प्रतिशत जलिसकेको चिकित्सकहरूले जनाएका थिए।
सरकारले बिहीबार राति नै उनलाई एयर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरेको थियो। यसको खर्च सरकारले नै बेहोर्ने निर्णय गरिएको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार गणेशलाई थप र विशिष्ट उपचारका लागि भारत लैजाने सम्पूर्ण तयारी पूरा भइसकेको थियो। काठमाडौंस्थित भारतीय दूतावाससँग राति नै सम्पर्क गरेर रातारात भारत लैजाने चाँजो मिलाइएको थियो। उनलाई भारत लैजान एयर एम्बुलेन्सको व्यवस्था पनि गरिएको थियो।
उपचार खर्च सरकारले नै बेहोर्ने गरी एम्स अस्पताल लैजान सबै बन्दोबस्त भइसकेको अवस्थामा वीर अस्पतालको बर्न आइसियू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर भयो। त्यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिए।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली सहित २१ जना स्वास्थ्यकर्मीको विशेष टोली गणेशको उपचारमा खटिएको थियो।
तर अथक प्रयासका बाबजुद शुक्रबार बिहान ११:२० बजे उपचारकै क्रममा गणेशको मृत्यु भयो।
मुगुको सोरू गाउँपालिका-१ का गणेश तीन वर्षदेखि काठमाडौंमा राइड सेयरिङ चालकको काम गरिरहेका थिए। कृषि प्राविधिक पढेका उनले भर्खरै मात्र किस्तामा नयाँ बाइक किनेका थिए र किस्ता तिर्न बिहानैदेखि काममा खटिने गरेको उनकी बहिनीले बताएकी छन्। बिहीबार पनि उनी बिहान ५ बजे नै घरबाट निस्केका थिए।
भक्तपुरको कमलविनायक बस्ने गणेश परिवारका कान्छा छोरा हुन्। उनका श्रीमती र छोरी छन्।
यसबीच गणेशको मृत्युपछि काठमाडौंको भद्रकाली क्षेत्रमा प्रदर्शन भइरहेको छ भने संसदमा समेत यो घटनालाई लिएर प्रतिपक्षी दलहरूले सरकारमाथि प्रश्न उठाइरहेका छन्।