मानसिक समस्या भएको छ कि छैन भनेर थाहा पाउन कुनै एउटा निश्चित परीक्षण हुँदैन। रगत जाँच गरेपछि सुगर वा अन्य रोग पत्ता लागेजस्तो मानसिक समस्याका लागि त्यस्तो कुनै ल्याब परीक्षण अहिलेसम्म विकास भएको छैन।
मानसिक रोग विशेषज्ञहरूले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का गाइडलाइन र विभिन्न मापदण्डका आधारमा व्यक्तिको व्यवहार, अनुभव, सोचाइ र देखिएका लक्षणका आधारमा मानसिक समस्या पहिचान गर्छन्।
मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेका अनुसार व्यक्तिले भोगिरहेको समस्या, उसको दैनिक गतिविधिमा परेको असर र लामो समयसम्म देखिएका लक्षणका आधारमा मानसिक समस्या भए नभएको निष्कर्षमा पुगिन्छ।
'अनुभव र बिरामीसँग गरिएको कुराकानीकै आधारमा मानसिक समस्या पहिचान गरिन्छ। एन्जाइटी भयो कि डिप्रेसन भयो भनेर छुट्याउन कुनै विशेष परीक्षण हुँदैन,' डा पाण्डे भन्छन्, 'टाउको दुख्ने, निद्रा नलाग्ने, धेरै कुरा खेलाउने, निराश हुने, डर लाग्ने, मुटु ढुकढुक हुने, ग्यास्ट्रिक हुने, पेट पोल्ने, खान मन नलाग्ने, बान्ता हुने, दिसा कडा हुने, घाँटीमा केही अड्किएजस्तो महसुस हुने, आफूलाई केही भइहाल्छ कि भन्ने डर लाग्ने जस्ता समस्या मानसिक समस्याका लक्षण हुन सक्छन्।'
तर यस्ता समस्या कहिलेकाहीँ सामान्य अवस्थामा पनि देखिन सक्छन्। त्यसैले कुनै पनि लक्षण लगातार दुई हप्ता, एक महिना वा त्यसभन्दा बढी समयसम्म रह्यो र दैनिक जीवनमा असर गर्न थाल्यो भने त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उनी बताउँछन्।
मानसिक समस्या पहिचान गर्न तीन कुरा महत्वपूर्ण हुन्छन्। पहिलो, लक्षण लगातार देखिनु। दोस्रो, त्यो समस्या लामो समयसम्म रहनु। तेस्रो, त्यसले व्यक्तिको दैनिक जीवन र काम गर्ने क्षमतामा असर गर्नु। उदाहरणका लागि विद्यार्थीलाई पढ्न मन नलाग्ने, कर्मचारीलाई काम गर्न इच्छा नहुने, गृहिणीलाई घरको काम गर्न मन नलाग्ने वा चिकित्सकलाई बिरामी हेर्न रूचि नहुने अवस्था आएमा त्यसले मानसिक समस्यातर्फ संकेत गर्ने उनको भनाइ छ।
मानसिक समस्या पहिचान गर्न सजिलो भने हुँदैन। बिरामी, परिवारका सदस्य र नजिकका व्यक्तिसँग कुराकानी गरेर मात्र चिकित्सकले निष्कर्ष निकाल्छन्। कतिपय अवस्थामा बिरामीले आफूलाई भएको समस्या नै बुझ्न नसक्ने पनि हुन्छ।
'सिजोफ्रेनियाको बिरामीलाई कसैले मार्न खोजेको जस्तो लाग्न सक्छ, डर लाग्न सक्छ, मुटु ढुकढुक हुन सक्छ। तर चिकित्सककहाँ आएपछि उसले आफ्नो वास्तविक समस्या नभनेर घुँडा अलि दुखेको छ भन्न सक्छ,' उनले भने, 'आफूलाई के भएको छ भन्ने थाहा नपाउनु पनि रोगकै एउटा लक्षण हुन सक्छ। मानसिक समस्याका सयभन्दा बढी प्रकार छन् र सबैका लक्षण फरक–फरक हुन्छन्।'
मानसिक समस्या र शारीरिक रोगको सम्बन्ध
मानसिक समस्या र शारीरिक रोगबीच पनि गहिरो सम्बन्ध हुन्छ। मानसिक समस्याका कारण विभिन्न शारीरिक समस्या देखिन सक्छन् भने शारीरिक रोगका कारण पनि मानसिक समस्या हुन सक्ने उनले बताए।
जस्तो, तनावका कारण छाला सम्बन्धी समस्या देखिन सक्छ। कतिपय अवस्थामा छाला रोग विशेषज्ञले मानसिक समस्याको कारण पहिचान गरेर उपचारका लागि पठाउने गरेका छन्। त्यस्तै तनावका कारण सुगर बढ्न सक्ने र सुगर भएका व्यक्तिमा अत्यधिक तनाव हुँदा अवस्था थप बिग्रन सक्ने उनी बताउँछन्।
'तनाव व्यवस्थापन गर्न नसक्दा छोटो समयमै सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइराइड र एन्जाइटीजस्ता समस्या देखिएका उदाहरण छन्,' उनी भन्छन्।
जिम्मेवारी गुमाउँदा पनि आउन सक्छ मानसिक समस्या
जीवनमा ठूलो परिवर्तन आउँदा पनि मानसिक समस्या देखिन सक्छ। विशेषगरी लामो समयसम्म जिम्मेवारी र पहिचान बनाएका व्यक्तिहरू अवकाशपछि मानसिक तनावमा पर्न सक्ने डा. पाण्डे बताउँछन्।
'हिजोसम्म सबैले खोज्ने व्यक्ति आज कसैले वास्ता गरेन भन्ने महसुस हुन सक्छ। दिनमा सयौं फोन आउने व्यक्तिको फोन कम हुन थाल्दा मेरो अस्तित्व कहाँ गयो भन्ने भावना आउन सक्छ,' उनले भने, 'त्यसैले उमेर बढ्दै गएपछि बुवाआमालाई पूर्ण रूपमा निष्क्रिय बनाउन नहुने उनको सुझाव छ। जिम्मेवारी भनेको बोझ दिनु नभई उनीहरूलाई आफ्नो महत्व महसुस गराउनु हो।'
हरेक मानिसले आफ्नो अस्तित्व खोजेको हुन्छ। त्यसैले बुवाआमालाई पनि केही न केही जिम्मेवारी दिनुपर्ने उनको सुझाव छ।
विदेशमा रहेका नेपालीमा पनि मानसिक समस्या
पछिल्ला वर्षहरूमा विदेशमा रहेका नेपालीमा पनि मानसिक समस्या बढिरहेको डा. पाण्डेको अनुभव छ। विशेषगरी एक्लोपना, भाषा, संस्कृति र नयाँ वातावरणमा घुलमिल हुन नसक्दा समस्या देखिने गरेको उनी बताउँछन्।
'अमेरिका, अस्ट्रेलिया, युरोप, जापान र कोरियामा रहेका नेपालीमा पनि एक्लोपना र डिप्रेसनका समस्या देखिन्छन्। धेरै महत्वकांक्षा लिएर गएको हुन्छ, तर वास्तविकता फरक हुन सक्छ,' उनले भने।
जापान लगायतका देशबाट पनि आफूलाई गाह्रो भएको भन्दै फोन आउने गरेको उनले बताए।
‘कतिपय परिवारले छोरा वा छोरी भर्खर गएको छ, गाह्रो भएर होला भनेर सामान्य रूपमा लिन्छन्। तर समस्या गम्भीर हुन सक्छ,' उनले भने।
पैसाभन्दा मानिसको जीवन महत्वपूर्ण हो भनेर परिवारले बुझ्न जरूरी रहेको उनको तर्क छ।
केही समस्या पर्यो भने नेपाल फर्किन सक्छौ, हाम्रो लागि पैसा भन्दा तिमी महत्वपूर्ण छौ भन्ने वातावरण परिवारले बनाइदिनुपर्ने उनले बताए।
विदेश जाने दबाब पनि समस्याको कारण
विदेश जानु आफैमा नराम्रो नभए पनि समाजले विदेश जाने कुरालाई अत्यधिक महत्व दिँदा युवामा दबाब बढेको उनले पाएका छन्।
विदेश जान नसक्नेलाई केही गर्न नसकेको जस्तो र विदेश गएकालाई फरक रूपमा हेर्ने प्रवृत्तिले पनि मानसिक समस्या निम्त्याइरहेको डा. पाण्डेको दाबी छ।
उनका अनुसार विदेश जाने व्यक्तिले पनि कमाइभन्दा आफ्नो जीवन महत्वपूर्ण हो भन्ने बुझ्न आवश्यक छ।
खाडी मुलुक, मलेसिया लगायतका देशमा मानसिक समस्याको उपचार सहज नभएको भन्दै उनले यसतर्फ सरकारले पनि ध्यान दिनुपर्ने बताए।
आफ्नो मनको अवस्था बुझौं
मानसिक समस्या भएका सबै व्यक्तिको उपचार सम्भव रहेको डा. पाण्डेको भनाइ छ। तर त्यसका लागि समयमै समस्या पहिचान गर्न आवश्यक छ।
'हामी आफ्नो सुगर, प्रेसर ठीक छ कि छैन भनेर सोध्छौं। त्यसैगरी आफ्नो मनलाई पनि सोध्नुपर्छ– मेरो मन ठीक छ? मन, तँलाई ठीक छ?', उनले भने, 'आफूलाई समय दिने, परिवारसँग आफ्ना समस्या खुलेर राख्ने र एकअर्काको अवस्था बुझ्ने वातावरण बनाउन सके मानसिक समस्याबाट बच्न सहयोग पुग्छ।'
(मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र ब्लिसफुल न्युरो साइक्याट्री सेन्टर मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)