गुड फ्राइडे सिनेमा
मार्सल आर्ट सिनेमालाई एसियादेखि हलिउडसम्म लोकप्रिय बनाउनमा ब्रुस ली, ज्याकी चेन र जेट लीको महत्वपूर्ण छ।
सन् १९७० दशकमा कंग–फू सिनेमाको लहर आउनुमा ब्रुस लीको आगमनलाई विशेष श्रेय दिइन्छ। त्यसपछि यो विधालाई ज्याकी चेन र जेट लीले थप विस्तार गरे।
यी र अन्य कलाकारका एसियन मार्सल आर्ट शैली अपनाइएका कयौं फिल्म अहिले पनि दर्शकको रोजाइमा पर्दै आएका छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले भने हलिउडसहित मार्सल आर्टको दुनियाँमा तहल्का मच्चाएका ज्याकी चेनको एक फिल्म सिफारिस गरेका छौं।
हङकङ मूलका अभिनेता ज्याकी अहिले ७२ वर्ष भइसके। तर उनका जवानीका फिल्म आज पनि मार्सल आर्ट शैली मनपराउने दर्शकका निम्ति खुराक हुन्।
यति मात्र होइन, उनका फिल्म कमेडी रूचाउने दर्शकका लागि पनि उत्तिकै प्रिय हुन्छन्।
यस्तै एक फिल्म हो 'ह्विल्स अन मिल्स'।
एक्सन र कमेडीले भरिएको यो फिल्मकी पात्र सिल्भिया स्पेनको बार्सिलोनाका सडकमा मान्छेको पाकेट मार्दै हिँड्छिन्।
सिल्भियालाई डिटेक्टिभ मोबी र केही गुन्डाले पछ्याइरहेका छन्।
यस्तै भागदौडमा सिल्भियाको भेट थोमस र डेबिडसँग हुन्छ।
यी दाजुभाइ बार्सिलोनामा गाडीमा फास्टफुड बेच्छन्। सिल्भिया खासमा लामो समयदेखि घर छाडेर हिँडेकी धनी परिवारकी छोरी हुन्। सम्पत्तिकै लागि एकदिन उनको अपहरण हुन्छ।
सिल्भियाको अपहरणपछि थोमस, डेबिड र मोबी सँगै मिलेर सिल्भियालाई बचाउने जोखिम मोल्छन्।
फिल्ममा कार र भ्यानको स्टन्ट दृश्यसहितको एक्सन कोरियोग्राफी आकर्षक छ।
फिल्ममा ज्याकी चेनसहित कंग–फू सिनेमाका अरू दुई चर्चित अनुहार युअन बायो र साम्मो हंग पनि देखिएका छन्।
यी तीन कलाकारले यसअघि 'प्रोजेक्ट ए' र 'माई लकी स्टार्स' मा सँगै काम गरेका थिए।
सन् १९८४ मा आएको यो फिल्म सुपरहिट भएको थियो।
हेर्नुस् सबटाइटल सहित युट्युबमा-