सुनसरीसहित तराईका जिल्लामा तनाव विस्तार भएपछि शुक्रबार विराटनगरमा सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको सद्भाव र्याली विभिन्न धार्मिक समुदायका अगुवाहरु, सर्वसाधारण, राजनीतिक दल तथा उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता थियो।
छिमेकी जिल्ला सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा गएको आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा दुई जनाको ज्यान गएको थियो। यस्तै घटनाका कारण मधेसका विभिन्न स्थानमा तनाव फैलिएको छ।
यही तनाव मत्थर पार्न आह्वान गर्दै र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न तथा सहिष्णुता जारी राख्न विराटनगरका धार्मिक अगुवा तथा सर्वसाधारणले आह्वान गरेका छन्।
अपराह्न विराटनगरस्थित महेन्द्र चोकबाट सुरु भएको र्यालीले विराटनगरको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो। सहभागीहरुले समाजमा शान्ति तथा सद्भाव कायम राख्दै अघि बढ्न अपिल गरेका छन्।