पाकिस्तानको 'ब्रोड पिक' हिमाल आरोहण क्रममा हराइरहेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) ले यसपालि उक्त हिमाल चढ्ने कुनै योजना नरहेको आफ्नो फेसबुकमा लेखेका छन्।
बिहीबार दिउँसोको हिमपहिरोमा परी पुर्जा नेतृत्वको १० सदस्यीय टोली सम्पर्कविहीन भएको हो। तीमध्ये चार जनाको शव फेला परेको छ भने अरूको खोजी जारी छ।
पुर्जाले चार दिनअघि जुलाई २७ तारिख साँझ ५ बजेर २१ मिनेट जाँदा आफ्नो फेसबुकमा 'यो आरोहण अहिले आफ्नो योजनामा नरहेको' उल्लेख गरेका छन्।
उनले संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये १२औं स्थानमा पर्ने ब्रोड पिक आरोहण गर्नुको कारण पनि आफ्नो फेसबुकमा खुलाएका छन्।
उनले फेसबुक पोस्टमा 'द मिसन सिफ्ट्स, द कम्पास होल्ड्स' भनेर लेखेका छन्, जसको आसय हुन्छ — लक्ष्य परिवर्तन भएको छ, तर दिशा उही छ।
फेसबुक स्ट्याटस अनुसार, निम्सको योजना पाकिस्तानको जी–टू (ग्यासरब्रुम–२) मात्र चढ्ने थियो। तर पाकिस्तान जानुअघि उनले ८००० मिटर उचाइका हिमालमध्ये ब्रोड पिक र नेपालको चोयू मात्र अक्सिजनबिना दुई पटक चढ्न बाँकी रहेको सम्झे।
त्यसपछि पाकिस्तानमा छँदा नै ब्रोड पिक आरोहण गर्न पाए नेपालको चोयू मात्र दुई पटक चढ्न बाँकी रहने हुँदा यसपालि नै यो काम गर्ने योजना बनाएको उनले फेसबुकमा लेखेका छन्।
उनी आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन् —
'यो मेरो योजनामा थिएन। सुरूको योजना जी–टू (ग्यासरब्रुम–२) मात्र चढ्ने थियो। तर पाकिस्तानतर्फ लाग्नुअघि मैले आफ्ना ८,००० मिटर उचाइका हिमशिखर आरोहणको हिसाबकिताब हेरेँ। त्यही बेला मलाई महसुस भयो– यदि मैले यहाँ छँदै 'ब्रोड पिक' पनि सफल आरोहण गरेँ भने, मेरो लागि केवल एउटा मात्र बाँकी रहन्छ — 'चोयू'। त्यसपछि म कुनै पनि पूरक अक्सिजनबिना संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल दुई–दुई पटक चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु।'
उनी अगाडि लेख्छन् —
यो योजनाबद्ध थिएन। मेरो ध्यान 'ह्याट्रिक प्रोजेक्ट' मै केन्द्रित थियो, किनकि यसको पछाडि एउटा अझ ठूलो उद्देश्य थियो। तर अवसरहरू चिच्याएर आउँदैनन्; अवसरले तिनकै अगाडि सुस्तरी फुसफुसाउँछन्, जो पहिल्यैदेखि मौन रहेर कडा मिहिनेत गरिरहेका हुन्छन्।
एउटा रहस्य मैले प्रत्येक अभियानमा आफूसँगै बोकेर हिँडेको छु — मैले कहिल्यै अरू कसैसँग प्रतिस्पर्धा गरिनँ। मेरो एक मात्र प्रतिस्पर्धा म आफैसँग थियो। म हिजो जे थिएँ, त्योसँग मात्र मेरो प्रतिस्पर्धा थियो। म हरेक दिन, आफ्नै सीमाहरूसँग जुध्दै थिएँ। किनभने, जुन क्षण तपाईं दायाँ–बायाँ हेर्न थाल्नुहुन्छ; अरूले के गरिरहेका छन्, के भनिरहेका छन्, वा के हासिल गरिरहेका छन् भनेर सोच्न थाल्नुहुन्छ; त्यही क्षण तपाईं आफ्नो सही दिशाबाट भड्किनुहुन्छ। तपाईंको गन्तव्य र दिशा केवल तपाईंको हो, यसलाई दृढतापूर्वक रक्षा गर्नुहोस्।
जब मैले 'प्रोजेक्ट पसिबल' का क्रममा बिनाअक्सिजन १४ वटै हिमाल चढेँ, मानिसहरूले मेरो आलोचना गरे। यदि त्यो सफलता पछाडिको संघर्ष तपाईंले देख्नुभएको छैन भने, नेटफ्लिक्समा '14 Peaks' हेर्नुहोस्। त्यो फिल्म कुनै पनि मिसावट नगरिएको यथार्थ घटनामा आधारित छ।
त्यति बेला म अन्य टोलीहरूले छाडिदिएका आरोहीहरूको उद्धार गरिरहेको थिएँ, आफै रकम जुटाइरहेको थिएँ, अग्रपंक्तिमा रहेर टोलीको नेतृत्व गरिरहेको थिएँ, आफै अघि सरेर डोरी टाँगिरहेको थिएँ, चीनसँग सिसापाङ्माको अनुमतिका लागि पहल गरिरहेको थिएँ; र मेरी आमाको अपरेसन बेला अस्पतालमा बसिरहेको थिएँ। त्यसबाहेक पनि अझ अरू धेरै कुरा सम्हालिरहेको थिएँ।
अनि अहिले?
अहिले म बिनाअक्सिजन दोहोर्याएर यी हिमाल आरोहण गर्दैछु, कुल मिलाएर तेस्रो पटक। बाहिरको होहल्ला अझै रोकिएको छैन। तर मैले ती हल्ला सुन्न छाडिदिएको छु।
जसलाई अझै पनि शंका छ, म उनीहरूलाई भन्न चाहन्छु — मैले पहिल्यै पाकिस्तानमा रहेका ८ हजार मिटर उचाइका सबै ५ वटा हिमाल चढिसकेको छु, त्यो पनि मात्र २६ दिनमा। ती आरोहणमा मैले नेतृत्व गरेँ, गाइड गरेँ, बिना अक्सिजन। र, जसले अक्सिजन प्रयोग गरेर मेरो रेकर्ड तोडे, म आज ती रेकर्ड फेरि तोड्दै छु। यसका सबै प्रमाण छर्लंग छन्।
ब्रोड पिक! म केवल सुरक्षित रूपमा माथि पुग्ने र फर्किने बाटोको याचना गर्छु।
म कुनै पनि हिमाललाई हल्का रूपमा लिन्नँ। लिँदै लिन्नँ। जुन क्षण मेरो पाइला बेसक्याम्पबाट अघि बढ्छ, त्यहाँ मेरो शत–प्रतिशत समर्पण रहन्छ। मेरो यो समर्पण सधैं यस्तै थियो। र, सधैं यस्तै रहनेछ।
यो आरोहण मलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने प्रत्येक व्यक्तिमा समर्पित छ। समर्थकहरू, आलोचकहरू, तपाईंहरू सबैमा। यसका लागि म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
मेरो उद्देश्य कहिल्यै मेरो आफ्नो लागि थिएन। यो त मैले जे कुराको प्रतिनिधित्व गर्छु, त्यसका लागि हो।
तपाईंहरू सबैलाई यो साबित गर्न हो — तपाईंका आफ्ना जीवनका हिमालहरू जस्तोसुकै किन नहून्, ती सबै चढ्न सकिन्छ।
हराइरहेका निम्स दाइले बनाएका रेकर्ड
निम्स दाइले पर्वतारोहणमा असम्भव मानिएका रेकर्डहरू बनाएका छन्। यसपटक ब्रोड पिकपछि चोयू हिमाल चढेर बिनाअक्सिजन संसारका सबै ८ हजार मिटर माथिका हिमाल दोहोर्याएर चढ्ने रेकर्ड बनाउने तयारीमा थिए।
निम्स दाइ आरोहणमा लाग्नुअघि बेलायती सेनामा थिए। उनले ६ वर्ष बेलायती सेनाको गोर्खा रेजिमेन्टमा सेवा गरे। त्यसपछि १० वर्ष बेलायतको विशेष नौसैनिक फौज 'स्पेसल बोट सर्भिस (एसबीएस)' मा रहे। सन् २००९ मा उनी एसबिएसमा छनोट हुने पहिलो गोर्खा सैनिक बनेका थिए।
निर्मल पुर्जाको नाम 'निम्स दाइ' त्यति बेलै रहन गएको हो। बेलायती सेनामा रहँदा उनका सहकर्मीहरूले निर्मल भन्न गाह्रो लागेर 'निम्स' भन्ने गर्थे। आरोहण क्षेत्रमा लागेपछि त्यसलाई उनले आफ्नो पहिचान बनाए।
पर्वतारोहणमा सन् २०१२ पछि आकर्षित भएका हुन्, निम्स दाइ। त्यति बेला उनी सगरमाथा आधार शिविरसम्म पुगेका थिए। त्यही वर्ष उनले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गरे।
त्यसपछि सुरू भएको हिमाल आरोहण यात्रा केही वर्षमै विश्व कीर्तिमानतर्फ पुगेको हो।
सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा 'डेथ जोन' मा समस्यामा परेका एक आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुले।
त्यही साहसिक उद्धार र उच्च हिमाली पर्वतारोहणमा पुर्याएको योगदानका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उनलाई सन् २०१८ मा एमबिई (member of the order of the British Empire) सम्मान प्रदान गरेकी थिइन्।
सन् २०१९ मा निम्स दाइले विश्व पर्वतारोहणकै सबभन्दा कठिन मानिने उपलब्धिमध्ये एक हासिल गरेका छन्। उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका छन्।
यसअघि दक्षिण कोरियाका पर्वतारोही किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका छन्। उनले त्यो अभियानलाई 'प्रोजेक्ट पसिबल' नाम दिएका थिए, किनभने धेरैले यो लक्ष्य सम्भव नै नभएको बताएका थिए।
सन् २०२१ को १६ जनवरीमा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल केटू पहिलो पटक जाडो महिनामा आरोहण गरेर अर्को इतिहास रचेका छन्।
दशकौंदेखि विश्वभरका आरोहीले प्रयास गरे पनि कोही सफल हुन नसकेको केटू हिउँदमा पहिलो पटक नेपाली टोलीले नै आरोहण गरेको थियो। चुचुरो पुग्नुअघि टोलीले नेपाली राष्ट्रिय गान गाएको दृश्य विश्वभर चर्चित बनेको थियो।
उच्च हिमाली पर्वतारोहणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सन् २०२० मा एसियाली अल्पाइन संघले पियोले डे'ओर सम्मान पनि प्रदान गरेको छ।
म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निम्स दाइ आज नेपाली पर्वतारोहणका मात्र होइन, विश्व पर्वतारोहणकै सबभन्दा प्रभावशाली आरोहीमध्ये गनिन्छन्।
उनको संघर्ष र सफलतामा आधारित भएर नेटफ्लिक्सले '१४ पिक' सिरिज समेत बनाएको छ।
***