भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई 'भारत भ्रमणको निम्तो पठाएको' जानकारी दिएपछि उनी कहिले भारत जाँदै छन् भन्नेबारे चासो उत्पन्न भएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साउन १२ गते मंगलबार नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको बताएका थिए।
भारतीय पत्रकारले नेपालका प्रधानमन्त्रीलाई छिट्टै भारतले स्वागत गर्न लागेको हो भनेर सोधेको प्रश्नमा प्रवक्ता जयसवालले भनेका थिए, 'हो, भारत भ्रमणका लागि नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाइएको छ।'
भ्रमणको समय र मितिबारे भने उनले कुनै टिप्पणी गरेनन्।
प्रधानमन्त्री बालेनले शपथ लिएको चार महिना बितिसक्दा पनि परम्परागत रूपमा हुँदै आएको भारत भ्रमण अनिश्चित रहेका बेला भारतीय विदेश मन्त्रालयको यस्तो भनाइले चासो उत्पन्न भएको हो।
नेपालको परराष्ट्र मन्त्रालयले यसबारे औपचारिक सूचना सार्वजनिक नगरेकाले प्रधानमन्त्री बालेनलाई कहिले र कुन च्यानलबाट निम्तो गरियो भन्ने प्रश्न पनि उठेको छ।
हामीले यसबारे परराष्ट्र मन्त्रालयका स्रोतहरूसँग कुरा गर्दा उनीहरूले प्रधानमन्त्री शाहलाई पछिल्लो समय भारत भ्रमणको कुनै निम्तो नआएको बताए।
स्रोतका अनुसार अहिलेसम्म भारतले प्रधानमन्त्री शाहलाई निम्तो गरेको भनेको शपथ ग्रहणलगत्तै शुभकामना दिने बेला हो। त्यो निम्तो पनि अनौपचारिक मात्र भएको स्रोतको भनाइ छ।
'चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउने क्रममा प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो गर्नुभएको हो। त्यसयता औपचारिक कूटनीतिक च्यानलबाट कुनै किसिमको निम्तो आएको छैन,' परराष्ट्र मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले त्यति बेलाकै निम्तोलाई आधार मानेर जबाफ दिएको हुनसक्ने स्रोतको भनाइ छ।
'त्यसबाहेक अर्को कुनै निम्तो आधिकारिक च्यानलबाट आएको हामीलाई जानकारी छैन। भारतीय विदेश मन्त्रालयले त्यही निम्तोलाई आधार भनेर त्यस्तो जबाफ दिएका हुन सक्छन्,' स्रोतले भन्यो।
त्यति बेला भारतीय प्रधानमन्त्री मोदीले गरेको निम्तोको जानकारी परराष्ट्रमन्त्री शिशिर खनालले दिएका थिए।
उनले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भइसकेको पनि बताएका थिए।
नवौं हिन्द महासागर सम्मेलनका लागि मौरिससमा गएका बेला परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन 'डब्लुआइओएन' सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता पठाएको र त्यसमा सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका हुन्।
'हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशमा निमन्त्रणा प्राप्त गर्नुभएको थियो। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ। तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन्,' परराष्ट्रमन्त्री खनालले कुराकानी क्रममा भनेका थिए।
उनका अनुसार फागुन २१ को चुनावलगत्तै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वर्तमान प्रधानमन्त्री बालेन शाहसँग कुरा गरेका थिए।
यसबीच प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भ्रमणको निम्तो दिन काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न बालेनले अस्वीकार गरेपछि उनले भ्रमण नै रद्द गरेका थिए। त्यसयता बालेनको भारत भ्रमण अनिश्चित रहँदै आएको छ।
गत वैशाख २८ गते हुने भनिएको भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा रद्द भएको थियो।
परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा 'मिति तय भइनसकेको' भन्दै बचाउ गरे पनि प्रधानमन्त्री बालेनले भारतीय विदेश सचिवसँग द्विपक्षीय भेटवार्ता गर्न इन्कार गरेकै कारण उक्त भ्रमण रोकिएको स्रोत बताउँछ।
पछिल्लो समय चौतर्फी घरेलु र वैदेशिक दबाबमा परेपछि प्रधानमन्त्री बालेन परराष्ट्र मन्त्रालयलाई नै पन्छाएर कूटनीतिक रूपमा सक्रिय हुन थालेका छन्।
प्रधानमन्त्री बालेनले परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिई आफ्ना प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) लाई जुलाई पहिलो साता दिल्ली पठाएर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत केही उच्च अधिकारीलाई भेटवार्ता गराएको स्रोतहरू बताउँछन्।
परराष्ट्रका एक उच्च अधिकारीले उक्त भेटवार्ता भएको पुष्टि गरे पनि छलफलको एजेन्डाबारे मन्त्रालयलाई कुनै जानकारी नदिइएको बताएका छन्।
त्यस्तै, प्रमुख सल्लाहकार बेनको दिल्ली भ्रमणलगत्तै प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ताको तयारी पनि थालेका छन्।
यिनै घटनाक्रमबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ताले 'भारत भ्रमणका लागि नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाइएको' जानकार दिइएकाले पनि त्यसबारे चासो बढेको हो।
यो पनि पढ्नुहोस्: