गोरखाको पालुङटार नगरपालिकाले कानुनी र व्यवस्थापकीय तयारी पूरा गरे पनि आज लिगलिग दौड सुरू गर्न सकेन।
लिगलिग विकास अभियानसँग सहमति हुन नसक्दा र त्यसैलाई देखाएर जिल्ला प्रशासन कार्यालय गोरखाले सुरक्षा दिन नसक्ने पत्र पठाएपछि पालुङटारले लिगलिग दौड गर्न नसकेको हो।
चेपेघाटदेखि लिगलिगकोटसम्म दौडन भनेर विभिन्न जिल्लाबाट धावक पालुङटार आइसकेको अवस्थामा दौड स्थगित हुन पुग्यो।
पालुङटार नगरपालिकाले धावकहरूलाई लिगलिगकोट घुमाएर यातायात खर्चसहित बिदा गर्न लागेको छ।
लिगलिग दौडका लागि प्रशासनले किन सुरक्षा दिन सकेन? विगतमा लिगलिग दौड गर्दै एक वर्षका लागि राजा छान्दै आए पनि किन पछिल्ला वर्षमा यो कार्य रोकियो भन्ने पृष्ठभूमि लामो छ।
सुरूमा प्रशासनको सुरक्षाबारे कुरा गरौं।
जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चुडामणि अधिकारीले बुधबार पालुङटार नगरपालिका र लिगलिग विकास अभियानलाई पत्राचार गर्दै सुरक्षा दिन नसकिने जानकारी दिए।
पालुङटार नगरपालिकाले असोज २९ गते र लिगलिग विकास अभियानले असोज ३० गते बेग्लाबेग्लै लिगलिग दौड गर्न लागेका थिए।
दुई कार्यक्रमलाई एकै बनाउन पटक पटक नगरपालिका र लिगलिग विकास अभियानबीच कुराकानी भयो तर कुरा मिलेन। एकले अर्कोलाई आरोपप्रत्यारोप गर्दै गए र अन्तिममा दुई कार्यक्रम हुने नै अवस्थामा पुग्यो र प्रशासनले दुवै कार्यक्रममा सुरक्षा दिन नसक्ने निष्कर्ष दियो।
प्रशासनले असोज २५ को बूढीगण्डकी बाढी समस्या र त्यसका चुनौती व्यवस्थापनतर्फ केन्द्रित हुनु परेको तथा पालिका र लिगलिग विकास अभियानका तर्फबाट अगल अलग दौड प्रतियोगिता हुने भनेकोले त्यसमा सुरक्षा दिन नसक्ने बताएको थियो।
पर्याप्त सुरक्षा उपस्थित अभावमा थप सुरक्षा चुनौती सिर्जना हुन सक्ने भन्दै असोज २९ र ३० का दौड प्रतियोगिता स्थगित गर्न प्रशासनले आग्रह गरेको थियो।
विगतका वर्षहरूमा लिगलिग दौड हुँदा सुरक्षा चुनौती थिएन। त्यसबेला फरक फरक पक्षबाट दौड पनि हुने गरेको थिएन।
विगतमा लिगलिग विकास अभियानमार्फत लिगलिग दौड हुने गरेको थियो। तर २०८० सालदेखि रोकियो। २०७९ वैशाखमा स्थानीय चुनाव भयो र मेयर तत्कालीन माओवादीका उम्मदेवार विवश चिन्तनले जितेका थिए।
त्यसपछि नगरपालिका र लिगलिग विकास अभियानबीच सम्बन्ध सुमधुर हुन नसकेको देखिन्छ र लिगलिग दौड प्रभावित हुँदै आएको थियो।
लिगलिगकोटमा दौड हुन रोकिएकोबारे प्रतिनिधि सभामा समेत रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले सरकारको ध्यानाकर्षण गराएका थिए।
पालुङटार नगरपालिकाले पनि ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर लिगलिगकोटमा दौडलाई निरन्तरता दिन खोज्यो र यसपालि १२ औं लिगलिगे दौडको आयोजना गरेको थियो।
नगरपालिकाले आवश्यक ऐन, नियम तथा कार्यविधिसमेत तयार गरी सर्वपक्षीय सहजीकरण समितिमार्फत् दौड आयोजना गर्न खोजेको थियो।
मेयर विवश चिन्तनका अनुसार विगतमा दौड गर्दै आएको लिगलिग विकास अभियान हाल नवीकरण पनि नभएको संस्था हो। उक्त संस्थाले लिगलिग शीर्षकमा विनियोजित बजेट आफ्नै इच्छाअनुसार खर्च गर्न नपाएको असन्तुष्टिमा स्थानीयहरूलाई उक्साई अराजक गतिविधि गरेको छ, यो कुरा मेयरले विज्ञप्तिमै लेखेका छन्।
लिगलिग विकास अभियानबारे प्रशासनमा उजुरी परेको र संस्थामा एकै परिवारका सदस्यहरूसमेत रहेको पाइएको उनको दाबी छ।
मेयर विवश चिन्तनका अनुसार संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा योजना निर्माण, निर्णय, कार्यान्वयन र स्थानीयस्तरका कार्यक्रम व्यवस्थापन अधिकार तथा जिम्मेवारी प्रदान गर्छ। सोहीअनुसार लिगलिग दौड व्यवस्थापन नगरपालिकाले गर्न लागेको थियो।
जिल्ला प्रशासनले विपद् व्यवस्थापनसँग जोडेर स्थानीय सरकारको व्यवस्थापनमा हुन लागेको लिगलिग दौड स्थगित गर्न दिएको आदेशप्रति मेयरले असन्तुष्टिसमेत जनाएका छन्।
‘लिगलिग र लिगलिगकोट कुनै व्यक्ति, संस्था वा समूहको निजी सम्पत्ति होइन, यो हाम्रो साझा ऐतिहासिक सम्पदा हो। यसको संरक्षण र सम्बर्द्धनका लागि नगरपालिका प्रतिबद्ध छ, दौडको नयाँ मिति सबै पक्षसँग समन्वय गरी उपयुक्त समयमा सार्वजनिक गरिनेछ,’ मेयरले भनेका छन्।
साथै मेयर विवश चिन्तले आज पालुङटार नगरपालिकाको सभाहलमा धावकहरूलाई बिदाइ गर्दै जिल्ला प्रशासनको असहयोगबीच दौड स्थगित गर्नुपरेको बताए।
‘सिठ्ठी फुक्न मात्रै बाँकी रहेको समयमा जिल्ला प्रशासन कार्यालय गोरखाले जुन प्रकारले ठाडो आदेश गर्यो त्यो आदेशप्रति खेद प्रकट गर्दै अहिलेसम्म तपाईंहरूले भन्दै आएको जिल्ला प्रशासन कार्यालय गोरखा नेपाल सरकार मातहत नरहेको र लिगलिग विकास अभियानमार्फत् रहेको प्रशासन कार्यालय रहेको पुष्टि भएको जानकारी पनि गराउन चाहन्छु,’ मेयरले भनेका छन्।
स्थानीय सरकारले नियमभित्र रहेर कार्यविधि बनाएर राजपत्रमा प्रकाशित गरेर प्रशासन कार्यालयमा चरणचरण छलफल र पत्राचार गरी दौड आयोजना गरे पनि स्थगित गर्न आदेश दिइएको प्रति उनले असन्तुष्टि जनाएका हुन्।
‘लिगलिग विकास अभियानका नाममा कुनै तयारीबिना ३० गते दौड भनेर फेसबुकमा स्टाटस हालेका भरमा शान्ति सुरक्षा खतरा पैदा हुने भनेर असोज २९ को हाम्रो कार्यक्रम स्थगित गर्न भनियो। अब जिल्ला प्रशासनले हामीलाई जबाफ दिन सक्छ कि सक्दैन, हाम्रो हलमा धावक जम्मा भइसके, लिगलिग विकास अभियानले कार्यक्रम गर्छ वा गर्दैन, कति धावक सहभागी हुन्छन्, प्रशासनले हेर्छ कि हेर्दैन? हामी प्रशासनलाई प्रश्न गर्नेवाला छौं,’ मेयरले भने।
उनले धावकहरूलाई यातायात र खानाको व्यवस्था नगरपालिकाले गरेको पनि उल्लेख गरेका छन्। ‘पालुङटार नगरभित्रका धावकहरूलाई यातायात खर्च प्रतिव्यक्ति एक हजार र बाहिरका धावकलाई दूरी हेरेर यातायात खर्च उपलब्ध गराएका छौं,’ उनले भने, ‘पोखरा, मुग्लिन र चितवनसम्म गाडीको व्यवस्थापन पनि छ।’
लिगलिग विकास अभियानले भने नगरपालिकाले स्थानीयको आवाज दबाउन खोजेको आरोप लगाएको छ।
‘लिगलिगकोटका हाम्रा स्थानीय आवाजलाई पालिकाले अधिकारका नाममा दबाउन खोज्दैछ। बाहिर पालिका सहमति गर्ने भन्ने शब्द खुब फलाक्ने तर व्यवहारमा एकपक्षीय पेलेर जान खोज्ने, यो कुनै नयाँ विवाद होइन। ११ पटक लिगलिगकोट विकास अभियानले सफलतापूर्वक दौड आयोजना गरेको थियो। नगरपालिकाले पहिलो पटक जबरजस्ती सहमतिबिना दौडको स्वामित्व लिन खोजेपछिको विवाद मात्र हो,’ लिगलिग विकास अभियानले फेसबुकमार्फत् धारणा राखेको छ।
लिगलिगमा पूर्वाधार निर्माणमा नगरपालिकाले बजेटसमेत पर्याप्त नदिएको आरोप छ।
‘११ पटक लिगलिगकोट विकास अभियानले दौड गरेको थियो। के कारण वा कानुनले अहिले लिगलिग विकास अभियानले दौड गर्न नमिल्ने हो भनेर तथ्यगत कारण दिन सकेको भए हुन्थ्यो,’ नगरपालिकालाई अभियानले सोधेको छ।
लिगलिगकोटमा हालै पुनर्निर्माण गरिएको कालिका मन्दिर, ५ वटा गढी र दरबारका भग्नावशेष छन्।
लिगलिग विकास अभियानका अध्यक्षसमेत भइसकेका स्थानीय सञ्जीव राना मगरले लेखेको लेखअनुसार लिगलिगे दौड दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने इतिहास हो।
पछि लिगलिगकोटको पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलकुदका रूपमा संचालित एक प्रतियोगिता हो भने राज्य सञ्चालन प्रक्रियामा समान सहभागी हुन पाउने हक अधिकार प्रदान गरेको र त्यस प्रक्रियाको परिणामलाई स्वीकार गर्ने एउटा अद्वितीय लोकतान्त्रिक पद्धति पनि हो।
लिगलिग दौड इतिहास हेर्दा पटक पटक दलसुर घले मगरले जितेको देखिन्छ। तर १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले दलसुर घलेमगरलाई हराएर लिगलिग राज्य आफ्नो हातमा लिएका थिए। द्रव्य शाहको उदयपश्चात् लिगलिगे दौडको परम्परा अन्त्य हुन गएको थियो भने पछि यसैको सम्झनामा पुन: दौड गराउन सुरू गरिएको थियो।
यस्तो इतिकास बोकेको लिगलिगकोटमा यसपालि पनि दसैंका बेला दौड हुन सकेन। कतिपयले राजनीतिक खिचातानीका कारणले लिगलिग दौड हुन नसकेको आकलन गरेका छन्।