नेपाली कांग्रेसले महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको दुबो पुनः रोप्ने, स्याहार गर्ने र हुर्काउने भएको छ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माका अनुसार खुलामञ्चमा क्षति पुगेका केही स्थानमा नयाँ दुबो रोप्ने तथा त्यसको संरक्षण र हुर्काउने व्यवस्था मिलाउन लागिएको हो।
यसका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्टसबीच सम्झौता भएको छ।
सम्झौतामा कांग्रेसका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र इभेन्टसका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुबो रोप्ने, स्याहार गर्ने र हुर्काउने काम डेढ महिनाभित्र सम्पन्न गरिनेछ। यसका लागि लाग्ने खर्च नेपाली कांग्रेसले नै व्यहोर्नेछ।
सम्झौता कार्यक्रममा वरिष्ठ उपसभापति शर्मा, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा अन्य प्रतिनिधिहरूको उपस्थिति थियो।