प्रहरी दिवस तथा दसैंको अवसर पारेर दार्चुलास्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ।
समाजसेवी तथा जेनजी अभियानी मदन बुढाले जिल्ला कारागार दार्चुलामा पुस्तकालय स्थापना गरिएका हुन्।
उनले शुक्रबार कारागारामा पुस्तकालय खोलिदिएका हुन्।
पुस्तकालय स्थापनाका लागि उनले काठमाडौंबाटै ४०० थान विभिन्न विधाका पुस्तकहरू दार्चुला पुर्याएका थिए।
कारागारमा रहेका बन्दी तथा कैदीबन्दीहरूको अध्ययन रूचि बढाउन र समयको सदुपयोगसँगै सकारात्मक सोचको विकास गराउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको मदनले जानकारी दिए।
'कारागारमा बसिरहेकाहरूको अध्ययन गर्ने बानीसँग सकारात्मक सोचको विकास गर्न पुस्तकालय खोलिएको हो,' उनले भने, 'कारागारमा केही सीपहरू त सिकाइन्छ। साथसाथै पढ्ने बानीको पनि विकास होस् भन्ने मेरो उद्देश्य हो।'
उनका अनुसार जिल्ला र कारागार प्रमुखको समन्वयमा पुस्तकालय खोल्न सफल भएको हो।
यसअघि पनि मदनले काठमाडौंबाट ७०० भन्दा बढी पुस्तकहरू संकलन गरी अछामका दुई स्थानमा पुस्तकालय स्थापना गराएका छन्।
अछामको साँफेबगर नगरपालिकास्थित बयलपाटा अस्पताल (गत मे १८, २०२६ मा) र जिल्ला कारागार अछाममा उनले पुस्तकालय स्थापना गरिसकेका हुन्।
आगामी दिनमा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला कारागारहरूमा पुस्तकालय विस्तार गर्ने योजना रहेको मदन बताउँछन्।
कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न र बन्दीहरूको मानसिक तथा बौद्धिक विकासका लागि पुस्तक अभियानलाई सुदूरपश्चिमभर लैजाने उनको लक्ष्य हो।