काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरू गरेको छ।
शुक्रबार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिएकी हुन्।
उनका अनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ।
उनले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरू गरिएको बताइन्।
कार्यबाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन्।
ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा सुरू गरिएको बताइन्।
उनले चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताइन्।
उनका अनुसार बाइक एम्बुलेन्सलाई आपतकालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ।
उनले भनिन्, ‘आजदेखि हामीले बाइक एम्बुलेन्स सर्भिस सुरू गर्दैछौँ। जब बिरामी तथा सेवाग्राहीले १०२ नम्बरमा फोन गर्नुहुन्छ त्यसपछि आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाउँछौं। काठमाडौंमा एम्बुलेन्सको संख्या नम्बरमा कम भएको होइन। तथ्यांक हेर्ने हो भने हामीसँग पर्याप्त मात्रामा एम्बुलेन्स रहेका छन्। तर समस्या के हो भने हामीले समयमा सेवा उपलब्ध गराउन सकिरहेका छैनौँ। हामीसँग संख्या कम भएको नभई समयमा पुग्न नसकेको कुरा धेरै रिसर्चहरू पनि देखाएको छ। र हाम्रो अन द फिल्ड एक्सपेरियन्स पनि त्यही नै हो।’
उनले अगाडि भनिन्, ‘धेरै जाम भइरहेको हुनाले समयमै चारपांग्रे गाडी पुग्न सकिरहेको हुँदैन। ट्राफिक जामको कारणले समयमा नै एम्बुलेसन्स पुग्न नसक्ने धेरै केसहरू रहेका छन्। त्यतिमात्रै नभएर काठमाडौंको भूगोल पनि फरक रहेको छ। अनि गल्ली गल्लीमा एम्बुलेन्स पुग्न नसक्ने अवस्था रहेको छ। त्यसकारण जुन जुन चोक तथा गल्लीहरूमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न सक्दैन। त्यहाँ फस्ट रेस्पोन्सको लागि बाइक एम्बुलेन्स पठाउनेछौँ।’
महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल